२०८२ असार ७ गते, शनिबार ०६:५६

विभिन्न जिल्लामा जुवा खालमा प्रहरीको छापा, ३२ जना पक्राउ

काठमाडौं – देशका विभिन्न जिल्लामा प्रहरीले जुवातासमा संलग्न ३२ जनालाई नगदसहित पक्राउ गरेको छ। पछिल्ला दिनहरूमा जुवा तथा तास खेलमा संलग्न व्यक्तिहरूमाथि निगरानी बढाउँदै आएको प्रहरीले शुक्रबार र शनिबारका दिन काठमाडौं, कञ्चनपुर र तनहुँमा छुट्टाछुट्टै स्थानमा छापा मारेको हो।

काठमाडौं महानगरपालिका–८ स्थित जयबागेश्वरीमा एक निजी घरमा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले ६६ वर्षीय भीम संगतसहित ७ जनालाई पक्राउ गरेको छ। उनीहरूबाट नगद १ लाख ७ हजार ९१५ रुपैयाँ र चार बुक तास बरामद गरिएको छ।

त्यसैगरी, काठमाडौं महानगरपालिका–२९ अनामनगर क्षेत्रबाट भक्तपुरको मध्यपुर थिमी निवासी तथा दोलखा भीमेश्वर नगरपालिका–७ का स्थायी बासिन्दा ४० वर्षीय रामजी बस्नेतसहित १० जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी वृत्त सिंहदरबारको टोलीले छापा मारेर उनीहरूबाट नगद २ लाख ५७ हजार ४ सय रुपैयाँ र ९ बुक तास बरामद गरेको हो।

प्रदेश ७ स्थित कञ्चनपुरको भीमदत्त नगरपालिका–४ मा सञ्चालित पर्वत होटलमा जुवातास भइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले शनिबार राति छापा मारेर होटल सञ्चालक केशव राज जोशीसहित ७ जनालाई पक्राउ गरेको छ। उनीहरूबाट २३ हजार ८ सय ३५ रुपैयाँ बरामद गरिएको छ।

यसैगरी, गण्डकी प्रदेशको तनहुँ जिल्लामा पनि प्रहरीले जुवा खालमा छापा मारेको छ। व्यास नगरपालिका–११ रानीगाउँस्थित ‘साथीभाइ कटेज’मा जुवातास खेलिरहेका बेला सञ्चालक विष्णु पौडेलसहित ८ जनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार घटनास्थलबाट ४९ हजार २० रुपैयाँ नगद र चार बुक तास बरामद गरिएको छ।

प्रहरीले सबै घटनामा पक्राउ परेकाहरूविरुद्ध आवश्यक अनुसन्धान अघि बढाइएको जनाएको छ। जुवा तथा तासजस्ता सामाजिक विकृतिविरुद्ध कडाइका साथ कारबाही अघि बढाइने प्रहरीले स्पष्ट पारेको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM