रौतहट/ अन्य जिल्लामा दरबन्दी रहेको प्रहरीलाई रौतहटमा घुमुवा राखी तस्करसँग समन्वय गरेको समाचार प्रकाशन भएपछि एक जना प्रहरीलाई दरबन्दी फिर्ता पठाईएको खबर जानकारीमा आएको छ।
ती घुमुवाको समन्वयमा रौतहटको मठिया महुलिया नाकाबाट धानको बिउको तस्करी गर्न दिइएको लाइन समेत जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिलिप घिमिरेको एक्सनपछि बन्द भएको छ।
कमसल धानको बिउको तस्करी रोक्न प्रहरी उपरीक्षक घिमिरे सफल भए पनि जिल्लाको सीमावर्ती नाकाबाट भने तस्करी अझै नरोकिएको विश्वस्त स्रोतले जनाएको छ।
स्रोतले दिएको जानकारी अनुसार जिल्ला प्रहरी कार्यालयमा एसपी घिमिरेको आगमनयता रौतहटको मुख्य नाका गौर भंसार क्षेत्रमा दिउँसो कड़ाई गरिएको देखिन्छ। सर्वसाधारणले सीमावर्ती क्षेत्रबाट सामान्य घरायसी सामान किनेर ल्याउँदा पनि गौर भंसारमा रहेका सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र भंसारका कर्मचारीले एकदम कड़ाईका साथ चेकजाँच गरेर सामान नियन्त्रणमा लिने गरेका छन्। तर भारतसँग सीमा जोड़िएका अन्य क्षेत्रबाट भने दिउँसो कड़ाई गरेको देखिएपनि राती १२ बजेपछि भने तस्करहरूले स्थानीय चौकी र चेकपोस्टको समन्वयमा दैनिक लाखौँको राजस्व छलि गरी अवैध रुपमा तस्करीका लत्ता कपड़ा, खाद्यान्न, चीनी, किराना सामग्री एवं मोटर पार्ट्स भित्र्याउने गरेका छन् ।
गौर मुख्य भंसार क्षेत्रमा कड़ाई गरेको देखिएपनि गौरको पूर्वी नाका बेलबिछवा र दक्षिणी पश्चिमी नाका महादेवपट्टी, बंजरहा, मठिया महुलिया नाकाबाट भने तस्करी जारी रहेको स्थानीय स्रोतको दाबी छ।
मठिया महूलियाबाट गुड्डू भन्ने व्यक्तिको कबाड़को काम जारी छ भने मोतिमले गर्ने कपड़ा तस्करी रुकेको छैन।
त्यस्तै बेलबिछवाबाट ब्रह्मदेव साह र सिंहासन सिंहले गर्ने रक्सीको अवैध पैठारी कार्य पनि जारी नै रहेको स्रोतले जनाएको छ।
महादेवपट्टी नाकाबाट निरज साह भन्ने तस्करले कुनै समय महादेवपट्टीको पश्चिम र कुनै बेला भंसारको पश्चिम हुँदै अवैध रुपमा कपड़ा ल्याई गिरधारीको कपड़ा गोदाममा भण्डार गर्ने र त्यहाँबाट नक्कली बिल बनाएर अन्यत्र पठाउने गरेका छन्।
तस्करहरूले विभिन्न नाकाबाट भंसार छलि गरी ल्याउने किराना, खाद्यान्न, चीनी, काजु लगायतका सामग्री भने नेपाल बैंक अगाडी रहेको गल्ली चप्पल गोदामको छेउमा भण्डारण गर्ने गरेका छन्।
जिल्लामा जस्तो सुकै ईमानदार र कड़ा प्रहरी नेतृत्व आएपनि तस्करी धन्धा कहिल्यै बन्द नगर्ने अर्का तस्कर हुन् बंजरहाका अमरजीत साह। अमरजीका आफन्त सशस्त्र प्रहरी बल नेपालमा कार्यरत रहेको भन्दै बिओपी बंजरहा र प्रहरी चौकी बजरहालाई प्रभावमा पारेर निर्वाध रुपमा तस्करी धन्धा चलाउने गरेको उच्च विश्वस्त स्रोतले जनाएको छ।
प्रायःजसो रातको १२ बजे पछिको समयमा अमरजीतले भारतीय सीमामा कपड़ा र चीनी भण्डारण गरी तयारी अवस्थामा राखी मौका पाउने बित्तिकै नेपाल भित्र्याउने गरेका छन्।
त्यस्तै अर्का तस्कर हुन् रौतहटकै मन्सरी निवासी “कान्छा”। कान्छा नेपालबाट भारतमा अवैध रुपमा गाई पैठारी गर्ने गरेका छन्। विभिन्न ठाउँबाट गरुडा हुँदै आफ्नो गाउँमा गाई ल्याउने र मौका पाउने बित्तिकै भारत सीमा कटाउने मामिलामा यिनी जिल्लाकै अग्रस्थानमा रहेका छन्। गाई तस्करी गरेरै अकूत सम्पत्ति जोडेका कान्छा आगामी निर्वाचनमा मेयरको चुनाव लड्ने तयारी समेत गरेको बताउने गरेका छन्।
यता जिल्ला प्रहरी प्रमुख एसपी घिमिरे भने जिल्लाबाट तस्करी भैरहेको भन्ने कुरालाई खण्डन गर्नु भएको छ। प्रहरी उपरीक्षक घिमिरे आफू ईमानदार एवं कर्तव्यनिष्ठ प्रहरी भएको दाबी गरेका छन् । उनले आफू आएसँगै तस्करी कार्यलाई नियन्त्रण गर्न आफ्नो दुई मात्र नभई चार वटा नेत्र नै खुल्ला राखेर कड़ा निगरानी बढाएकोले तस्करी भैरहेको कुरा मिथ्या भएको दाबी गर्छन्। जिल्लाका वर्तमान एसपी अन्य पूर्व एसपी जस्तो सोझो नरहेकोले मातहतका कसैले झुक्याएर तस्करसँग समन्वय गरेको पाइएमा त्यस्ता प्रहरीलाई अन द स्पोर्ट कारवाही गरिने बताउनु भयो।
















