वीरगंज/भारतबाट अवैध रुपमा भित्र्याउँदै गरेको १५ हजार थान फर्जी मतपत्रसहित एक जना भारतीय नागरिकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
छिमेकी मुलुक भारतसँग सीमा जोडिएको पर्साको जानकीटोला नाकाबाट भित्र्याइएको ठूलो परिमाणको फर्जी मतपत्रसहित भारत बिहारको नरकटिया ग्राम पञ्चायत वडा नम्बर १४ घर भएका ४० वर्षीय इजाजत अहमदलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले जनकारी गराउनु भयो।
भारत बिहारबाट बीआर २२ डब्लु ८००२ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा मतपत्र बोकेर जानकीटोला नाका हुँदै मङगलबार छिरेका अहमदलाई जानकीटोलाको दसौता क्षेत्रमा खटिएको प्रहरीले पक्राउ गरेको प्रनाउ पर्साका प्रहरी गिरीले बताए ।
नेपालमा मंसिर ४ मा हुन गइरहेको निर्वाचनका लागि भारतमा छापिएको मतपत्र गैरकानूनी रुपमा नेपालमा भित्र्याउँदै गरेको अवस्थामा पक्राउ परेका अहमदलाई इलाका प्रहरी कार्यालय पोखरीयाको हिरासतमा राखिएको गिरीले बताए ।
प्रनाउ गिरीले भने, ‘कुन दल वा कुन उम्मेदवारको लागि अहमदले त्यति धेरै मतपत्र भारतबाट ल्याएका हुन् ? यस बारे केही खुल्न नसकेको र सो सम्बन्धमा अनुसन्धान भैरहेको बताउनु भयो ।’
पक्राउ परेका अहमदलाई कुन कानून अन्तर्गत कस्तो करवाही हुने भन्ने विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र प्रमुख जिल्ला अधिकारीज्यू सँग समन्वयपछि क्लियर हुने प्रनाउ गिरीले बताउनु भयो।