२०८३ बैशाख ४ गते, शुक्रबार १९:५२

पर्यटनमन्त्रीलाई कारबाही माग गर्दै सांसद बजगाईंले दिए पार्टीमा उजुरी

१ चैत, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बन्द्री पाण्डेलाई कारबाहीको माग गर्दै नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले पार्टीमा उजुरी दिएका छन् ।

पार्टीका सहमहामन्त्री समेत रहेका पर्यटनमन्त्री पाण्डेले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै सांसद बजगाईंले केन्द्रीय अनुशासन समितिमा उजुरी दिएका हुन् ।

मन्त्री पाण्डेले दिएको अभिव्यक्ति पार्टी सिद्धान्तविपरीत मात्र नभई नेपालको संविधान र राष्ट्रिय हितविपरीत समेत रहेको बजगाईंले आफ्नो उजुरीमा लेखेका छन् ।
एकदलीय चिनियाँ शासन प्रणालीका राष्ट्रपति सी जिनपिङ को नैतिकतालाई नेपालको बहुदलीय लोकतान्त्रिक प्रणालीका नेताहरू र जनतासमक्ष लैजानुपर्ने धारणा व्यक्त गरेको भन्दै बजगाईंले आपत्ति जनाएका हुन् ।

‘नेपाली कांग्रेसको विधानले समाजवादउन्मुख बहुदलीय लोकतन्त्रलाई आत्मसात् गर्छ भने एकदलीय शासन व्यवस्थाको समर्थन कुनै हालतमा हुन सक्दैन,’ बजगाईंले आफ्नो उजुरीमा लेखेका छन्, ‘पार्टीका एक वरिष्ठ नेता एवं मन्त्रीबाट साम्यवादी एकदलीय प्रणालीको गुणगान गाउनु पार्टी विधानको गम्भीर उल्लङ्घन हो ।’

साथै, मन्त्री पाण्डेको अभिव्यक्ति प्रजातन्त्रप्रति अपमानजनक मात्र नभई नेपालको लोकतान्त्रिक प्रणालीलाई चीनको एकदलीय शासन मोडलतर्फ धकेल्ने दुस्प्रयास गरेको बजगाईंले बताएका छन् । ‘यो अभिव्यक्ति पार्टीकै सहमहामन्त्रीबाट आएको हुनाले यसले पार्टीको नीति र विचारधारामा गम्भीर असर पार्ने सम्भावना छ,’ उनले आफ्नो उजुरीमा लेखेका छन् ।

 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM