२०८३ असार २३ गते, मंगलवार ०५:१८

विदेशमा आर्जित पुँजी स्वदेशमा परिचालन गर्नुपर्नेमा मन्त्री भण्डारीको जोड 

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले वैदेशिक रोजगारीबाट फर्किएका युवाले विदेशमा सिकेका सीप, श्रम संस्कृति र आर्जित पुँजीलाई स्वदेशमा परिचालन गर्नुपर्नेमा जोड दिनुभएको छ । 

मुलुकमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले गठन गरिएको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको प्रथम वार्षिकोत्सवको आज उद्घाटन गर्दै उहाँले अन्तर्राष्ट्रियस्तरको तालिम प्रदान गर्न प्रतिष्ठान क्रियाशील हुनुपर्ने बताउनुभयो ।

“राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको माग तथा आवश्यकताअनुरूप दक्ष, प्रतिस्पर्धी, सीपयुक्त तथा उद्यमशील जनशक्ति उत्पादन गर्न प्रतिष्ठान लाग्नुपर्छ”, मन्त्री भण्डारीले भन्नुभयो, “सीपयुक्त दक्ष जनशक्ति तयार गर्न श्रम बजारले माग गरेअनुरूप प्रविधिमैत्री पाठ्यक्रम र सो पाठ्यक्रमका आधारमा रोजगार उन्मुख तालिम प्रदान गर्नुपर्छ ।”

श्रम मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले प्रतिष्ठानको कार्य सञ्चालनका लागि आवश्यक पर्ने नियम, निर्देशिका तथा कार्यविधि तयारीमा मन्त्रालयका तर्फबाट पूर्ण सहयोग रहने विश्वास दिलाउनुभयो । 

प्रतिष्ठानका कार्यकारी निर्देशक रमेशकुमार बखतीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आवश्यक सीपयुक्त जनशक्ति उत्पादन गर्नेतर्फ प्रतिष्ठान क्रियाशील रहेको बताउनुभयो । प्रतिष्ठानले ललितपुरको भैँसेपाटी, इटहरी र बुटवलबाट छोटो अवधिको आधारभूत तथा एडभान्स तहका सीपमूलक व्यावसायिक तालिम सञ्चालन गर्दै आइरहेको छ । कार्यस्थलमा आधारित (एप्रेन्टिसिप) तालिम सञ्चालन कार्यविधि, २०८१, स्वीकृतिको चरणमा छ ।

प्रतिष्ठानले नियमितरूपमा आन्तरिक तथा बाह्य सीप विकासका तालिमका अतिरिक्त अनुगमन तथा मूल्याङ्कनसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम, द्विदेशीय सम्झौताद्वारा दक्षिण कोरिया, इजरायल र बेलायत जाने कामदारलाई पूर्वप्रस्थान अभिमुखीकरण तालिम सञ्चालन गर्दै आइरहेको छ । प्रतिष्ठानले २०८० पुस २३ गतेदेखि यही पुस १९ गतेसम्म छ हजार पाँच सय जनालाई पूर्वप्रस्थान अभिमुखीकरण तालिम प्रदान गरेको कार्यकारी निर्देशक बखतीले जानकारी दिनुभयो । रासस

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM