Sunday, April 21, 2024
घरविचारधर्म संस्कृतिआज घरघरमा फूलपाती भित्र्याइँदै

आज घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौं । दशैंको सातौं दिन आज फुलपाती। सप्तमी तिथिमा पर्ने यस दिन हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशैंको महत्वपूर्ण दिन पनि हो। घटस्थापनाका दिन राखिएको जमरा र फुलपातीलाई आज दशैंघरमा भित्र्याईन्छ।

सप्तमी तिथिको दिन दशैंका लागि पूजा सामग्री स्वरुप फूलपाती आगमनमा प्रवेश गराउने गरिन्छ। घटस्थापनाको दिनदेखि नै दशैं सुरु भए पनि दशैंको चहलपहल भने आज अर्थात फूलपातीदेखि सुरु हुन्छ। घर–घरमा फूलपाती भित्र्याएपछि दशैंको रौनक सुरु हुन्छ । शास्त्रिय विधी अनुसार शुभ साइतको प्रतिक मानेर फूलपाती भित्र्याइने गरिन्छ।

वर्षा ऋतु सिद्धिएर शरद ऋतुको स्वागतका लागि नयाँ पालुवाहरू घरमा भित्र्याउँदा घरभित्र रहने रोग वृद्धिकारक जीवांश (भाइरस, ब्याक्टेरिया) र विभिन्न प्रकारका नकारात्मक कीटाणु र जीवाणुहरू औषधीय पालुवाको प्रभावले घरमा रहन सक्दैनन्।

यस दिन सदर टुँडिखेलमा बढाइँ भएपछि फूलपाती स्वरूप उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ। यी नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ।

यी नौ पातमा क्रमशः ब्रह्माणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरी आवाहन गरेर सोह्र सामग्रीले पुजिन्छ।

यहाँनेर यस तथ्यलाई पनि सम्झनु आवश्यक छ कि इन्द्र, शिव, विष्णु एवं श्रीरामले वृतासुर, त्रिपुरासुर, मधुकैटभ तथा रावण वधको लागि क्रमैसँग नवरात्र व्रत गरेका थिए। यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ।

किसानहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन्। कालरात्री देवीको पूजा अर्चना गरिनुका साथै नेपालीका घरघरमा फुलपाती भित्र्याईन्छ।

फूलपातीको प्रचलन र महत्त्वबारे केही कथन प्रचलित छन्। काठमाडौको वसन्तपुरमा भने गोरखा दरबारको दसैंघरबाट ल्याइएको फुलपाती परम्परा अनुसार नै भित्र्याईंदै आएको छ। गोरखाबाट धादिङको जीवनपुर हुँदै काठमाडौंको जमलसम्म ल्याइएको फूलपातीलाई नेपाली सेना तथा प्रहरीको पल्टन, निजामती उच्चपदस्थ कर्मचारीहरू, आशागुर्जा टोली, ब्याण्डबाजा, पञ्चेबाजा सहित सिंगारिएका कलस्यौलीहरू, सांस्कृतिक झाँकी र पाँचजना गुरु पुरोहितको समूहले हर्ष बढाईंका साथ बसन्तपुर हनुमानढोकास्थित दशैंघरमा भित्र्याउँने परम्परा रहिआएको छ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्यान्डबाजा, पञ्चेबाजा, सिङ्गारिएका कल्स्यौंडी र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ। राजतन्त्र रहुन्जेल हनुमानढोका दरबारको दसैंघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्रको स्थापनापछि भने संस्कृति मन्त्री उपस्थित हुने गरेको छ।

अर्को के पढ्ने...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -