बिराटनगर । मोरङ प्रहरीले भन्सार छली तस्करीलाई खुल्ला छुट दिएको छ । प्रहरीकै संरक्षणमा मोरङका सीमानाकाबाट तस्करी बढेको छ ।जिल्ला प्रहरी कार्यालय मोरङका एसपी शान्तिराज कोइरालाले बिराटनगरका विभिन्न कारोबारीहरुबाट दस्तुरी संकलनका लागि घुमुवा परिचालन गरेका छन् । असईबाट प्रहरीमा भर्ना भएका एसपी कोइराला बढीमा एसएसपीसम्म मात्र हुने भएकाले उनी क्यारियर भन्दा पनि समृद्धितिर बढी आसक्त भई देश निर्वाचनमा होमिएका बेला कमाउधन्दामा लिप्त भएको आरोप छ । त्यही नीति अन्तर्गत उनले दरबन्दी अन्यत्रै भएका प्रहरीलाई एसपी कोइरालाले घुमुवा राखी अतिरिक्त आम्दानीका लागि परिचालन गर्दैआएका छन् ।
प्रदेश नं १ का प्रहरी कार्यालय बिराटनगरका प्रमुख डीआइजी सुदिप गिरीको कार्यालयभन्दा ५ किलोमिटरको पेरिफेरीकै रानी जस्ता सीमा नाकाबाट तस्करी खुल्ला हुँदा पनि उनको नजर पुग्न नसक्नु अर्को आश्चर्यको बिषयका रुपमा लिइएको छ । डीआइजी गिरीलाई अब्बल अधिकृतका रुपमा प्रहरीमा चिनिन्छ । उनी आफूलाई पनि त्यही रुपमा प्रस्तुत गर्दछन् । तर मोरङका सीमा नाकाबाट भइरहेको तस्करी नियन्त्रणमा उनले चासो नदिएपछि तस्करको प्रभाव त्यहाँ पनि परेको अर्थ लगाउन थालिएको छ ।
एसपी कोइरालाले जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर पप्पु नायकको नेतृत्वमा सादा पोशाकमा घुमुवा परिचालन गरेका छन् । नायकको नेतृत्वमा दरबन्दी नै मोरङमा नभएका हवल्दार युवराज खत्री र दीपक गिरीलाई खटाइएको छ ।
इलामको सामलाबुङ प्रहरी चौकीमा दरबन्दी भएका हवल्दार युवराज खत्रीलाई जिल्ला प्रहरी कार्यालय मोरङमा काजमा राखी घुमुवाका रुपमा सादा पोशाकमा खटाएका छन् । रौतहट दरबन्दी भएका सिपाही दीपक गिरीलाई पनि उनले काजमा राखेर घुमुवाका रुपमा असुलीमा परिचालन गरेको आरोप छ ।
त्यसैगरी एसपी कोइरालाले भारतसँग सीमा जोडिएका सीमा प्रहरी चौकीमा मासिक दररेट तोकी सरुवा गरेका छन् । निर्वाचनको मौकामा तस्करीको लाइन चलाएर उनले हरेक नाकाबाट कुस्त लाभ लिएको स्रोतले बताएको छ ।
भारतसँग सीमा जोडिएका मोरङका डुमरिया, नोचा, रंगेलीको बौकाचोपडा नाका, सिक्टी, भुटाहा, बुधननगर, रानी, दरैयाको बखरी, मटेरुवा, खयरबना नाकाबाट प्रहरीसँगको सेटिङमा तस्करी हुँदैआएको छ । नजिर मियाँले डुमरिया नोचा नाकाबाट गाई गोरु नेपालबाट भारततर्फ तस्करी गर्ने गरेका छन् । डुमरिया, नोचा नाकाबाटै दिलीप साह, सुरेश साह, पंकज साह मिलेर कपडा र खाद्यान्न भारतबाट तस्करी गरी नेपाल भित्र्याउने गरेका छन् ।
रंगेलीको बौकाचोपडा नाकाबाट बिल्ला भन्ने भारतीय तस्करसँग मिलेर राजेश साह, बब्लु साह, तुलसी साहले केराउ, गिटीबालुवा भारततर्फ तस्करी हुने गरेको छ । सिक्टी नाकाबाट मोहम्मद राजा, अन्सार, साफिक, करुवा साहले डिजल, पेट्रोल, केराउ र सुपारी भारततर्फ तस्करी गर्ने गरी सेटिङ मिलाएका छन् । डिजल र पेट्रोल नेपालमा भन्दा भारतमा महंगो भएकाले तस्करी हुने गरेको छ । सिक्टीबाटै साउद्दिन मियाँले गाईगोरु भारततर्फ पठाउने गर्दछन् । भुटाहाबाट जहेद आलम र राजेश साहले सुपारी, स्याउ, मरिच तस्करीको लाइन पाएका छन् । सवनम खातुन, सुरेश साह, गड्डु् मियाँ, धिरु कालीलगायतको समूहले रानी र बुधनगरबाट कपडा नेपालतर्फ तस्करी गरी ल्याउने गरेका छन् । बुधनगर नाकाबाट तब्रेज मियाँले भारतबाट राँगा ल्याउने र नेपालबाट त्यसको हड्डी पठाउने गरेका छन् । जगदिश साहले चीनबाट नेपाल हुँदै भारततर्फ स्याउ पठाउने गरेका छन् । मटेरुवा नाकाबाट सम्सुल मियाँले केराउ सुपारी भारततर्फ पठाउने गरेका छन् । दरैयाबाट नरेश साह, निलम सहनीले गिटी, बालुवा भारततर्फ निर्धक ओसार्ने गरेका छन् ।
रेणु साहले कस्मेटिक र कपडा दरैया नाका हुँदै ओसारपसार गर्ने गरेकी छन् । दरैयाबाट जनार्दन साहले हार्डवेयर र गाडीका पार्टपूर्जा नेपालतर्फ ल्याउने गरेका छन् । सोराभाग नाकाबाट तोहित मियाँले गाईगोरुको ओसारपसार गर्ने गरेका छन् । खयरवना नाकाबाट सुपारी, केराउ भारततर्फ तस्करी गर्नेमा छेरु साह र उमेश साह हुन् । उनीहरुले धान, मकै र गहुँ नेपालतर्फ ल्याउने गरेका छन् ।
प्रहरीकै मिलेमतोमा भन्सारछली तस्करी भइरहेकोबारेमा मोरङका एसपी शान्तिराज कोइरालासँग प्रतिक्रियाका लागि प्रयास गर्दा उनी सम्पर्कमा आएनन् । नेपाल फेस