काठमाडाैँ/नागरिक उन्मुक्ति पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य अरुण चौधरी आइतबार जेलमुक्त हुँदैछन्।
२०६६ सालको घटनामा २०७० सालमा दोषी ठहर भइ उनी जेल चलान भएका थिए। सांसद चाैधरी सरकारकाे सिफारिसमा जेलमुक्त हुन लागेका हुन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट बाँकी कैद माफी मिनाहा पाएका हुन्।
राष्ट्रपति भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरिदिएकी छन्।
सांसद चाैधरी माघ १९ गते पक्राउ परेका थिए। उनीसहित कैलाली जिल्ला अदालतबाट आइतबार ४ जना कैदीबन्दी रिहा हुँदैछन्।
अरुण कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
चाैधरी ट्र्याक्टर आगजनीको मुद्दामा १२ वर्षअगाडि नै दोषी ठहर भएका थिए। फरार सूचीमै रहेका बेला उनी चुनाव लडेका थिए।
२०६६ भदौ ३ गते आफ्नो लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा महादेव बजगाईंले अरुण चौधरीसहित पर्शराम चौधरी र वीरबहादुर चौधरीलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए।
याे मुद्दामा २०७० वैशाख ९ गते फैसला सुनाउँदै अदालतले तीनजनालाई ६ महिना कैद सजाय सुनाएको थियो।












