Thursday, July 25, 2024
घरक्राइम चेकमधेश प्रदेशका ६ जना मन्त्री बर्खास्त

मधेश प्रदेशका ६ जना मन्त्री बर्खास्त

जनकपुरधाम/मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ६ जना मन्त्रीलाई बर्खास्त गरेका छन्। केन्द्रीय गठबन्धन फेरिएपछि सोहीअनुसार मधेस सरकारमा सहभागी रहेका चार दलका ६ मन्त्रीलाई राजीनामा दिन आग्रह गरेकोमा राजीनामा नदिएपछि उनीहरूलाई बर्खास्त गरेको मुख्यमन्त्री सिंहले बताए।

शनिबार मुख्मयन्त्री सिंहले माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका मन्त्रीहरूलाई बर्खास्त गरेका हुन्।

बर्खास्त हुनेमा माओवादी केन्द्रका संसदीय दलका नेता एवं अर्थमन्त्री भरतप्रसाद साह, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई, एकीकृत समाजवादीका संसदीय दलको नेता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपाने, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री बेची लुंगेली, नागरिक उन्मुक्तिबाट मन्त्री बनेकी श्रम तथा यातायातमन्त्री उर्मिला चौधरी, नेपाल संघीय समाजवादी पार्टीबाट गृह, सञ्चार तथा कानुनमन्त्री विमला अन्सारीलाई बखास्त गरेका हुन्।

६ जना मन्त्रीलाई बर्खास्त गरेपछि सञ्चारकर्मीहरूसँग बोल्दै मुख्यमन्त्री सिंहले आजै विश्वासको मत लिने भएकाले नयाँ समीकरणअनुसार यसअघि मन्त्री रहेकाहरूलाई राजीनामा दिन आग्रह गरेकोमा राजीनामा नदिएपछि बर्खास्त गर्नुपरेको बताए।

उनले मन्त्रीहरूकै सहमतिमा बर्खास्त गरेको बताए।

मन्त्री सिंहले केन्द्रीय सर्कुलरअनुसार नयाँ गठबन्धनमा आउने दललाई सरकारमा सहभागी गराउन सक्ने बताए। उनले नागरिक उन्मुक्ति पार्टी नयाँ गठबन्धनमा आउने कुरा रहेकोमा अहिले बर्खास्त गरेपनि पछि सहभागी गराउन सकिने बताए।

सिंहले विश्वासको मत लिएपछि सरकार विस्तार सम्बन्धमा निर्णय लिइने बताए। उनले नेपाली कांग्रेस र लोसपा सरकारमा आउने टुंगो लागे पनि कतिवटा मन्त्रालय र कुन मन्त्रालय दिने त्यसको निर्णय नभएको बताए।

मुख्यमन्त्री सिंह आज विश्वासको मत लिँदै छन्। अहिलेसम्म नेकपा एमाले, नेपाली कांग्रेस, जनमत पार्टी र लोसपा नेपाल एक ठाउँमा भएका छन् ।

१०६ जना प्रदेशसभा सदस्य रहेको मधेस प्रदेशमा बहुमतका लागि ५४ जना प्रदेशसभा सदस्यको आवश्यक छ। मधेस प्रदेशसभामा एमालेका २५, कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोसपाका ८, एकीकृत समाजवादीका ७, राप्रपा, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीको १-१ जना प्रदेशसभा सदस्य छन्।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -