काठमाडौं, २४बैशाख/
प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत नेपाल सरकारको नीति तथा कार्यक्रमलाई व्यवहारिक, जनउत्तरदायी र राष्ट्रहितमै आधारित भएको भन्दै समर्थन जनाएका छन्।
संसदमा बोल्दै सांसद ढकालले गत मंसिर १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सातबुँदे राजनीतिक सहमतिको फ्रेमवर्कअनुसार नीति तथा कार्यक्रम प्रस्तुत भएको स्पष्ट पारे। “यो नीतिगत स्थायित्व, सुशासन, आर्थिक अनुशासन, रोजगारी सिर्जना, मानव अधिकार र संक्रमणकालीन न्यायको तार्किक निष्कर्षप्रति प्रतिवद्धता हो,” उनले भने।
सांसद ढकालले सरकारको नीति प्रतिगमनविरुद्ध कठोर र विकासको ढाँचा तथा संस्कृतिमा परिवर्तन ल्याउने दृढ संकल्पका साथ आएको बताउँदै संविधान संशोधनबारे आपसी सहकार्यलाई प्राथमिकतामा राख्नु सकारात्मक भएको उल्लेख गरे।
पर्यटन क्षेत्रका सम्बन्धमा उनले सरकारले ‘नेपाललाई सुरक्षित तथा आकर्षक पर्यटन गन्तव्य’ बनाउने योजना स्वागतयोग्य भएको बताए। “हवाई टिकटमा लगाइने भ्याट हटाइनुपर्छ र आन्तरिक उडानमा विदेशी पर्यटकलाई लिइँदै आएको चर्को भाडा नेपाली सरह बनाइनुपर्छ,” उनले भने।
परराष्ट्र नीति सन्दर्भमा ढकालले सरकारको ‘सबैसँग मित्रता, कसैसँग शत्रुता होइन’ भन्ने दृष्टिकोणलाई उचित बताउँदै ‘सफ्ट पावर’ र ‘ट्रयाक टू डिप्लोमेसी’ मार्फत नेपालको अन्तर्राष्ट्रिय गरिमा उच्च बनाउने सुझाव दिए।
उनले नीति तथा कार्यक्रममा उल्लेखित ‘फेसलेस सेवा’, कर प्रणालीमा सुधार, युवा स्टार्टअप, इन्टर्न ज्याला प्रणालीजस्ता विषयले यो कार्यक्रमलाई विशेष बनाएको बताए। मानवीय मूल्यको जगेर्ना, नैतिक शिक्षा, पारिवारिक मूल्य संरक्षण, जनसंख्या नीति, कृषि र जलवायु परिवर्तनमाथिको प्राथमिकताका कारण सरकारले दीर्घकालीन सोच प्रस्तुत गरेको उनले बताए।
ढकालले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न व्यवहारिक प्राथमिकता सहित आएको नीति तथा कार्यक्रमलाई संसदबाट समर्थन गर्न सबै माननीयहरुलाई अनुरोध गर्दै आफ्नो मन्तव्य टुंग्याएका थिए।