Tuesday, June 18, 2024
घरविचारधर्म संस्कृतिनवरात्रको नवौं दिन: सिद्धिदात्री देवीको उपासना गरिँदै

नवरात्रको नवौं दिन: सिद्धिदात्री देवीको उपासना गरिँदै

काठमाडौँ। नवरात्रको आज नवौं तथा अन्तिम दिन। आज विशेषगरी दुर्गाको नवौं स्वरुप सिद्धिदात्री देवीको पूजाआराधना गरिन्छ।

नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरीको पूजाआराधना गरिएको थियो।

महाअष्टमीका दिन हातहतियार, मेसिन र सवारीसाधनको पूजा नगरेकाहरूले आज बलीसहित विश्वकर्माको पूजा गर्ने गर्छन्। आजै नवदुर्गाको प्रतिकको रुपमा नौ कन्याहरूको पूजासमेत गरिन्छ। कुमारी, त्रिमूर्ति, कल्याणी, रोहिणी, काली, चण्डिका, शाम्भवी, दुर्गा र सुभद्राको स्वरुपमा नौ कन्याको पूजा गरिन्छ।

आज नेपाली सेनालगायत सुरक्षा निकायले कोतमा रहेको हातहतियारको र निशानको पूजाआजा गरी हर्षबढाइँ गर्ने परम्परा छ। नेवार समुदायमा महानवमीकै दिन भीमसेनको पूजा गरी बली दिने परम्परा छ।

देवीको बिसर्जन दशमीका दिन मात्र हुने भएकाले नवमीका साँझ पनि सधैँको जस्तो विधिले देवीको एवं स्थापित देवताहरूको पूजा गर्नुपर्छ।

सिद्धगन्धर्वयक्षाद्यैः असुरैरमरैरपि ।

सेव्यमाना सदा भूयात् सिद्धिदा सिद्धिदायिनी ।।

सिद्ध, गन्धर्व, यक्ष, असुर, देवता आदिले सिद्धिप्राप्तिको लागि सिद्धिदात्रीको आराधना गर्ने गर्छन् । कमलको फूललाई आफ्नो आसन बनाएकी देवी सिद्धिदात्रीको हातमा कलमको फूल, शंख, चक्र, गदा रहेको छ । अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व तथा वशित्व नाम गरेका अष्ट सिद्धिहरू यीनै देवीको कृपाबाट पाइने शास्त्रहरूमा उल्लेख गरिएको छ ।

नौ दिनसम्म आह्वान गरेर घरघरमा पूजा गरेको नवदुर्गाको दशमीका दिन बिसर्जन गरिन्छ ।

नवरात्रभर देशका विभिन्न शक्तिपीठहरूमा दर्शन गर्न भक्तजनको घुईँचो लाग्ने गर्छ। आज बिहानैदेखि देशका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्दछ। उपत्यकाको गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकाली, पर्साको वीरगंज स्थित गहवामाई, बिर्तामाई, बिन्दवासिनी, बाराको गढ़ीमाई, रौतहटको राजदेवीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना गरिँदै छ।

नवरात्रमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि पूजा आराधना गरिन्छ। यस्तो उपासना घटस्थापना गरी जमरा राखिएका दशैंघर तथा शक्तिपीठहरूमा चल्ने गर्दछ। यो समयमा देवीभागवत महापुराण तथा दुर्गा सप्तशती चण्डी पाठ गरिन्छ।

यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ। यो १५ दिनको समयलाई दुर्गा पक्ष पनि भनिन्छ। पूजा कोठा वा दशैं घरमा नवरात्रभर दुर्गा देवीको आरधना गरिन्छ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -