२०८३ बैशाख १८ गते, शुक्रबार ०१:११

एमाले लुम्बिनी प्रदेश : विभिन्न जिल्लाबाट २९ जना सदस्यमा मनोनीत




रुपन्देही । नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीले सङ्गठन सुदृढीकरण र विकासको नयाँ नीति बनाएको छ ।

बाँकेको नेपालगन्जमा सम्पन्न दुई दिने पूर्ण बैठकले पार्टी केन्द्रले बनाएको जरा अभियान अन्तर्गत तीन महिने अभियानलाई अगाडि बढाउने निर्णय गरेको छ । बैठकमा छवटा समूहमा विभाजन गरी पार्टी सञ्चालनमा देखिएका समस्या, सुधारका उपाय, सङ्गठन सुदृढीकरण तथा आगामी कार्ययोजना तयार गरेको प्रचार विभाग प्रमुख डिआर घिमिरेले जानकारी दिनुभयो ।

बैठकमा पार्टीका सबै जिल्ला तथा पालिकास्तरमा प्रचार डेस्क स्थापना गर्ने र कार्यकर्तालाई विभिन्न क्षेत्रमा सेवा प्रवाहका लागि विशेषज्ञ डेस्क बनाउने निर्णय गर्नुका साथै, स्थानीय तहबाटै विकास आयोजना छनोट गर्ने विधि निर्माण गरी पार्टीका इन्चार्जहरू नागरिकका समस्यासँग प्रत्यक्ष जोडिने नीति अख्तियार गरिएको जनाइएको छ ।

बैठकमा पार्टी केन्द्रीय सचिव प्रदेश इन्चार्ज पद्यमा अर्यालले अहिले सामाजिक अराजकताले चुनौती सिर्जना गरेको भन्दै योजनाबद्ध आक्रमणको सामना गर्न सबै कार्यकर्ता दृढ भएर लाग्नुपर्ने बताउनुभयो। पार्टी निर्माण भावनात्मक रूपमा नभई एजेन्डामा आधारित भएर गर्नुपर्ने उहाँको भनाइ थियो।

पार्टी स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुख काशिनाथ अधिकारीले पार्टीले २५ वर्षभित्र नेपाललाई समृद्ध बनाउने तथा एमालेलाई राष्ट्रिय शक्ति बनाउने सङ्कल्प लिएको बताउनुभयो। पार्टीलाई सशक्त बनाउन पुराना कार्यकर्ताको सम्मान गर्दै सङ्गठन निर्माण गर्ने, सामाजिक सञ्जालको सदुपयोग गर्ने, र वडास्तरमा जनसेवा केन्द्रित अभियान सञ्चालन गर्नुपर्ने धारणा उहाँले राख्नुभयो ।

प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले सरकारलाई मात्र दोष लगाउने प्रवृत्ति त्यागेर काम गर्ने संस्कृति विकास गर्नुपर्ने बताउनुभयो। वार्षिक योजनासँगै त्रैमासिक तथा चौमासिक समीक्षाको आवश्यकतामा उहाँले जोड दिनुभयो। सङ्गठन विस्तारका क्रममा प्रभावशाली युवा नेतृत्वलाई अगाडि ल्याउनुपर्ने उनको सुझाव थियो।

बैठकले विभिन्न जिल्लाबाट नयाँ प्रदेश सदस्यहरू मनोनयन गर्ने निर्णय गरेको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM