काठमाडौं । धरान उपमहानगरपालिकाले सार्वजनिक जग्गामा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन डोजर चलाएको छ ।
आज आइतबार धरान ५ स्थित देउरालीमा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर बनाएपछि उपमहानगरले डोजर चलाएको छ । डोजर चलाउने क्रममा सुरक्षाकर्मी र स्थानीयबासिन्दा बीच झडप भएको छ ।उक्त विषयलाई लिएर झडप हुँदा उपमहानगरको डोजरको सिसा फुटेका छन् भने केही व्यक्ति सामान्य घाइते भएको प्रहरीको भनाइ छ ।
धरान ५ सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर निर्माण गरेको भन्दै धरान उपमहानगरपालिकाले आइतबार बिहान मुना चौधरी लिम्बूले बनाएको घर भत्काएको हो ।धरान-५ को खारखोला र अधेरी खोलाको संगम स्थलमा बहुजातीय रंगशाला बनाउने धरान उपमहानगरले निर्णय गरेको थियो । उक्त क्षेत्रमा एक तले पक्की घर निर्माण गरिएपछि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी अतिक्रमित जग्गा खाली गराइएको नगरप्रमुख हर्क साम्पाङले बताए । उपमहानगरले घर निर्माण नगर्न पटकपटक पत्राचार समेत गर्दा अटेर गरी घर निर्माण गरेको आरोप लगाएको छ । उक्त कारणले आज डोजर चलाइएको हो।
पहिला देखिनै उक्त जग्गाको भोगचलन गर्दै आएको भन्दै स्थानीयले खोलाको भाग सीमांकन गर्नुपर्ने माग राखेका थिए ।५ नम्बर वडा कार्यालयलाई विपक्षी बनाएर परेको निषेधाज्ञा मुद्दामा माघ ६ गते अधिवक्ता द्वय माधव प्रसाद कोइराला र प्रकाशराज ओझाको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्न नपर्ने आदेश जारी गर्नुपर्ने भए सो को आधार र कारण खुलाउन १५ दिनको म्याद सहित आदेश जारी गरेको थियो ।