पोखरा । पोखरामा जारी एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८१ अन्तर्गत भोलि (बुधबार) लिग चरणका ४ खेल हुने भएका छन् ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रङ्गशालामा बुधबार प्रतियोगिताको पाँचौँ दिन महिला र पुरुषतर्फ दुई/दुई खेल हुने भएको प्रतियोगिताका संयोजक रामकृष्ण ज्ञवालीले बताउनुभयो ।
पहिलो खेल प्रतियोगिताबाट बाहिरिइसकेका ट्राभल इन्क्वारी प्यासन भलिबल क्लब थाइल्यान्ड र त्रिभुवन आर्मी क्लबबिच हुनेछ । प्रतिष्ठाका लागि हुने उक्त खेल बिहान पौने ९ बजेबाट सुरु हुने छ ।
दोस्रो खेल बिहान पौने ११ बजे पहिलो क्वालिफायर खेल्ने टुङ्गो लागेका सशस्त्र प्रहरी बल एपिएफ र आयोजक टाइगर ग्रुप पोखराबिच हुनेछ । यो खेलले ‘जित्ने समूह’ को विजेता र उपविजेताको भने टुङ्गो लगाउनेछ । उक्त समूहबाट तेस्रो हुँदै पुलिस एलिमिनेटरमा प्रवेश गरिसकेको छ ।
बुधवारको तेस्रो र चौथो खेल पुरुषतर्फको हुनेछ । तेस्रो खेलमा टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब र सशस्त्र प्रहरी बल एपिएफबिच हुनेछ । उक्त खेल पौने १ बजे सुरु हुने आयोजकले जनाएको छ । भोलिको चौथो तथा अन्तिम खेल दिउँसो पौने ३ बजे भारतको सुनिल भलिबल क्लब र त्रिभुवन आर्मी क्लबबिच हुनेछ । यसअघि आइतबार स्थगित भएको गण्डकी प्रदेश र हेल्प नेपालबिचको खेल बिहीबार हुने आयोजकले जनाएको छ ।
आज भएको खेलमा पुरुषतर्फ आर्मीले पुलिस र गण्डकी प्रदेशले एपिएफलाई पराजित गरेको थियो । यस्तै महिलातर्फ आयोजक टाइगर ग्रुपले टिपटप न्यू डायमन्ड क्लब र पुलिसले आर्मीलाई पराजित गरेको थियो । प्रतियोगितामा हरेक दिनजसो दर्शकको चाप बढ्दो रुपमा रहेको संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले बताउनुभयो ।

















