२०८२ असार २६ गते, बिहीबार २३:१०

उपचारको क्रममा लालु यादवको मृत्यु, अस्पतालमाथि लापरवाहीको आरोप

– राधेश्याम साह

फाल्गुण ११, रौतहट/

रौतहटको गौर नगरपालिका-१ स्थित गौर सेन्ट्रल अस्पतालको लापरबाहीका कारण १८ वर्षीय लालु यादवको मृत्यु भएको भन्दै पीडित परिवारले निष्पक्ष छानबिनको माग गरेका छन्।

गौर-३ निवासी धर्मेन्द्र यादवका छोरा लालु यादवको आन्द्राको शल्यक्रिया (अपरेसन) गर्ने क्रममा मृत्यु भएको हो। मृतकका काका देवेन्द्र अधिकारीले पत्रकार सम्मेलन गर्दै अस्पताल प्रशासनको चरम लापरबाहीका कारण भतिजाको ज्यान गएको आरोप लगाए।

सरकारी अस्पतालबाट निजी अस्पतालमा रिफर, कमिशनको खेल?

देवेन्द्र अधिकारीका अनुसार सुरुमा लालु यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल, गौरमा लगिएको थियो। तर त्यहाँ कार्यरत चिकित्सक पंकज साहले उपचार सम्भव हुँदाहुँदै निजी अस्पतालमा रिफर गरिदिएका थिए। अधिकारीले आरोप लगाउँदै भने, “डाक्टर पंकज साह, घनश्याम ठाकुर लगायत केही चिकित्सकको मिलेमतोमा बिरामीलाई जबरजस्ती निजी अस्पताल पठाइएको हो। कमिशनकै कारण लालुको ज्यान गयो।”

उनले सरकारी अस्पतालमा उपचार सम्भव हुँदा पनि बिरामीलाई निजी अस्पतालमा पठाउनु केवल लापरबाही मात्र नभई आपराधिक क्रियाकलाप भएको दाबी गरे।

स्थानीयको आक्रोश, दोषीलाई कारबाहीको माग

घटनापछि मृतकका आफन्त र स्थानीयवासी आक्रोशित बनेका छन्। उनीहरूले दोषी चिकित्सक तथा अस्पताल प्रशासनविरुद्ध कडा कारबाहीको माग गर्दै आन्दोलनको चेतावनी दिएका छन्। शनिबार स्थानीयबासीले अस्पताल अगाडि प्रदर्शन गर्दै “लापरबाही चिकित्सकलाई कारबाही गर!” जस्ता नारा लगाए।

राजनीतिक दबाब र न्यायको प्रतिबद्धता

घटनापछि रौतहट क्षेत्र नं. १ का संघीय सांसद प्रत्याशी तथा नेकपा एमालेका जिल्ला इञ्चार्ज अजय कुमार गुप्ता पीडित परिवारलाई भेट्न पुगेका थिए। उनले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दोषीहरूलाई कानुनी दायरामा ल्याइ कारबाही गर्नुपर्नेमा जोड दिए। “पीडित परिवारलाई न्याय दिलाउन म सम्पूर्ण प्रयास गर्नेछु। स्वास्थ्य क्षेत्रमा भइरहेको यस्तो लापरबाही रोक्न सरकारसँग कडा माग गर्नेछु,” गुप्ताले भने।

स्वास्थ्य क्षेत्रमा अनियमितता: गम्भीर चिन्ता

यो घटना केवल एउटा परिवारको पीडा मात्र नभई सम्पूर्ण स्वास्थ्य प्रणालीको गम्भीर विकृति भएको विश्लेषण गरिएको छ। यदि यस्ता घटनामा दोषीलाई समयमै कारबाही गरिएन भने भविष्यमा यस्तै दुर्घटनाहरू दोहोरिन सक्ने खतरा रहन्छ।

अब प्रश्न उठ्छ- स्वास्थ्य क्षेत्रको लापरबाही रोक्न सरकार र सरोकारवाला निकायहरू कति गम्भीर छन्? पीडित परिवारलाई न्याय दिलाउन प्रशासनको कदम कस्तो हुनेछ?

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM