परासी । नवलपरासी (पश्चिम)बाट तस्करी ब्यापक रुपमा बढेको छ । भारतसँग सीमा जोडिएका परासीका महेशपुर, भुजहवा, रामनगर, गेर्मी र बेलाटारीबाट ब्यापकरुपमा माछा, खसीबोका लगायतको तस्करी बढेको हो । जसको ज्वलन्त उदाहरण गएको शनिबार (मंसिर ९) मा रुपन्देहीको धकधईमा बरामद माछालाई नै लिन सकिन्छ । परासीको रामनगर नाकाबाट तस्करीको माछा बोकेर गएको लु २ च ८५४६ नम्बरको बोलेरो धकधईमा बरामद भएको थियो ।
जयनूल मुसलमानले उक्त माछा घुमुवाहरुको सेटिङमा लगेका थिए । रामनगरबाट धकधई जाँदा जिल्ला प्रहरी कार्यालय परासीसहित १२ प्रहरी कार्यालयहरु रहेका छन् । जिल्ला प्रहरी कार्यालय परासीकै अगाडिबाट तस्करीको माछा लैजाँदा चेकजाँच नहुनुले पनि सेटिङमा भन्सारछलीका सामान कसरी पास हुन्छन् भन्ने छर्लङ्ग भएको छ । ब्यापारी जयमूलले माछा बरामद भइसकेपछि ‘घुमुवा सरहरुको स्कर्टिङमा ल्याएको पोल खोलेको स्रोतले बताएको छ ।
१२ वटा प्रहरी कार्यालय पार गरेपछि धकधईमा माछा बरामद भएको बिषयमा उजुरी परेपछि प्रहरी महानिरीक्षकको सचिवालयले छानबिन गर्न लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई पत्राचार गरिसकेको छ । धकधईमा माछा बरामद एक प्रतिनिधि घटना हो, परासीका यी ५ वटा नाकाबाट यसैगरी तस्करी मौलाएको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवपरासीका प्रहरी प्रमुखमा एसपी काजीकुमार आचार्य छन् । उनी प्रहरी निरीक्षक हुँदादेखि नै इमान्दार भनेर चिनिन्छन् । जागिरमा प्रवेश गरेदेखि नै प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखामा कार्यरत उनले एसपी बढुवा भएपछि मात्र जिल्लाको कमाण्ड गर्ने अवसर पाएका हुन् । उनी आर्थिक मामिलामा नमुछिए पनि कमाण्ड कमजोर भएको र बर्षौदेखि कार्यरत र दबरन्दी अन्यत्र भएका विवादित घुमुवाहरुलाई काजफिर्ता गर्न नसकेको आरोप उनीमाथि छ । आफैं कर्मचारी प्रशासनमा लामो अवधि बसेका उनले हेडक्वाटरको परिपत्र अनुसार दरबन्दीमा पठाएका छैनन् । काजमा कार्यरत तिनै घुमुवाहरुको कनेक्सनमा तस्करी बढेको र राजस्व असुली कम हुँदा एसपीप्रति प्रश्न सोझिएको छ ।
जिल्ला प्रहरी कार्यालयले सहायक हवल्दारहरु किरण कुँवर र प्रदीप गुप्तालाई घुमुवाका रुपमा खटाएको छ । प्रदीप यादवको दरबन्दी गुल्मीमा हो । यी पनि परासीमा लामो समयदेखि तस्करहरुको सेटिङमै सामान वारपार गराउन तल्लीन रहँदैआएका छन् ।
परासीका भारतसँग जोडिएका पाँच नाकामध्ये बेलाटारीमा इन्स्पेक्टरको दरबन्दी छ । जहाँ इन्चार्ज छन् प्रहरी निरीक्षक श्यामप्रकाश यादव । भुजहवामा सईको दरबन्दी छ भने रामनगर र गेर्मीमा असईको । भुजहवामा सई रामबहादुर बिष्ट इन्चार्ज छन् भने गेर्मीका इन्चार्ज असई बृजेश सहनी, रामनगरमा पुरन केवट छन् ।
९ बर्ष अख्तियार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बसेर आएको हुँ, कसैले पनि केही गर्न नसक्ने भन्दै भुजहवाका सई बिष्टले तस्करहरुलाई लाइन दिएर असुली गरिरहेको स्रोत बताउँछ । रामनगरका पुरन केवट १३–१४ बर्षदेखि कार्यरत छन् परासीमा । प्रायः सधैंजसो कहिले जिल्ला त कहिले सीमानाकामा खटिने केवटको तस्करहरुको संजालका जानकार मानिन्छन् ।
बेलाटारीका इन्स्पेक्टर श्यामप्रकाश यादवले सहायक हवल्दार रमेश यादवलाई घुमुवा राखेका छन् । यादव ९ बर्षदेखि परासीमा कहिले जिल्लाको त कहिले बेलाटारीको घुमुवामा कार्यरत रहेका छन् । रमेश यादवको दरबन्दी दरबन्दी परासीकै जर्गाहा हो । प्रहरी प्रधान कार्यालयले दरबन्दीमा पठाउन दिएको निर्देशनलाई समेत उल्लंघन गरी उनलाई घुमुवामा तैनाथ गरी तस्करहरुसँग सेटिङमा परिचालन गरिएको छ ।
गेर्मीका असई सहनीले सहायक हवल्दार ओमप्रकाश यादवलाई घुमुवा राखेका छन् । ११ बर्षदेखि परासीमा घुमुवामा कार्यरत छन् ओमप्रकाश । परासीका एसपी मनोज यादवका पालादेखि उनी घुमुवा हुन् ।