झापा। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाहलाई साथमा मञ्चमा राखेर तथा आफ्नो नयाँ अभियान सुरू गरेका छन्।
प्रसाईंले सुरु गरेको “विकृतिविरुद्धको अभियान”कार्यक्रममा पूर्वराजा शाहसँगै उनकी छोरी प्रेरणा र छोरा पारस पनि सहभागी भएका हुन्।
झापाको काँकरभिट्टामा कार्यक्रमको आयोजना गरिएको हो। उक्त अभियान पूर्वराजा ज्ञानेन्द्र शाहले आज उद्घाटन गरेका हुन्।
राष्ट्रिय झण्डा बोकेर सर्वसाधारण उपस्थित भएका छन्। कार्यक्रममा राजतन्त्र पक्षधरहरूको भने उल्लेख्य उपस्थिति छ।
प्रसाईँ संयोजक रहेको ‘महाभियान’को उद्घाटन कार्यक्रममा पूर्वयुवराज पारस र पूर्वअधिराजकुमारी प्रेरणा शाह समेत सहभागी थिए।
तर पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी उपस्थित थिएनन्।
प्रसाईँले केही दिनअघि पूर्वराजपरिवारलाई भेटेरै उनको संयोजकत्वमा आयोजना गरिने उक्त अभियानको आरम्भको कार्यक्रमका लागि निमन्त्रणा दिएका थिए।
हाल पूर्वराजपरिवारका सदस्यहरू झापाको दमकस्थित आफ्नै स्वामित्वमा रहेको निवासमा छन्।
प्रसाईँ संयोजक रहेको कार्यक्रमको उद्घाटन गरेर पूर्वराजपरिवारका सदस्यहरू कार्यक्रमस्थलबाट बाहिरिएका थिए। प्रसाईँको मन्तव्य दिँदा पूर्वराजपरिवारका सदस्यहरू त्यहाँ थिएनन्।अस्पताल सञ्चालक दुर्गा प्रसाईँ एमालेका केन्द्रीय सदस्य हुन्। यसअघि उनी माओवादी पार्टीसँग आबद्ध थिए। एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनले ‘हजुरबा’ भन्छन्।
तर आफ्नो भनाइ राख्ने क्रममा प्रसाईँले “यस्तो गणतन्त्र किन चाहियो?” भनेका थिए।
“धर्म मास्ने, युवा वर्गलाई खाडी मुलुकका तातो घाममा पठाउने गणतन्त्र हामीलाई चाहिँदैन।”
पूर्वराजा ज्ञानेन्द्र शाहले भने कार्यक्रममा बोलेनन्। शाह कार्यक्रमस्थलमा आउँदा राजतन्त्रको पक्षमा नारा लगाइएको थियो।
प्रसाईँको कार्यक्रम पूर्वराजा शाहले उद्घाटन गरिरहँदा एमाले अध्यक्ष ओली पनि झापामै थिए।
ओलीले सोमवार बिहान मात्र गौरादह नगरपालिकाको एउटा नवनिर्मित पुल उद्घाटन गरेका थिए तर आफ्नै पार्टीका केन्द्रीय सदस्यको कार्यक्रममा गएनन्।