वीरगंज, २३ बैशाख।
वीरगंजस्थित भन्सार प्रशासनको चरम लापरवाही र सम्भावित मिलेमतोका कारण ठूलो परिमाणमा अवैध सामान जाँचपास भएर निस्किएको छ। १ करोड १५ लाख रुपैयाँ बराबरको लता कपडा लुकाएर ल्याइएको भारतीय ट्रक भन्सारको आँखै अगाडि जाँचपास भई छुटेको थियो।
तर, वीरगंज महानगरपालिका–१७ स्थित सडकमा सशस्त्र प्रहरी बलको टोलीले समयमै कारवाही नगरेको भए त्यो गाडी सजिलै देशभित्र गन्तव्यसम्म पुगिसकेको हुन्थ्यो। सशस्त्र प्रहरी बल, प्रस्तावित सीमा सुरक्षा गुल्म अलौका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण सिंह पुजाराको नेतृत्वमा खटिएको टोलीले विशेष सुराकीका आधारमा आईसीपी चौकबाट डब्लु बी ११ ई ६६६२ नम्बरको भारतीय ट्रकलाई नियन्त्रणमा लिएको हो।
भन्सारमा प्रज्ञापन पत्र (बिल–बिजक) अनुसार सामान रहेको देखाएर छुटाइएको उक्त गाडीमा वास्तविकतामा बढी मात्रामा कपडा लुकाएर राखिएको पाइएको छ। यतिसम्मको सामान छुटाउनु भनेको भन्सार कर्मचारीको असक्षमता मात्र नभई, संगठित तवरले चलिरहेको भ्रष्टाचारको नंगो उदाहरण हो।
भन्सार प्रशासनको यस्तो क्रियाकलापले देशको राजस्व प्रणालीप्रति गम्भीर प्रश्न उठाएको छ। यदि सशस्त्र प्रहरी बल सतर्क नहुने हो भने राज्यले करोडौँ राजस्व गुमाउने अवस्थामा पुग्ने तथ्य यो घटनाले पुनः पुष्टि गरेको छ।
अब भन्सारका जिम्मेवार अधिकारीलाई कारवाहीको दायरामा ल्याउन सम्बन्धित निकाय चुप लागेर बस्न मिल्दैन।
















