काठमाण्डौ/ प्रहरीले नक्कली मुद्रा र नक्कली सुनसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाण्डौले दिएको जानकारी अनुसार काठमाण्डौ-३ बसुन्धारास्थित वडा क्षेत्रका विभिन्न स्थानमा नक्कली सुन एवं मुद्राको अवैध कारोबार हुने गरेको गोप्य खबर प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले का.जि. का.म.न.पा. वडा नं. ३ बसुन्धाराबाट गोरखा आरुघाट-१० घर भएको बर्ष ४८ को दुर्गा बहादुर खत्री क्षेत्री एवं भारत लखनउ स्थायी घर भई हाल का.जि. का.म.न.पा. वडा नं.१० बस्ने वर्ष ४५ को विनय कुमार सिंहको साथबाट नक्कली नेपाली र भारतीय मुद्रा फेला पारे पछि नियंत्रणमा लिएको छ।
पक्राउ परेकाहरूसँग सोधपुछको क्रममा प्रहरीले नागार्जुन न.पा. वडा नं. २ सानोभर्याङ स्थितमा रहेको दुर्गा बहादुर खत्री क्षेत्रीको कोठा खानतलासी गर्दा २००० दरको भारतीय नक्कली नोट जस्तो देखिने नोट थान-४, १००० दरको नेपाली नक्कली नोट जस्तो देखिने नोट थान-६, ५०० दरको भारतीय नक्कली नोट जस्तो देखिने नोट थान-४, 1 Kilo FINE GOLD लेखिएको सुनजस्तो पहेलो धातु थान-२, 10 g FINE GOLD 999.9 लेखिएको सुन जस्तो पहेँलो धातु राखिएको QR कोड राखिएको प्याकेट थान-२००, 10 g FINE GOLD 999.9 लेखिएको सुन जस्तो पहेँलो धातुका टुक्रा थान-२०, सुनजस्तो पँहेलो धातुको टुक्रा राख्न प्रयोग गर्ने प्लास्टिकको पत्ता थान-१००, बागमती प्रदेश-०२-०४१ प ९८८५ नम्बरको २२० सि.सि. को पल्सर मोटरसाइकल थान-१, लेमिनेसन मेसिन थान-१, मोबाइल थान २, फेला परेको हुँदा सामानहरु सहित बरामद गरी मुद्रा सम्बन्धी कसुर मुद्दामा सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त महाराजगंजबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी परिसर काठमाण्डौले ज़नाएको छ ।