काठमाडौं, १५ वैशाख/
प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा “नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१” माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद एकनाथ ढकालले विधेयकलाई स्वागतयोग्य भन्दै आफ्नो समर्थन व्यक्त गरेका छन्।
सभामुखको अनुमति पछि धारणा राख्दै सांसद ढकालले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक दुवै भूमिका निर्वाह गर्नुले विगतमा समस्या उत्पन्न गरेको उल्लेख गरे। उनले नियमनकारी र सेवा प्रदायक निकाय छुट्याउनुपर्ने माग प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिदेखि लिएर विभिन्न बैठकहरूमार्फत पटक–पटक उठ्दै आएको प्रसंग स्मरण गराए।
“सन् २०१३, २०१७ र २०२२ मा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले गरेको अडिटमा पनि प्राधिकरणको दोहोरो भूमिकाबारे गम्भीर कैफियत आएको थियो,” सांसद ढकालले भने, “यस विधेयकले ती सिफारिसहरूलाई सम्बोधन गर्दै सेवा प्रदायक र नियामक कार्य स्पष्ट रूपमा अलग गरेको छ।”
सांसद ढकालका अनुसार प्रस्तावित विधेयकले प्राधिकरणलाई हवाई सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, मापदण्ड र निर्देशनहरू कार्यान्वयन गर्ने जिम्मेवारी दिएको छ। साथै, विदेशी वायुसेवाको उडान सुरक्षा सुपरीवेक्षण, उडान सुरक्षामा प्रभाव पार्ने अवस्थाको छानबिन, तथा अन्तर्राष्ट्रिय संस्थासँग समन्वय गर्ने अधिकार पनि स्पष्ट गरिएको छ।
उनले विधेयकमा वायुसेवा सञ्चालन, ग्लाइडर, अल्ट्रालाइट, माइक्रोलाइट, बेलुन, प्याराग्लाइडिङ, स्काइडाइभ जस्ता मनोरञ्जनात्मक हवाई गतिविधिहरूको अनुमति दिने अधिकारसमेत प्राधिकरणलाई प्रदान गरिएको जानकारी दिए।
प्राधिकरणको संरचनाबारे चर्चा गर्दै ढकालले संचालक समितिको अध्यक्ष पर्यटन मन्त्री हुने र कार्यकारी प्रमुख महानिर्देशक रहने प्रावधान यथावत् भए पनि, सहसचिवस्तरका अधिकृतलाई पनि महानिर्देशकमा नियुक्त गर्ने तथा बाह्य स्रोतबाट समेत योग्य व्यक्तित्व ल्याउने व्यवस्था स्वागतयोग्य रहेको बताए।
“नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास र विस्तार गरी, प्रभावकारी नियमनमार्फत नागरिक उड्डयन सेवालाई सुरक्षित, नियमित, स्तरीय र भरपर्दो बनाउने उद्देश्यले विधेयक ल्याइएको हो,” सांसद ढकालले भने, “बलियो नियामक निकायको अभावले बारम्बार उठेको हवाई दुर्घटनाको चासोलाई अब सम्बोधन गर्न सकिने अपेक्षा गर्न सकिन्छ।”
अन्त्यमा सांसद ढकालले विधेयकलाई थप परिस्कृत र परिमार्जन गर्दै यथाशीघ्र पारित गर्नुपर्ने आवश्यकता औंल्याउँदै आफ्नो समर्थन जनाए।
















