Monday, March 31, 2025
घरसमाचारशिवशंकर हत्या प्रकरण : श्रीमतीकै भूमिका शंकास्पद

शिवशंकर हत्या प्रकरण : श्रीमतीकै भूमिका शंकास्पद

१३ चैत, काठमाडौं । धनुषाका शिवशंकर महतो हत्या प्रकरणमा प्रहरीले उनकै श्रीमतीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनकी श्रीमती सिर्जना विगत तीन दिनदेखि प्रहरी हिरासतमा छिन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा डीएसपी सन्तुलाल जयसवारका अनुसार उनीविरुद्ध कर्तव्य ज्यानको कसुरमा महोत्तरी जिल्ला अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान अघि बढेको छ । पक्राउ परेकी श्रीमतीको बयानसमेत शंकास्पद देखिएको प्रहरीको भनाइ छ ।

‘उनको बयान निकै शंकास्पद छन् । आफैंले भनेका कुराहरू मिलेका छैनन् । उनले इन्कार गरे पनि अहिलेसम्मको सबुद प्रमाणले श्रीमती सिर्जनाकै योजनामा श्रीमान् शिवशंकरको हत्या भएको देखिन्छ,’ महोत्तरी प्रहरीका एक अनुसन्धान अधिकृतले भने ।

शिवशंकरको हत्या भएलगत्तै अनुसन्धानमा खटिएको प्रहरी टोलीले सिर्जनालाई पक्राउ गरेको थियो । शिवशंकरको परिवारको भनाइअनुसार श्रीमतीको शंकास्पद भूमिका देखिएको भन्दै उनलाई प्रहरीले माइतीघरबाट पक्राउ गरेको थियो ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–८ दिगम्बरपुर बस्ने २५ वर्षीय शिवशंकरको हत्या भएपछि प्रहरीले श्रीमतीलाई समेत आशंका गर्दै अनुसन्धान अघि बढाएको थियो । श्रीमतीकै भूमिका शंकास्पद देखिएपछि प्रहरीले म्याद लिएर उनीमाथि अनुसन्धान गरिहेको छ ।

शुक्रबार साँझ ५:३० बजेतिर शिवशंकरको शव महोत्तरीको गौशाला नगरपालिका–८ सागरनाथ वनको रेल्वे ट्र्याकबाट करिब १ सय मिटर दक्षिणतर्फ फेला परेको थियो ।

प्रहरीका अनुसार शवको प्रकृति हेर्दा गर्धनमा धारिलो हतियार प्रहार गरिएको हो । हत्यापछि घिसारेर केही पर लैजान खोजेको जस्तो देखिएको थियो । शवको आइतबार सनाखत गरेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको थियो ।

प्रहरीका अनुसार शिवशंकर बिहीबार दिउँसो श्रीमती सिर्जनासँगै १० महिने छोरासहित ससुराली घर बर्दिबास नगरपालिका–५ पशुपतिनगर बन्द्र जान भनी निस्केका थिए । ससुराली जान भनेर निस्केका शिवशंकर भोलिपल्ट मृत भेटिएका थिए ।

पूर्वयोजनाअनुसार उनको हत्या भएको पाइएको डीएसपी जयसवारको भनाइ छ । ‘पूर्वयोजनाअनुसार नै हत्या भएको देखिएको छ । हत्या लगत्तै उनीहरू फरार भएको देखिन्छ,’ उनले भने ।

हत्यामा चार जनाको प्रयोग

शिवशंकरको हत्यापछि उनका परिवारले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दिएका छन् । जाहेरीमा उनीहरूले कसैको पनि नाम उल्लेख नगरेको डीएसपी जयसवारले बताए ।

परिवारले व्यक्ति तोकेर किटानी जाहेरी नदिए पनि प्रहरी अनुसन्धानका क्रममा अहिलेसम्म शिवशंकरको हत्यामा चार जनाको प्रयोग भएको पाइएको छ । डीएसपी जयसवारले पनि अहिलेसम्म चार जनाको प्रयोगमा हत्या भएको पाइएको बताए ।

तीमध्ये उनकी श्रीमती पक्राउ परेकी छिन् । बाँकी तीन जना फरार छन् । फरार हुनेहरूको पहिचान भएको बताए पनि प्रहरीले केही खुलाएको छैन ।

हत्या गरिएका शिवशंकर करिब डेढ महिनाअघि मात्रै मुम्बईबाट धनुषा आएका थिए । घर आएदेखि नै शिवशंकर र उनकी श्रीमतीबीच विवाद हुन थालेको थियो ।

प्रहरी उच्च स्रोतका अनुसार फरार हुनेहरू पनि शिवशंकरकै श्रीमती सिर्जनाको आफन्त रहेको प्रहरीको भनाइ छ । आफन्तकै प्रयोग गरेर श्रीमतीको योजनामा हत्या भएको देखिएको एक अनुसन्धान अधिकृतले बताए ।

‘हत्या आरोपित पहिचान भइसकेका छन् । श्रीमतीकै आफन्त नाता पर्नेबाट हत्या भएको देखिन्छ,’ एक अनुसन्धान अधिकृतले अनलाइनखबरसँग भने, ‘हत्यामा जम्मा चार जनाको संलग्नता देखिन्छ ।’

श्रीमतीकै योजनामा हत्या हुनुको कारणबारे प्रहरीले केही पनि बताएको छैन । यद्यपि, शिवशंकरको परिवारले भने उनीहरूबीच पटकपटक विवाद हुँदै आएको र त्यही रिसइबीमा हत्या गरेको हुनसक्ने मृतकका भाइ रामको भनाइ छ ।

ससुरा बिते भन्दै लगिएको थियो ससुराली

हत्या गरिएका शिवशंकर करिब डेढ महिनाअघि मात्रै मुम्बईबाट धनुषा आएका थिए । धनुषा घर आएदेखि नै शिवशंकर र उनकी श्रीमतीबीच विवाद हुन थालेको थियो ।

घरायसी विषय र मदिरा सेवनका कारण उनीहरूबीच पटकपटक विवाद हुने गरेको देखिएको प्रहरीको भनाइ छ । यही रिसइबी र कुनै विवाहेत्तर प्रेम सम्बन्धका कारण हत्या भएको हुनसक्ने आकलन गर्दै प्रहरीले अनुसन्धान गरिरहेको छ ।

अहिले यही दुई कोणबाट अनुसन्धान भइरहेको मधेश प्रदेश प्रहरीका प्रवक्ता एसएसपी शान्तिराज कोइरालाको भनाइ छ ।

मृतकका भाइ राम महतोका अनुसार दाइ शिवशंकर, भाउजु र १० महिने छोरा ससुराली जान भनेर निस्केका थिए । महेन्द्रनगरबाट सिर्जनाले माइतबाट दुईवटा मोटरसाइकल बोलाएर एउटामा १० महिने छोरासहित सिर्जना र अर्कोमा शिवशंकर चढेको भाइ रामको भनाइ छ ।

शिवशंकरको परिवारका अनुसार केही दिनअघि ससुरालीमा विवाद हुँदा शिवशंकरमाथि कुटपिट भएको थियो । विवादपछि श्रीमती र बच्चासहित घर फर्किंदा शिवशंकर पुनः ससुराली जान मानेका थिएनन् । उनलाई सिर्जनाले नाना (हजुरबुबा) को मृत्यु भयो भनेर ससुराली जान बाध्य बनाएको भाइ रामको भनाइ छ । ससुराली जान भनेर निस्केका शिवशंकरको शव वीभत्स अवस्थामा भेटिएको थियो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -