काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत बीपी कोइराला प्राविधिक शिक्षालयका प्राचार्य तथा सहायक निर्देशक गोविन्द पौडेलमाथि कालोमोसो दलेको घटना सार्वजनिक भएको छ।
पौडेलमाथि नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनका कार्यकर्ताहरूले आइतबार काठमाडौँमा कालोमोसो दलेका हुन्। सो कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले संगठनका सचिवालय सदस्य तथा मधेश प्रदेश संयोजक आयुश घिमिरे र केन्द्रीय सदस्य तथा सिरहा जिल्ला अध्यक्ष रामदेव महरालाई नियन्त्रणमा लिएको छ।
विद्यार्थी संगठनले पौडेलमाथि गम्भीर आरोपहरू लगाउँदै उनलाई संस्थागत भ्रष्टाचारको मुख्य पात्रका रूपमा चिनाउँदै आएको छ। उनीमाथि फेल भएका विद्यार्थीहरूलाई गैरकानुनी रूपमा पास गराई नक्कली प्रमाणपत्र निर्माण गरी आर्थिक लाभका लागि बिक्री गर्ने कार्यमा संलग्न रहेको आरोप लगाइएको छ।
यस्तै, परीक्षा मूल्यांकनदेखि प्रमाणपत्र वितरणसम्मको सम्पूर्ण प्रक्रियामा व्यापक घूस र कमिसनको चलखेल भएको, कानुनी प्रक्रिया बेवास्ता गर्दै आर्थिक लेनदेनका आधारमा कर्मचारी नियुक्ति गरिने, र शैक्षिक माफियासँगको साँठगाँठमार्फत संस्थालाई निजी स्वार्थपूर्तिको माध्यम बनाइएको भन्दै संगठनले विरोध जनाउँदै आएको छ।
अखिल (क्रान्तिकारी) बहुमतले घटनालाई ‘शैक्षिक क्षेत्रमा बढ्दो भ्रष्टाचारविरुद्धको चेतावनीमूलक कदम’ भनेको छ।
यसैबीच, सीटीईभीटीका उच्च अधिकारीहरूले घटनाको पुष्टि गर्दै यसबारे आवश्यक अनुसन्धान थालिएको जनाएका छन्। प्रहरीले पक्राउ परेका दुई नेतालाई आवश्यक अनुसन्धानपछि कानुनी कारबाही अघि बढाउने जनाएको छ।
















