वीरगंज भन्सारबाट संस्थागत तस्करी भैरहेको भन्सार कार्यालयबाटै खुलाशा

0

वीरगंज/ वीरगंज भन्सारको राजश्व चुहावट नियन्त्रण र सुरक्षाको लागि परिचालित जिम्मेवार निकायकै संरक्षणमा वीरगंजको मूख्य भन्सार र आईसीपीबाटै संस्थागत तस्करी भैरहेको खुलाशा भएको छ ।

वीरगंज भन्सार कार्यालयले एउटा मालबाहक ट्रकलाई जफत गरेपछि आईसीपी र भन्सारबाटै दैनिक करोडौँ रुपैयाँबराबरको राजश्वछली एवं संस्थागत तस्करी भैरहेको पोल खुलेको हो ।

प्राप्त खबर अनुसार एक सय १४ भन्दा बढी गाँठ महँगो खाले साडी, बेडसिट, सुट इत्यादिका लत्ता कपडासहित लोड गरिएको ना ७ ख ८१५२ नम्बरको ट्रकलाई वीरगंज भन्सार कार्यालयले बुधबार जफत गरिएको सूचना अधिकारी दिल्लीराम सुवेदीले जानकारी गराउनु भयो । उनले हालसम्म कोही पनि मानिस हकदाबी गर्न नआएकोले उक्त ट्रकलाई लत्ताकपडासहित जफतको प्रक्रियामा लगिएको बताए ।

‘सुरुमा हकदाबीको सूचना निकाल्ने र त्यसपछि पनि कोही नआए कानुनी प्रक्रियाअनुसार जफत गरिने उनले बताए । भंसारको आँखामा छारो हालेर संस्थागत रुपमै तस्करी भैरहेको क्रममा एउटा ट्रक पक्राउ पर्नु पनि संस्थागत तस्करीमा संलग्न हुनेहरुलाई ठूलो झट्का लागेको बताइन्छ ।

रोशन भन्सार क्लियरिंग सेवा श्रीपुर वीरगंजको नाममा गेट पास देखाई कात्तिक ६ गते राति करिब ८ बजे उक्त मालबाहक ट्रकलाई वीरगंजस्थित आइसीपी भन्सारको मूल गेटबाट लग्न खोजिएको समाचारमा जनाइएको छ । आइसीपी सन्चालक इन्टर मोडल यातायात विकास समितिका गेट गार्डले कागजपत्र जाँच गर्न खोज्दा ट्रक चालक फरार भएका थिए । कागजात पनि भन्सार एजेन्टकै व्यक्तिले खोसेर भागेपछि घटनाक्रम झनै शंकास्पद हुन गयो ।

त्यति बेला इन्टर मोडलको सिस्टमले उक्त ट्रकलाई ‘एक्जिट’ गरेन । इन्टर मोडल स्रोतका अनुसार मालबाहक सवारी साधन जुन दिन भन्सार जाँचपास भएर भन्सारबाट बाहिरिन खोजेको हुन्छ त्यसै दिन बाहिरी सक्नु पर्छ । एक दिन पनि ढिला भयो भने कारण उल्लेख गरी निवेदन दिई भन्सार प्रमुखको तोक आदेश आवश्यक हुन्छ ।

उक्त ट्रक भन्सारबाट बाहिरिन खोज्दा तीन दिनअघि आइसीपीबाट सरुवा भइसकेका सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक प्रकाश सिंह ठकुरी आफैँ भन्सारको मूल गेटमा आएर ट्रकलाई बाहिरिन दिन दबाब दिइरहेका थिए । तर गार्डहरुले नमानेपछि सई ठकुरी त्यहाँबाट हराएका थिए । चाड पर्व विदाको मौका छोपी सशस्त्र प्रहरी बल र भन्सारका केही कर्मचारीहरुसमेतको मिलेमतोमा निकाल्न खोजिएको भन्ने सूचना भन्सार प्रमुखलाई आएपछि उक्त ट्रक नियन्त्रणमा लिइएको बताइन्छ ।

भारतबाट भित्र्याईएको उक्त ट्रकमा रहेको झण्डै एक सय १४ भन्दा बढी गांठ कपडाको बजार मुल्य दुई करोड भन्दा बढि हुने व्यवसायीहरु बताउँछन् । न्यूनतम मुल्यांकन गरिए पनि कम्तिमा डेढ करोड हुने र त्यसको भन्सार राजस्व करिव ३०–३५ लाख हुने अनुमान छ ।

श्रोतका अनुसार मुद्दा शाखामा गए पनि उक्त ट्रक सहित कपडा छुटाउन तस्करहरुले आर्थिक बलमा नक्कली कागजातलाई राजस्व अनुसन्धान विभाग समेतका पदाधिकारीहरुको सहयोगमा सक्कली प्रमाणित गराई अझ पनि छुठाउने प्रयासमा जुटेका छन् ।

त्यसका लागी सत्ताधारी गठबन्धन दलका केही नेताहरु न्वारनको बल लगाएको बताइन्छ । पक्राउ परेका ट्रक सहित कपडा तस्करी धन्दामा ख्याती कमाएका मदन गुप्ता (रुन्चे)को रहेको बताइए पनि अधिकारीक रुपले पुष्टि भने भएको छैन ।

देश चुनावमा होमिएको मौका छोपेर सशस्त्र प्रहरीलगायतका जिम्मेवार निकाय तस्करको साम्राज्य स्थापित गराउन लागि परेदेखि वीरगंज भन्सारको राजश्व असुली खस्किँदै गएको छ भने सशस्त्र प्रहरीका जिम्मेवार हाकिमहरु मोटाउन थालेका छन् । व्यक्तिगत ढुकुटी भरेर राज्यलाई टाट पल्टाउन सक्रिय सक्रिए पर्साका जिम्मेवार अधिकारीहरुकै कारण इतिहासमै नभएको तस्करीले यतिखेर संस्थागत रुप लिएको हो ।

यस अघि पनि सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी निरीक्षक प्रकाश ठकुरी आइसीपी सुरक्षा बेशको प्रमुख हुँदा पटक पटक भारतबाट कपडा लोड गरेको ट्रक तस्करहरुले आइसिपिलाई प्रयोग गरी ल्याउने र जाँचपासबिनै निकाल्ने गरेको सूचना सशस्त्र प्रहरी बल नेपाल नं. १३ हे.क्वा पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेललाई जानकारी गराउँदा समेत कुनै चासो नदिएको गुनासाहरु आउनुले एसपी पोखरेल समेत तस्करी वृद्धि गराइ राज्व असुलीको सूचकांक गिराउने कार्यमा सहयोगी रहेको आशंका गर्ने प्रशस्त ठाउँहरु देखिएका छन् ।

यस विषयका साथै पर्सा, बारा, रौतहट लगायत मधेश प्रदेशका आठवटै जिल्लाबाट यतिबेला भैरहेको तस्करी बारे हामी पाठकहरुमाझ निरन्तर अपडेट गराउने छौँ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्