Thursday, March 13, 2025
घरसमाचारआइजीपी कप क्रिकेटको सेमिफाइनल समीकरण पूरा

आइजीपी कप क्रिकेटको सेमिफाइनल समीकरण पूरा

२८ फागुन, काठमाडौं । प्रथम आइजीपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन दुई खेल सम्पन्न भएका छन् । दुई खेलको नतिजापछि सेमिफाइनल समीकरण पनि पूरा भएको छ ।

पहिलो खेलमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकी प्रदेश प्रहरी कार्यालय टिमलाई ६ विकेटले पराजित गर्‍यो । मुलपानी मैदान(माथिल्लो) मा टस जितेर बलिङ गरेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई ७६ रनमा रोकेको थियो ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमका पेश बलर कैलाश चन्द, हुकुमदेव साह तथा स्पिनर राजन भट्टराईले कसिलो बलिंग गरेपछि गण्डकी कम स्कोरमा समेटिएको थियो ।

बलिङमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमका बायाँहाते पेस बलर कैलाश चन्दले ४ ओभरमा मात्र ९ रन खर्चिएर ४ विकेट लिए । गण्डकीका लागि सुमित महर्जनले सर्वाधिक २८ रन जोड्न सफल भए । क्याप्टेन रामबहादुर थापा र इन्द्रमणी घिमिरेले समान १० रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालय टिमले दिएको ७७ रनको लक्ष्य राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले १३ ओभर ५ बलमा ४ विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो ।

उसका लागि कप्तान राजन भट्टराईले सर्वाधिक २२ रन बनाए भने नरेन्द्र बहादुर चन्दले १८ तथा सागर कटुवालले १० रन जोडे । बलिङमा ४ विकेट लिएका कैलाश चन्द खेलको प्लेअर अफ दि म्याच बने ।

त्यसैगरी आजै भएको दोस्रो खेलमा मधेश प्रदेश प्रहरी कार्यालय टिमले कोशी प्रदेश प्रहरी कार्यालय टिमविरूद्ध १२४ रनको फराकिलो जित हासिल गरेको छ ।

प्रतियोगिताकै पहिलो शतक प्रहार भएको खेलमा दिपेश रायको आक्रामक शतकमा मधेशले कोशीलाई १८९ रनको लक्ष्य दिएको थियो । २३ रनमा खेलिरहेका कप्तान कमलेस मण्डल धानुक रिटायर्ड हर्ट भएपछि क्रिजमा आएका दिपेश सुरुवातबाटै आक्रामक देखिएका थिए ।

१६ बलमा अर्धशतक प्रहार गरेका उनले ३४ बलमा शतक पुरा गरेका थिए । अविजित १०७ रन बनाएका दिपेशले ४ चौका र ८ छक्का प्रहार गरे । बलिङतर्फ कोशीका दिपेश विश्वास २ तथा कलिम मन्सुरी र सागर राना मगरले समान १ विकेट लिए ।

१८९ रनको विशाल लक्ष्य पछ्याएको कोशी प्रदेश योगराज शर्मा र संजय साहको घातक बलिङमा १८ ओभर ५ बलमा मात्र ६४ रनमा अलआउट भयो ।

कोशीलाई अलआउट गर्न मधेशका लागि योगराज शर्माले सर्वाधिक ४ विकेट लिए । संजय साह, नवीन बैठा, कुन्दनकुमार झा र अजय ठाकुरले समान १ विकेट लिए ।
ऐतिहासिक शतक प्रहार गरेका दिपेश राय प्लेअर अफ दि म्याच घोषित भए ।

दुई खेलको नतिजापछि प्रथम आइजीपी कप क्रिकेटको सेमिफाइनल समीकरण पनि पुरा भएको छ । मंगलबार भएको खेलमा विजयी भएका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय टिम र लुम्बिनी प्रदेश प्रहरी कार्यालय टिम यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

अब सेमिफाइनल खेल शुक्रबार हुनेछ । पहिलो सेमिफाइनल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय टिमले लुम्बिनी प्रदेश प्रहरी कार्यालय टिमबीच बिहान ९ बजे सुरु हुनेछ ।

यस्तै दोस्रो सेमिफाइनल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिम र मधेश प्रदेश प्रहरी कार्यालय टिमबीच हुनेछ । फाइनल खेल चैत्र २ गते शनिबार हुनेछ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -