काठमाडौं, वैशाख १३ ।
“मानवताको रक्षा गरौं” भन्ने मूल नाराका साथ संचालित गोरखा जनकल्याण संघले नयाँ वर्ष २०८२ को अवसरमा विशेष रक्तदान कार्यक्रम आयोजना गरेको छ। सामाखुशीस्थित सिटी स्क्वायरमा सम्पन्न उक्त कार्यक्रममा समाजसेवी, रक्तदाता तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिका वडा नं. १० का अध्यक्ष मचाकाजी महर्जन रहेका थिए। कार्यक्रममा १०० औँ पटकभन्दा बढी रक्तदान गरेका चारजना विशिष्ट रक्तदाताहरूलाई दोसल्ला, माला र प्रमाणपत्रद्वारा सम्मान गरियो।

सम्मानित व्यक्तिहरूमा श्री बिरेन्द्र कुमार जोशी (१४७ औँ पटक रक्तदान), श्रीमती रामदेवी श्रेष्ठ (११२ औँ पटक), श्री बिरेन्द्रमान श्रेष्ठ (११० औँ पटक) र श्री राजेन्द्र कुमार श्रेष्ठ (१०७ औँ पटक) रहेका छन्। मानवताको संरक्षणमा निरन्तर योगदान पुर्याउँदै आउनु भएकाले उहाँहरूलाई विशेष सम्मान गरिएको आयोजकले जनाएको छ।
“रक्तदान जीवनदान हो” भन्ने सन्देशलाई बलियो बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा जम्मा २९ प्वाइन्ट रगत संकलन गरिएको कार्यक्रम संयोजक तथा गोरखा जनकल्याण संघका उपाध्यक्ष राजु भण्डारीले जानकारी दिनुभयो। उहाँले अहिलेको पुस्ताले सामाजिक उत्तरदायित्व बोक्दै रक्तदान जस्ता पुनीत कार्यमा सक्रिय हुनुपर्नेमा जोड दिनुभयो। साथै, यस्ता कार्यक्रमहरूलाई स्थानीय निकायहरूले आफ्ना प्राथमिक कार्यसूचीमा राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
कार्यक्रममा सामाजिक सेवा क्षेत्रमा सक्रिय व्यक्तिहरूको उत्साहजनक सहभागिता रहनुका साथै, रक्तदानमार्फत मानवताको रक्षा गर्न आगामी दिनमा अझ बढी नागरिकहरू अग्रसर हुने विश्वास व्यक्त गरिएको छ।

















