काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान विश्वविद्यालय विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ ।
समितिको आज बसेको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सुदूरपश्चिम प्रदेशको गेटामा स्थापना गरिने उक्त विश्वविद्यालयको ५५ वटा साना ठूला भौतिक पूर्वाधारमध्ये ५० वटा संरचना निर्माण सम्पन्न भइसकेको जानकारी गराउनुभयो ।
स्वास्थ्य क्षेत्रको पहिलो विश्वविद्यालयको रुपमा रहने शहीद दशरथ चन्द विश्वविद्यालय स्थापना पछि स्वदेशमै चिकित्सा शिक्षा अध्ययनका लागि सहज हुने बताउनुहुँदै मन्त्री भट्टराई चिकित्सा शिक्षा ऐनअनुसार विश्वविद्यालय सञ्चालन गरिने बताउनुभयो ।
विधेयकको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरु देवेन्द्र पौडेल, डाक्टर कालुराम राई, सरिता भुषाल र दीपा शर्मालगायतले सुदूर पश्चिम प्रदेशबाट सर्वसाधारणले चिकित्सा शिक्षा अध्ययन गर्न पाउने गरी स्थापना हुन लागेको विश्वविद्यालय विधेयक जतिसक्दो चाँडो अघि बढाउन आग्रह गर्नुभयो ।
चिकित्सा क्षेत्रको पहिलो विश्वविद्यालय भएकाले विधेयकबाट स्वास्थ्य विज्ञान प्रतिष्ठान भन्ने शब्द हटाउनुपर्ने, मेरिटोक्रेसीका आधारमा विश्वविद्यालय पदाधिकारी नियुक्त गरिनुपर्ने र सर्वसाधारणको पहुँच पुग्ने गरी शुल्क कानुनमै व्यवस्था गरिनुपर्नेमा सांसदहरुले जोड दिनुभयो ।











