काठमाडौँ । दक्षिण एसियाकै पहिलो सुरुङमार्गको रुपमा रहेको हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई सुरुङमार्ग आज विधिवत् रुपमा हेटौँडा उपमहानगरपालिका कार्यालयलाई हस्तान्तरण गरिएको छ।
आज यहाँ आयोजित एक कार्यक्रममा बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्केले हेटौँडा उपमहानगरका प्रमुख मिना लामालाई उक्त सुरुङमार्ग स्वामित्व हस्तान्तरण गर्नुभयो ।

सुरुङमार्गको आज उद्घाटन भएसँगै सर्वसाधारणको अवलोकनका लागि खुला गर्ने तयारी गरिएको छ । बागमती प्रदेश सरकारको रु चार करोड ५७ लाखको लागतमा पुनःनिर्माण भएसँगै सुरुङमार्ग सर्वसाधारणको अवलोकनका लागि खुला गर्न लागिएको हो ।

मधेस प्रदेशको बारा र बागमती प्रदेशको मकवानपुरलाई जोड्ने उक्त सुरुङमार्ग विसं १९७४ मा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्माण गरिएको थियो । सो सुरुङमार्गबाट विसं २०२० सम्म सवारी साधनहरू सञ्चालन हुँदै आएको थियो । जीर्ण भएको सो सुरुङमार्गको गत २०७९ साल वैशाख १९ गते जीर्णोद्धार सम्पन्न गर्ने गरी काम सुरु भएको थियो । सुरुङमार्ग पुनःनिर्माण भएपनि त्यसको सञ्चालन कसले गर्ने भने अन्यौलताका कारण लामो समयदेखि बन्द थियो ।

कुल एक सय ९८ मिटर लम्बाई उक्त सुरुङमार्ग पुनःनिर्माण पश्चात् दुई सय २५ मिटरको पुगेको जनाएको छ ।



तस्बिर: प्रतीक्षा न्यौपाने /रेडियो नेपाल
















