वीरगंज/पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले हुन लागेको निर्वाचनमा मतदाताहरुले दिपावली र छठ पर्वबाट ज्ञान र विवेक आर्जन गरेर मतदान गर्नेमा आफू विश्वस्त रहेको बताउनु भएको छ।
नेपाली कांग्रेस वीरगंज महानगर समितिले शनिवार माइस्थान स्थित खुल्ला पार्कमा शुभ दिपावली, नेपाल संवत र छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा क्षेत्र १ का स्वतंत्रता उम्मेदवार द्विवेदीले सो कुरा बताउनु भएको हो।
नेपाली काँग्रेस क्षेत्र नंबर १ का क्षेत्रीय सभापति अरविन्द कुमार गुप्ता, नेपाली काँग्रेस वीरगंज महानगर अध्यक्ष मनिन्द्र लाल नेपालीलगायत काँग्रेसी नेता कार्यकर्ताहरूको बाक्लो सहभागिता रहेको सो समारोहमा उपस्थित पूर्व कांग्रेस नेता द्विवेदीसँग “स्वतन्त्र उम्मेदवार कांग्रेसको कार्यक्रममा किन ?” भन्ने संचारकर्मीको प्रश्नको जवाफमा द्विवेदीले चियापान समारोह सामाजिक सद्भाव र एकताको सन्देश दिने कार्यक्रम भएकोले वीरगंज महानगर समितिले गरेको कार्यक्रममा आफू आएको बताउनु हुँदै उनले यसलाई राजनीतिसँग जोड्न नहुने बताउनु भयो । अलग अलग बिचारधाराका व्यक्तिहरुलाई सहभागी गराएर महानगर कार्यसमितिले राम्रो काम गरेकोमा धन्यवाद पनि दिनु भयो ।
द्विवेदीले हरेक मतदाताले आफू स्वयंलाई अजय द्विवेदी मानेर स्वविवेकको प्रयोग गरि मतदान गर्न आग्रह गर्नु भयो । आफ्नो उम्मेदवारी दलभित्रको गुटतन्त्र, ठगीतन्त्र, नेतातन्त्रको हावी र लोकतन्त्रको अपहरणविरुद्ध जनजनको आवाज बनेर उम्मेदवारी दिएकोले मतदान गर्न आम मतदातालाई अनुरोध गर्नु भएको थियो ।