२०८३ बैशाख २६ गते, शनिबार १२:१५

विद्युत आपूर्तिमा देखिएको अवरोध लोडसेडिङ होइन : प्राधिकरण

काठमाडौं, २ जेष्ठ/

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले हालै देखिएको विद्युत आपूर्तिको समस्यालाई लोडसेडिङसँग जोडेर सामाजिक सञ्जालमा फैलिएका प्रतिक्रिया भ्रामक रहेको बताएका छन्। शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले प्राविधिक गडबडीका कारण केही समयको लागि विद्युत अवरुद्ध भएको स्पष्ट पार्दै, यो अवस्थालाई लोडसेडिङ भन्न मिल्दैन भने।

शाक्यका अनुसार मौसमजन्य असरले विद्युत प्रसारण संरचनामा क्षति पुगेपछि आपूर्ति प्रभावित भएको हो। विशेषगरी ढल्केवर–मुजफ्फरपुर ४०० केभी डबल सर्किट लाइनमा दुवै सर्किट एकैपटक बन्द हुँदा भारतबाट आयात हुने विद्युत अचानक अवरुद्ध भयो। “ढल्केवर क्षेत्र आसपास तीव्र गतिमा चलेको आँधीहुरीका कारण दुबै सर्किटमा समस्या आयो,” उनले भने, “समस्या एकैचोटि समाधान नहुँदा आन्तरिक प्रणालीबाट मात्र आपूर्ति सन्तुलन मिलाउन चुनौतीपूर्ण भयो।”

शाक्यले वेलुकाको समयमा विद्युत माग उच्च हुने भएकाले प्रणालीमा थप दबाब परेको जनाए। मागअनुसार आपूर्ति गर्न नसकिएपछि प्रणाली अस्थिर बन्दै ट्रिपिङ भएको बताउँदै उनले रक्सौल–परवानीपुर, मैनैया–सम्पतिया, कुशहवा–कटैया जस्ता १३२ केभी लाइनमार्फत वैकल्पिक आपूर्तिको प्रयास गरिएको तर पर्याप्त उत्पादन नहुँदा समस्या समाधान गर्न समय लागेको जानकारी दिए।

“सामाजिक सञ्जालमा देखिएको ‘इन्भर्टर र मैनबत्तीको दिन फेरि आए’ भन्ने अभिव्यक्तिमा कुनै सत्यता छैन,” शाक्यले भने, “देश फेरि लोडसेडिङको युगमा फर्किँदैन। यो अस्थायी प्रविधिगत समस्या हो, जसको दीर्घकालीन समाधानका लागि प्राधिकरण सक्रिय रूपमा कार्यरत छ।”

उनले निकट भविष्यमा यस्ता समस्या नदोहोरियोस् भनेर प्राधिकरणले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरू तयारी अवस्थामा राखेको पनि स्पष्ट पारे।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM