Saturday, February 8, 2025
घरक्राइम चेकआफैँलाई मत हाल्न नपाउने उम्मेदवारहरू

आफैँलाई मत हाल्न नपाउने उम्मेदवारहरू

काठमाडौँ/आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा केही उम्मेदवारले आफैलाई मत दिन नपाउने भएका छन्। भोट दिन नपाउनेमा तीन वटा राजनीतिक दलका अध्यक्ष, विभिन्न दलका शीर्ष नेतादेखि अन्य उम्मेदवार छन्।

प्रतिनिधिसभा सदस्यका उमेदवार एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्र बहादुर केसीले आफैलाई भोट दिन पाउने छैनन्।

भक्तपुर बालकोटमा मतदाता नामावलीमा नाम भएका ओली झापा क्षेत्र नम्बर ५का एमाले उम्मेदवार छन्। चितवन क्षेत्र नम्बर ३ मा मतदाता नामावली नाम भएका प्रचण्ड गोरखा २ बाट उम्मेदवार बनेका कारण उनले पनि आफैलाई मत दिन नपाउने भएका हुन्। जनमोर्चा अध्यक्ष केसी बागलुङ १ बाट चुनावी मैदानमा छन् उनको भोटर लिस्ट बागलुङ २ मा छ।

बागलुङ २ का माओवादी उम्मेदवार देवेन्द्र पौडेलको मतदाता नामावलीमा नाम पनि बागलुङ १ मा छ।

सत्ता गठबन्धनको समर्थनमा उठेका केसी र पौडेल दुबैको विपरीत क्षेत्रमा नाम भएका कारण आफूलाई भोट दिन नपाउने भएका हुन्। काठमाडौँ क्षेत्र नम्बर २ की माओवादी उम्मेदवार ओनसरी घर्तीले पनि आफूलाई भोट दिन नपाउने भएकी छन्। घर्तीको नाम रोल्पा जिल्लाको माडीचौरमा छ।

निर्वाचन कानुनअनुसार मतदाता नामावलीमा नाम समावेश भएका क्षेत्रबाट मात्र मतदान गर्न पाउने व्यवस्था छ।

त्यसैअनुसार मतदाताले निर्वाचनका दिन आफ्नो अधिकार प्रयोग गर्छन्। टिकट बाँडफाँट तथा आफ्नै रुचिका कारण आसन्न निर्वाचनमा केही नेताहरुको निर्वाचन क्षेत्र परिवर्तन भएको छ। निर्वाचन क्षेत्र परिर्वतन गर्ने अर्का उम्मेदवारमा लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्ण पनि हुन्।

कर्ण पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् भने मतदाता नामावालीमा उनको नाम पर्सा–४ मा छ। सिन्धुपाल्चोक २ मा कांग्रेसका उम्मेदवार मोहन बस्नेत पनि आफैलाई भोट दिनबाट बन्चित हुनेछन्। मतदाता नामावालीमा उनको नाम सिन्धुपाल्चोक १ मा छ।

निर्वाचन कानुन अनुसार मतदाता नामावली भएकै क्षेत्रमा मतदान गर्नुपर्ने हुँदा यी उम्मेदवारहरु आफैलाई भोट हाल्न नपाउने भएका हुन्।

मोरङ क्षेत्र नम्बर ४ का माओवादी उम्मेदवार अमनलाल मोदीले पनि आफैलाई भोट दिन पाउँदैनन्। मतदाता नामावलीमा उनको नाम मोरङ क्षेत्र नम्वर ६ मा छ। काठमाडौँ क्षेत्र नम्बर ५ मा कांग्रेसका उम्मेदवार प्रदीप पौडेलको मतदाता नामावालीमा नाम तनहुँ–२ मा भएको कारण पौडेल पनि सोही दिन तनहुँ पुग्न असम्भव छ।

मकवानपुर२ बाट उठेका एकीकृत समाजवादीका उम्मेदवार विरोध खतिवडाको मतदाता नामावलीमा नाम मकवानपुर १ मा छ। मकवानपुर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार कांग्रेस नेतृ डिना उपाध्यय महालक्ष्मीको भोट दिने अधिकार भने क्षेत्र नम्बर २ मा छ।

वीरबहादुर बलायर कैलाली क्षेत्र नम्बर ४मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार छन्। बलायरको मताधिकार डोटी जिल्ला शिखर नगरपालिका वडा नम्बर ८ मा छ।

झापा क्षेत्र नम्बर १ मा एमाले उम्मेदवार अग्नि खरेलको मतदाता नामावलीमा नाम झापा–२ मा छ। झापा क्षेत्र नम्बर ३ मा कांग्रेस उम्मेदवार कृष्ण सिटौलाको मतदाता नामावलीमा नाम क्षेत्र नम्बर १ मा छ। यस्तै झापा क्षेत्र नम्बर ५ का स्वतन्त्र उम्मेदवार यग पाठकको मताधिकार काठमाडौँ ८ मा छ।

काठमाडौँ क्षेत्र नम्बर ६ का एमाले उम्मेदवार सर्वेन्द्र खनालको मतदाता नामावलीमा नाम काठमाडौँ ५ मा छ।

कानून बनाउने तहका जनप्रतिनिधि छान्ने भएकाले फरक निर्वाचन क्षेत्र भए पनि खासै फरक नपर्ने उम्मेदवारहरु बताउँछन्।

प्रदेश सभा सदस्यका केही उम्मेदवारको अवस्था पनि यस्तै छ।

स्थानीय तह निर्वाचनमा भने मतदाता नामावली भएकै स्थानबाट उम्मेदवारी दिनुपर्ने व्यवस्था छ ।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको हकमा भने जहाँबाट पनि उम्मेदवारी दिन पाउने लचकता छ। तर भोट खसाल्न भने आफ्नो नामावली भएकै क्षेत्रमै पुग्नुपर्ने हुन्छ। चुनावमा एक भोटको पनि धेरै महत्व हुने हुँदा उम्मेदवार आफूले आफैँलाई भोट दिन नपाउँदा थोरै मतान्तरले पराजित हुने अवस्था पनि आउन सक्छ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -