२०८३ जेष्ठ २३ गते, शनिबार १९:५१

‘लागूपदार्थको भरिया भएर विदेशमा कोही पनि नमारिउन् भन्ने लाग्छ’    

म १३ जून २००० मा थाइल्यान्डको विमानस्थलबाट पक्राउ परें । पाकिस्तानबाट लागूऔषध हिरोइन ७०० ग्राम बोकेर जाँदै गर्दा पक्राउ परेको थिएँ । हिरोइन शरीरमा बाँधेको थिएँ । म पाकिस्तानबाट कम्बोडिया जाँदै थिएँ । बैंकक् ट्रान्जिट थियो ।

पर्यटकीय भिसामा रहेको नेपाली पाकिस्तानबाट कम्बोडिया जान लागेको भनेपछि उनीहरूले शंका गरे । थाई विमानस्थलका अधिकारीले शंका गरेर खानतलासी गरे, मलाई पक्राउ गरियो । म पक्राउ पर्नुअघि लागूऔषध बोकेका अरू नेपाली पनि पक्राउ परेका रहेछन् ।

मलाई एक पटक हिरोइन पुर्‍याएको १६०० डलर दिने भनेका थिए । पैसा पाउने भएपछि म यो बोक्न तयार भएको थिएँ । थाइल्यान्डको अदालतले मलाई मृत्युदण्डको सजाय तोक्यो । तर, पछि अपराध कबुल गरेपछि मृत्युदण्डलाई आजीवन कारावासमा परिणत गरियो । १६ वर्ष ७ महिना जेलमा विताएपछि आममाफी पाएर म छुटें ।

जेलको अवस्था गोठमा गाईबस्तु बाँधेको जस्तो थियो । भाषा, संस्कृति र खानपान नमिल्ने भएकोले अत्यन्तै कठिन हुन्थ्यो । पाँच वर्षसम्म त म पागल जस्तै भएको थिएँ । आफूलाई कन्ट्रोल गर्न सक्ने अवस्थामा थिइनँ । म कसरी यहाँ आएर कस्तो काममा लागें भन्नेमा ‘रिग्रेट’ फिल हुन्थ्यो ।

पछि म जेलमा परेकाहरूलाई सहयोग गर्न थालें । मलाई थाई र अंग्रेजी दुवै आउने हुँदा जेल पर्ने विदेशीलाई सहयोग गर्दथें । जेलभित्रै अनौपचारिक रूपमा दोभाषे काम गर्थें । जेलका साथीहरूका लागि माफीका लागि चिठ्ठीहरू लेखिदिन्थें ।

जेल पर्दा २१ वर्षको म छुट्दा ३७ वर्षको थिएँ । पूरै जवानी जेलमा बित्यो । भरिया बनेर जाँदा राम्रो–नराम्रो कुरा छुट्याउने अवस्था थिएन । शिक्षाको कमीले पनि यस्तो भयो भन्ने लाग्छ । अर्को चाहिं गरिबीले पनि यस्तो बनायो । भरिया भएर जाने सबै मानिसलाई यो जोखिमयुक्त काम हो, पक्राउ पर्दा म मारिन पनि सक्छु भन्ने थाहा नपाएको अवस्था छ ।

जेलबाट छुटेर आएपछि बुबाको नाममा रहेको जग्गा बेचेर १ लाख ५० हजार रुपैयाँ ऋण तिरें । यसमा कमाउने एक दुई जना होलान् तर सबै जस्तोले दुःख पाएका छन् ।

प्रायःजसोलाई पैसाको बारेमा मात्रै थाहा हुन्छ । अर्को कुरा कुन देशमा कस्तो कानून छ भन्ने पनि थाहा हुँदैन । मैले पनि जेलमा पुगेपछि मात्रै सबै कुरा थाहा पाएँ । तर यतिबेला ढिलो भइसकेको थियो । त्यो बेला साथीहरू थिए । लहलहैमा लागियो । पक्राउ पर्नेहरू पनि म जस्तै उमेरका थिए ।

पहिले भारी बोक्नेहरूले केही कमाएर खर्च गरेको पनि देखियो । त्यसले पनि लोभ्यायो । अर्को कुरा विदेश गएको ऋण तिर्नुपर्ने थियो । म पहिला वैदेशिक रोजगारीका लागि साउदी अरब गएको थिएँ । त्यहाँ क्लिनरको काम गर्थें । अंग्रेजी अलिअलि आउने भएकोले सेल्सम्यान बनाए । ६ महिनापछि सुपरभाइजर भएको थिएँ ।

साउदीमा काम गर्दा ५ हजार रियाल दिन्थ्यो । मलाई ५० बढाइ देउन भन्दा पनि मानेन, त्यसमा कुरा मिलेन । झगडा गरेर ९ महिनामा नेपाल फर्किएँ । त्यो समय तलब ३०० रियाल मात्रै थियो । २०५६ सालमा जाँदा ७० हजार रुपैयाँमा गएको थिएँ । त्यो पनि ऋण गरेर । त्यति पैसा तिर्ने एउटा मात्रै उपाय भरिया भएर जाने हो भन्ने भयो ।

ऋण तिर्ने होइन कि झण्डै ज्यानै गुमेको । जेलबाट छुटेर आएपछि बुबाको नाममा रहेको जग्गा बेचेर १ लाख ५० हजार रुपैयाँ ऋण तिरें । यसमा कमाउने एक दुई जना होलान् तर सबै जस्तोले दुःख पाएका छन् । कमाउनेलाई पनि कुन समयमा पक्राउ पर्छु वा मारिन्छु भन्ने डर भइरह्यो ।

जेलबाट छुटेर आउँदा समाजले स्वीकार गर्ला कि नगर्ला भन्ने ठूलो चिन्ता थियो । जेलमा रहँदा थाई वा अंग्रेजी भाषाको प्रयोग हुन्थ्यो । आफ्नो भाषा पनि बिर्सिन्छु जस्तो हुन्थ्यो । बिहे भएको थिएन । छुटेर आएपछि बिहे गरें । अहिले छोरी छ ।

पछिल्लो ६ महिनादेखि गाउँकै खानेपानीमा अपरेटरको काम गरिरहेको छु । त्यसले दुई वटा वडामा खानेपानी दिन्छ । श्रीमती सहकारीमा काम गर्छिन्, पैसा धेरै नभए पनि जीवन चलेको छ । त्यो बेला गल्ती भयो । अरू मानिस पनि यस्तो कुलतमा नफसुन् भनेर म त मानिसहरूसँग कुरा गर्छु । म त बिग्रिएँ बिग्रिएँ, अरू नबिग्रिउन् भन्ने मलाई लाग्छ । लागूपदार्थको भरिया भएर विदेशमा कोही पनि नमारिउन् भन्ने लाग्छ ।

(२४ वर्षअघि लागूपदार्थ बोकेको अभियोगमा थाइल्यान्ड विमानस्थलबाट पक्राउ परेपछि मृत्युदण्डको फैसला भएकोमा त्यसलाई आजीवन कारावासमा परिणत गरिएपछि १७ वर्ष जेल बसेर नेपाल फर्केका तामाङसँग मणि दाहालले गरेको कुराकानीमा आधारित ।)

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

प्रहरी हिरासतबाट छुटेको भोलिपल्टै कारबाही: सचिव कृष्णहरि पुष्कर जिम्मेवारीविहीन

काठमाडौं। सरकारले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री

प्रहरी हिरासतबाट छुटेको भोलिपल्टै कारबाही: सचिव कृष्णहरि पुष्कर जिम्मेवारीविहीन

काठमाडौं। सरकारले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री

Live

Listen Live FM