Tuesday, April 30, 2024
घरपत्रपत्रिकाएसपीलाई झुक्याएर पर्साबाट तस्करी, तस्करसँग समन्वय गर्ने प्रहरी को हुन् ?

एसपीलाई झुक्याएर पर्साबाट तस्करी, तस्करसँग समन्वय गर्ने प्रहरी को हुन् ?

वीरगंज/ प्रहरी उपरीक्षक कुमोध ढुँगेलको आगमनपछि रोकिएको तस्करी लाईन पर्साको वीरगंज लगायत केहि नाकाबाट सुचारु भएको खबर प्राप्त हुन आएको छ।

सीमावर्ती क्षेत्रबाट हुने संस्थागत तस्करी नियन्त्रणमा एसपी ढुँगेल तदारूकता साथ लागेपनि उनका मातहतका प्रहरीले भने उनलाई झुक्याएर तस्करी कार्य संचालन गर्न सघाईरहेको खबर प्राप्त हुन आएको छ।

पछिल्लो पटक प्राप्त खबर अनुसार तस्करहरूले वीरगंजको इनरवा गाउँ, भकुवा-छपकैया, सिर्सिया, अलौं, भिस्वा नाकाबाट तस्करी शुरू गरेका छन्। पर्सामा एसपी ढूंगेलको आगमन अगाडीसम्म खुल्ला रहेको तस्करी लाईन उनको उनको आगमन यता बन्द भएपनि केहि दिन देखि भने सीमा क्षेत्रका चौकी र ड्यूटीमा रहेका प्रहरीको समन्वयमा सुचारु भएको खबर प्राप्त भएको छ।

प्राप्त जानकारी अनुसार वीरगंजको इनरवा गाउँस्थित बाँसघारी क्षेत्रबाट राती १२ बजे पछि बिहान ३:०० बजेभित्र राजस्व छलि गरि कपड़ा, चिनी, प्याज, काजु खाद्यान्न, मोटर पार्ट्स लगायतका सामान भित्र्याउन तस्करहरूको समूहले लाईन पाएका छन्।

यसरी लाईन पाउनेमा भिखर महतो, मुन्ना मियाँ, बिक्रम पटेल, जयलाल यादव, सुरेन्द्र साह तुरहा, विनोद महतो नुनियाँ रहेका छन्।

मुन्ना मियाँले इनरवा गाउँ हुँदै तस्करी गरेर ल्याएको सामान लाठ गल्लीमा भण्डारण गरेर राख्ने र त्यहाँबाट विभिन्न ठाउँमा पठाउने गरेका छन्। त्यस्तै जयलाल यादवले महिला भरियाहरू प्रयोग गरि इनरवा बांसघरी घुसकपुरको बाटो भइ चुरोट फैक्ट्रीको गल्ली हुँदै महावीर स्थानस्थित पम्पम बिल्डिंगमा ल्याई त्यहाँबाट गाँठ बनाएर विभिन्न ठाउँमा पठाउने गरेको स्रोतले जनाएको छ।

त्यस्तै सुरेन्द्र साह तुरहाले नेपालबाट रक्सी भारतमा पठाउने र भारतबाट कपड़ा र काजु ल्याउने गरेको बताइन्छ। तुरहाले भंसार छलेर अवैध रुपमा ल्याउने काजु व्यवसायी प्रकाश अग्रवालको गोदाममा दिने गरेका छन् भने विनोद महतो नुनियाँले तस्करी गरि ल्याउने रेडीमेड कपड़ा, स्टेशनरी तथा बैरिङ लगायतका सामान लाठ गल्लीमा भण्डारण गर्ने र त्यहाँबाट बजारमा पठाउने गरेको स्रोतले जनाएको छ।

त्यस्तै दशगज्जा क्षेत्रमा प्रहरी चौकी इनरवाको नाकै मुनि संचालित भट्ठी पसल संचालक मध्ये शम्भु रामले नेपालबाट भारतमा रक्सी पठाउने गरेको खबर जानकारीमा आएको छ।

त्यस्तै शम्भु दास, मनान मियाँ, दिनेश साह लगायतले सीमा प्रहरी चौकी छपकैयाँ, प्रहरी चौकी भकुवा र बिओपी सिर्सियालाई मिलाएर तस्करी गरिरहेका छन्।

यी तस्करहरुलाई सो क्षेत्रका प्रहरी चौकी प्रमुख र ड्यूटीवाल प्रहरीले व्यक्तिगत रुपमा पटके लाइन दिएपछि दैनिक लाखौँ राजस्व चुहावट हुने गरेको बताइन्छ।

तस्करहरूलाई लाइन मिलाइदिन जिल्ला प्रहरी कार्यलय अन्तर्गतका टाइगर टोली प्रमुख प्रहरी सहायक निरीक्षक कृष्ण राई, लामो समय देखि पर्सा जिल्लामा घुमुवा रहेर तस्कर तथा अवैध कारोबारीहरूसँग परिचित सप्रह उमेश यादव, प्रह मोहन यादव, वडा प्रहरी कार्यालय बिर्ताका घुमुवा अनरुद्ध यादवलगायतले तस्करहरूसँग समन्वय गरिदिने गरेका छन्। जिल्ला प्रहरी प्रमुख वा जिल्ला प्रहरी कार्यालयबाट निस्किने छड़के टोलीका बारेमा समेत सप्रह उमेश यादवले सूचना चुहावट गरेर तस्करहरूलाई सचेत गराउने काम समेत गर्दै आएको स्रोतले जनाएको छ।

पर्सा प्रहरी, सशस्त्र प्रहरी बल नेपालले वीरगंका भित्री भाग एवं वीरगंजबाट निस्केर बारा, मकवानपुर पुगेका गाडीबाट तस्करीको सामान दिनहुँजसो बरामद हुनुले पनि पर्साका सीमावर्ती क्षेत्रबाट राजस्व छलि तस्करी भैरहेको पुष्टी गर्दछ।

पर्साबाट आफ्नै मातहतका चौकी र प्रहरीको संरक्षणमा तस्करी भैरहेको सन्दर्भमा एसपी कुमोध ढुँगेल बेखबर हुनुले पनि अनेक आशंका पैदा गरेको छ। यद्यपि पर्सामा लामो समयदेखि घुमुवाको रुपमा कुख्याति कमाएका प्रहरीहरुले यसरी राजस्वमारा तस्करहरूलाई सघाउन थालेपछि पर्सा जिल्ला प्रहरी प्रमुख कुमोध ढुँगेलको शान्ति सुरक्षा, तस्करी तथा अवैध कारोबार नियन्त्रण जस्ता लक्ष्य असफल हुने संकेत देखा परेको छ।

 

अर्को के पढ्ने...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img
- Advertisment -