काठमाडौं/काठमाडौंमा रहेका दोलखालीहरूको सामाजिक संस्था दोलखा विकास मञ्चले नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमसँगै वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
संस्थापक अध्यक्ष तथा वरिष्ठ जलविज्ञ इञ्जिनियर आत्माकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता निर्वतमान अध्यक्ष डा. महेन्द्रबहादुर कार्कीले गरेका थिए।
विशेष अतिथि पूर्व मन्त्री दीपेन्द्र श्रेष्ठले दोलखा आफ्नो जन्मथलो भएकोमा गर्व व्यक्त गर्दै जिल्लामा पर्यटन र पूर्वाधार विकासको ठूलो सम्भावना रहेको उल्लेख गरे। उनले यस क्षेत्रमा विकासका लागि मञ्चसँग सहकार्य गर्न तयार रहेको बताए।
त्यस्तै, सांसद इञ्जिनियर जगदीश खरेलले मञ्चले स्थानीय विकासमा देखाएको सक्रियताको प्रशंसा गर्दै दम्भरहित र समन्वयात्मक प्रयास आवश्यक रहेको बताए।
कार्यक्रममा पूर्व मन्त्री आनन्द पोखरेलले पनि दोलखाको विकासमा आफू सधैं प्रतिबद्ध रहने धारणा राखे। प्रमुख अतिथि आत्माकृष्ण श्रेष्ठले दोलखामा इञ्जिनियरिङ कलेज स्थापना आवश्यक भए पनि स्थानीय तहको उदासीनताका कारण काम अघि बढ्न नसकेकोमा चिन्ता व्यक्त गरे।
समारोहमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। मञ्चले नयाँ १९ सदस्यीय कार्यसमिति गठन गरे पनि पदाधिकारी चयन भने बाँकी रहेको जनाएको छ।















