२०८३ जेष्ठ २ गते, शनिबार ११:१६

इच्छा होटेलको क्यासिनोमा नेपाली नागरिकलाई सहज प्रवेशको व्यवस्था

पथलैया । बाराको सिमरास्थित चारतारे इच्छा होटलमा संचालित ‘स्माइल मिनी क्यासिनो’ नेपालीको निर्वाध प्रवेश हुने गरेको छ । पूर्व डिआईजी छवि जोशी बन्जाडे, खिलबहादुर खनाल र इच्छा होटलका संचालक इच्छाबहादुर वाग्लेकोे लगानीमा सञ्चालन भइरहेको क्यासिनो पछिल्लो समयमा मिटरब्याजी राजन भूजेलले संचालन गर्न थालेका छन् ।

सुरुमा सुरेन्द्रबहादुर सिंहले चलाएको उक्त क्यासिनो पछि पूर्व डीआईजी छवि बन्जाडेले लिएका थिए । पूर्व डीआईजी जोशी र इच्छाबहादुर वाग्लेबीच खटपट भएपछि बन्द प्रायः रहेको स्माइल मिनी क्यासिनोमा ४ महिनादेखि राजन भूजेलको इन्ट्री भएको हो । म्यारियट होटलको डेल्टइन क्यासिनोमा जुवा खेल्न आउनेहरुलाई मिटरब्याजमा पैसा दिने र एउटा टेबुल समेत संचालन गर्दैआएका राजन भूजेलले सिमरामा स्माइल मिनी क्यासिनोमा मेजर सेयर किनेका छन् ।

स्माइल मिनी क्यासिनो किनिसकेपछि राजन भूजेलले इलाका प्रहरी कार्यालय सिमराका डीएसपी चिरन्जीवी दाहाल र जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी दधिराम न्यौपानेसँग सेटिङ गरी नेपालीलाई खुलेआम जुवा खेलाउने गरेका छन् । स्माइल मिनी क्यासिनोमा पछिल्ला दिनमा ६० प्रतिशत नेपाली जुवा खेल्न जाने गरेका छन् । क्यासिनो नियमावली २०७० मा नेपालीलाई जुवा खेलाएमा क्यासिनोको अनुमति रद्द हुने ब्यवस्था छ । तर प्रहरीलाई मिलाएर भूजेलले खुलेआम नेपालीलाई क्यासिनोमा प्रवेश गराउन थालेका छन् ।

पछिल्ला दिनमा अरुण सेढाईहरुको समूहले पनि नेपालीलाई सहज प्रवेश हुने भएकाले जुवाडेहरुलाई स्माइलमै लिएर जाने गरेको छ । बाराका एसपी महेन्द्र खड्का भन्दा डीएसपी दधिराम न्यौपानेकै बोलवाला छ । यसअघिका एसपी सुरेश काफ्लेलाई पनि न्यौपानेले नै असहयोग गर्ने र आईजीपी बसन्तबहादुर कुँवरलाई हुँदै नभएका कुरा लगाउने, हुन्डीका ठूला कारोबारीसँग सेटिङ गर्ने जस्ता कार्य गरेका थिए । अहिलेका एसपी महेन्द्र खड्कालाई पनि उनले असफल पार्ने गरी क्यासिनोदेखि हुन्डी कारोबारीहरुसँग सेटिङ मिलाउन तल्लीन छन् । सोझै आईजीपीको तुजुक देखाउने भएकाले एसपी खड्का निरीह छन् । तिनै न्यौपानेको सेटिङमा स्माइल क्यासिनोमा भूजेलले नेपालीलाई निर्वाध प्रवेश गराउँदै आएका छन् ।

को हुन् राजन भूजेल ?

मिटरब्याजको धन्दाबाट करोडौंपति हुनेहरूमा राजन भुजेल पनि हुन् । उनी सुरुमा कालिमाटी क्षेत्रमा गुण्डागर्दी गर्ने गर्दथे । भुजेलले निर्माण ब्यवसायी शरद गौचनको हत्यामा जेल सँजाय भुक्तान गरिरहेका गुण्डानाइके समीरमान बस्नेतको समूहमा काम गर्ने गरेको प्रहरी स्रोत बताउँछ ।

समीरमान पक्राउपछि पनि उनी गुण्डागर्दी र मिटरब्याजको कारोबारमा संलग्न रहँदै आएका थिए । उनले केही प्रहरी अधिकृतको पैसा लिएर मिटरब्याजमा लगाउने गरेका थिए । भुजेल २०७६ असारमा पक्राउ परी छुटेका थिए ।

क्यासिनोमा हारेकाहरुलाई एक लाखको दिनको १ हजार रुपैयाँसम्म ब्याज लिनेगरी मिटरब्याजमा पैसा लगानी गर्नेहरुमा राजन भुजेल, पर्दछन् ।

राजन भुजेल सर्वेन्द्र खनाल आइजीपी हुन्जेल प्रहरीको हिटलिष्टमा परेकाले मिटरब्याजको कारोबारमा खुलेर लागेनन् । खनालको अवकाशपछि भूजेल पुनः मिटरब्याजको धन्दामा सक्रिय रुपमा लागे । उनी म्यारियट होटलको क्यासिनोमा टेबुल संचालन गर्न थाले । अहिले उनी सिमराहमा क्यासिनो नै खरिद गरी संचालन गर्न थालेका छन् । नेपाल फेस

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM