वीरगंज, ४ जेठ/पर्साको छपकैया क्षेत्रमा सशस्त्र प्रहरीले छापा मारेर भन्सार छली गरी भारतबाट चोरी पैठारी गरिएको ठूलो परिमाणको तयारी कपडा बरामद गरेको छ। बरामद गरिएका कपडाको भन्सार मूल्याङ्कन करीब ६ लाख ९८ हजार ८ सय रुपैयाँ बराबर रहेको छ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा., प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज र वीरगंज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले वीरगंज महानगरपालिका–१, छपकैया गाउँस्थित तीनवटा घरमा एकैसाथ कर्डन तथा छापामारी गरेको हो।
छापा मारिएको स्थानमा भारतबाट अवैध रूपमा भन्सार छलि चोरी पैठारी गरी लुकाएर राखिएको तयारी कपडा गोदाममा भण्डारण गरिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी देबेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो।
बरामद गरिएको कपडालाई आवश्यक कानुनी कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ। सशस्त्र प्रहरीले सीमा क्षेत्रमा भइरहेको गैरकानुनी कारोबार र तस्करी नियन्त्रण गर्न गस्ती तथा निगरानी अझ सशक्त बनाइएको बताएको छ।

















