गोपी दाजु नहुनाले यसपालि निजगढमा तिहारको रौनक भएनछ । कसैले कौडा पनि खेलेनन् रे ! कौडा खेलेर हारे पनि लुसुक्क भागेर नहिंड्ने अझ साइडमा बसेर अरूलाई हौसला दिने दाजुको बानीलाई सम्झेर सबैले एउटा अभिभावक गुमाएको महसुस गरिरहेका रहेछन् ।
आमाको स्वर्गवास हुँदा सँगै दागबत्ती दिएर कोरामा बसेका हामी दाजुबहिनी, दाजु नहुँदाको निजगढ पहिलो पटक टेक्दा भासिन्छ कि भन्ने डरले विक्षिप्त थियो मेरो मन । सबैको हृदयमा एउटा असल, सहयोगी र उपकारी मित्रको रूपमा दाजु बास बसेको देखेर त्यही भारी मेरो मन पनि केही हल्का भइरहेको थियो ।
मलाई मात्रै होइन गोपी दाजुको अभाव पूरै निजगढवासीलाई खट्किएको पाएँ । जीवन जिउने कलाको मूल्यांकन व्यक्तिको मृत्युपछि हुने रहेछ । जसको मूल्यांकन अहिले परिवार र समाजले गरिरहेको छ ।
बोनसमा प्राप्त यो जीवन बुबा तुड्गलाल र गोपी दाजुकै शैलीमा अरूकै भलाइ र उपकारमा व्यतीत गर्न सकुँ भन्ने दरिलो भावना यसपालि निजगढमा टेक्दा पलाएको छ । बाँकी कुल–पितृको आशीर्वाद र समाजको साथमा भर पर्नेछ ।
आमा र गोपी दाजु दुवैको स्वभाव हक्की बोल्ने, आफ्नो हैसियतले भ्याएसम्म अरूलाई सहयोग गर्ने, अरूलाई नठग्ने, आफ्नो दुःख कसैलाई नदेखाउने बानी मिल्दोजुल्दो थियो । त्यसैले होला उहाँहरू दुवै जना सल्लाह गरे झैं आमा गएको भदौ ६ गते र दाजु असोज १ गते २६ दिनको अन्तरालमा यसै धर्तीमा विलाउनुभयो । हामी अन्धकारमा पर्यौं ।
आज मंसिर १५ गते बालाचतुर्दशी (शतबीज छर्ने दिन) परेको छ । बालचतुर्दश्याः पुण्यं श्राद्धतर्पणपूर्वकम् । पितृभक्त्या समाराध्यं सद्गतिर्मोक्षदायिनी ।। बाला चतुर्दशीका दिन दिवंगतहरूको लागि बलिदान र अनुष्ठान गर्दा पुण्य प्राप्त हुन्छ । पितृहरूप्रति भक्ति गरेमा यसले मुक्ति र परम शान्ति प्रदान गर्दछ ।
मार्गशीर्ष कृष्णपक्षमा पर्ने चतुर्दशी तिथि बालाचतुर्दशीका नामले समाजमा परिचित छ । यो दिनमा हिन्दु धर्मावलम्बीहरूले आफ्ना दिवङ्गत पितृकोे सम्झना गर्दै उनीहरूको मुक्तिको चाहनामा पवित्र तीर्थस्थल विशेषगरी शिवको मन्दिरमा बत्ती बालेर शतबीज छर्ने परम्परा रहिआएको छ ।
यो पर्वले वैदिक सनातन हिन्दु धर्मभित्र छुट्टै र विशिष्ट स्थान प्राप्त गरेको पाइन्छ । मार्गशीर्ष (मंसीर) कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका आफन्तजनले दीपदान गर्ने, रात्रिमा जाग्राम बस्ने र चतुर्दशीका दिन शतबीज छरेर पितृको सद्गतिको कामना गर्दै यो पर्व समाप्त हुन्छ ।
बालाचतुर्दशीका दिन दिवंगत आत्माहरूको लागि दीपदान र अनुष्ठान गर्दा पितृको मोक्षगति प्राप्ति र आफूलाई परम शान्ति हुन्छ भन्ने धार्मिक मान्यता छ । बालाचतुर्दशीको अघिल्लो दिन पितृको नाममा दीप प्रज्वलन गरी रातभर जाग्राम बसेर बिहान शतबीज छर्ने चलन छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरूले आफ्ना दिवंगत पुर्खाहरूको मुक्तिको लागि शतबीज छर्ने गर्दछन् ।
भागवत कथावाचक पण्डित रामहरि सिग्देलका अनुसार सप्त धान्यले हाम्रो शरीर निर्माण भएको हुन्छ । मानिस गर्भबाट आउँछ भने अन्न जमिनबाट । आमाले खाएको खानाबाट गर्भमा बच्चाको शरीर निर्माण हुन्छ । बच्चा जब आमाको शरीरबाट धर्तीमा टेक्छ तब उसलाई जीवित रहनको लागि अन्नको आवश्यकता पर्दछ । त्यो अन्न पृथ्वीबाट प्राप्त हुन्छ, त्यसैले धर्तीलाई पनि आमा भनिएको हो ।
सप्त आवरण संयुक्तम् ! अर्थात् सप्त आवरणको संयुक्त स्वरुप नै एउटा पूर्ण मानिस हो । मानिसको अवशानपछि अन्न पृथ्वीमा विलीन हुन्छ । पृथ्वी जलमा, जल वायुमा, वायु तेजमा, तेज आकाशमा, आकाश महाआकाशमा र महाआकाश परब्रह्ममा विलीन हुन्छ ।
आकाश भन्नाले आफ्नो उचाइ जति छ त्यत्तिलाई मानिन्छ भने महाआकाश भन्नाले ब्रह्माण्डमा देखिने आकाश भन्ने बुझ्नुपर्दछ । परब्रह्ममा विलीन भएपछि मृतकको आत्माले मोक्षगति प्राप्त गर्दछ भन्ने धार्मिक मान्यता रहिआएको छ ।
दरबार हाईस्कुल, संस्कृत विषयका शिक्षक आचार्य विजय पण्डितका अनुसार शतबीजलाई संस्कृतमा सप्तधान्य भनिएको छ । गरुड पुराणका अनुसार जौ, तिल, गहुँ, धान, कागुनो, सामा, चना गरी सात थरीका बीज वा नाना थरीका बीजहरूको समिश्रणबाट बनेको बीज समूह जसलाई उल्लिखित तिथिमा मृत्यु भएको वर्ष उल्टो गरी र दोस्रो वर्ष सुल्टो गरी छरिन्छ । शतबीजका महत्व र गुणहरू यसप्रकार छन् :
जौ— शीतलता, तिल— नरम वा सहजता, गहुँ— पौष्टिकता, धान— लक्ष्मी/धनधान्य, कागुनो— शक्तिवद्र्धक/ऊष्णता, सामा— शुद्धता र चना— बौद्धिकता र पौष्टिकताको प्रतीक मानिन्छ ।
शतबीजमा सिजन अनुसारको फलफूल पनि प्रयोग गरिन्छ । यी सात अन्न सबै औषधि हुन् । अन्न सेवनको आफ्नै नियम हुन्छ । प्रकृतिले जुन सिजनमा जे उपलब्ध गराएको हुन्छ त्यो सिजनमा त्यही अन्न वा फलफूल सेवन गर्नाले शरीर स्वस्थ रहन्छ । जसलाई प्राकृतिक आहार भनिन्छ ।
जस्तै अहिले जाडोको मौसममा चिसो सुन्तला फल्छ भने गर्मीको मौसममा गर्मी गर्ने आँप फल्छ । गर्मीमा सुन्तला खानु र सर्दीमा आँप खानु शरीरको लागि घातक हो । प्रकृतिले मौसम अनुसारको खाद्यान्न र फलफूल उपलब्ध गराएको हुन्छ तर हामी फ्रिजमा स्टोर गरेर राख्छौं र बेमौसममा पनि अफ सिजनको फलफूल खाने गर्दछौं । जसका कारण अनेक रोगहरूको सिकार बन्दै गएका छौं ।
प्रकृतिको यो नियमलाई पालना गर्नेमा पशु वा चराचुरुंगी पर्दछन् । जसका कारण उनीहरू स्वस्थ हुन्छन् । अप्राकृतिक भोजनका कारण मानिसहरू दिनानुदिन अस्वस्थ हुने क्रम बढ्दो छ । भोजनको अगाडि चौरासी व्यञ्जन थप्नाले उत्कृष्ट भोजन मानिन्छ । जुन भोजन सेवन पश्चात् कफ, वाथ र पित्तमा समस्या देखा पर्दछ । जसका कारण शरीरमा अनेक प्रकारका भयानक रोगहरू उत्पन्न हुन्छन् । रोग निवारणको औषधि पनि प्रकृतिबाटै प्राप्त हुन्छ ।
दीपदान (बत्ती बाल्ने)
पितृहरूको वासस्थान दक्षिण दिशामा हुने भएकाले यो दिशाको अवस्था र आवश्यकतालाई आत्मबोध गर्दै मंसिर कृष्ण त्रयोदशीका दिन महादीपदान गरिन्छ । पितृको उद्धारका निम्ति गरिएको यो महादीपदानले पितृमार्ग उज्यालो हुन्छ । यसरी प्रज्ज्वलित गरिएको दीपले पितृका लागि मुक्तिको मार्ग पहिचान गर्न सहज हुन्छ र सद्गति प्राप्त गर्दछ भन्ने धार्मिक मान्यताका आधारमा महादीपदान गरिन्छ ।
बालाचतुर्दशीको अघिल्लो दिन बत्ती बालेर जाग्राम बस्नाले मृतात्मालाई शान्ति प्राप्त हुनुका साथै पितृ दोषबाट मुक्ति मिल्ने विश्वास गरिन्छ । यस दिन बालिने बत्तीले पितृ हिंड्ने बाटोमा उज्यालो हुन्छ र पितृ खुसी भई दीपदान गर्ने व्यक्तिलाई पितृको आशीर्वाद प्राप्त हुन्छ भन्ने धार्मिक मान्यता रहेको छ ।