Wednesday, September 11, 2024
घरक्राइम चेकसप्तरीबाट पनि तस्करी शुरू

सप्तरीबाट पनि तस्करी शुरू

काठमाडौं । चुनाव सकिएलगत्तै सशस्त्र प्रहरीमा खराब अफिसरमाथि छानबिन र कारबाही तिव्र पारिएको छ ।

खासगरी तराईको जिल्लामा तस्करीको लाइन खुलाउने गणपति तथा बिओपी इन्चार्जहरुमाथि सशस्त्र प्रहरी मुख्यालयले कारबाही अघि बढाएको छ । मुख्यालयले हालै १२नं. गण बाराका एसपी राजेन्द्र थापा, १३ नं. गण पर्साका एसपी तेज प्रसाद पोखरेल र २३नं. गण पश्चिम नवलपरासीका एसपी रुपकुमार क्षेत्रीलाई मुख्यालय तानेर छानबिन थालेको छ । स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि उनीहरुलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले तानेरै छानबिन थालेको स्रोत बताउँछ ।

यसैगरी मुख्यालयबाट एसपी टोपबहादुर डांगी, उद्धव रावल, डिसपी सुदिप रेग्मी, इन्सपेक्टर नवराज काफ्लेको टोलीले दिएको प्रतिवेदनका आधारमा उनीमाथि विस्तृत छानबिन सुरु भएको हो । स्रोतका अनुसार प्रारम्भिक छानबिनमा उनीहरुले तस्करीको लाइन खुलाएको पुष्टि भएको छ । थप छानबिन प्रतिवेदनका आधारमा उनीहरुमाथिको विभागीय कारबाही तय हुने छ ।

त्यस्तै, पर्साको तस्करीको मुख्य नाकाहरू मध्येको एक बोर्डर आउट पोस्ट अलौंका निमित्त प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक एकराज चौलागाईँ र तस्करीको अर्को मुख्य नाका अमरपट्टी स्थित बिओपीका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक श्याम मगरातीलाई पनि तस्करीको लाइन दिएको साथै आर्थिक अनियमितता लगायतको आरोपमा हेडक्वार्टर तानिएको बताइन्छ।

बिओपी बरैनिया बाराका इन्सपेक्टर सुमन ढुंगाना तथा नवलपरासीका केही बिओपी इन्चार्जमाथि समेत बिस्तृत छानबिन सुरु भएको सशस्त्र मुख्यालय स्रोत बताउँछ । तराईका एक दर्जन बिओपी इन्चार्जहरुविरुद्ध प्रमाणसहित मुख्यालयमा उजुरी परेको छ । चुनावको मौका छोपी विभिन्न नाकाबाट तस्करी मौलाएको हो ।आर्थिक अनियमिततामा संलग्न इन्चार्जमाथि सशस्त्र प्रहरी नेतृत्व निर्मम बनेपछि सशस्त्र प्रहरीभित्र तरंग उत्पन्न भएको छ । नेताहरुलाई पैसा बुझाएर तराईका गण तथा बिओपी पुगेका अधिकृतहरु त्रसित बनेका छन् । यद्यपि, केहीले भने धन्दा जारी नै राखेका छन् ।सप्तरीको विभिन्न नाकाबाट फेरि तस्करी मौलाउन थालेको छ । गत महिना मात्र सप्तरी गएका एसपी तीर्थ पौडेलले विगत १० वर्षदेखि सप्तरीमा कार्यरत असइ नुनु मण्डललाई घुमुवा राखेर लाइन खोलेको स्रोतले बताएको छ ।

यसैगरी, तिलाठी बिओपीबाट इन्सपेक्टर कृष्णकुमार भण्डारीले पनि घुमुवा परिचालन गरेका छन् । वरिष्ठ हबल्दार राजन खड्कालाइ उनले घुमुवा राखेका हुन् । तिलाठी नाकाबाट वीरेन्द्र मण्डलले सशस्त्र प्रहरीसँगको मिलेमतोमा माछा, विश्व मेहताले रक्सी, ललन मण्डलले बिंडी र कपडाको तस्करी गर्दै आएको स्रोत बताउँछ । सशस्त्रमा घुमुवा नराख्न निर्देशन दिइएपनि कार्यान्वायन हुनसकेको छैन ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -