वीरगंज/ जिल्लाको शान्ति सुव्यवस्था लगायत सीमा सुरक्षा र तस्करी नियन्त्रणको जिम्मेवारी सहित जिल्लामा आएका सुरक्षा प्रमुखहरूको व्यवसायिक प्रतिबद्धता पर्सामा टायँ -टायँ फिस्स भएको छ।
जिल्लामा आउने प्रशासन र सुरक्षा प्रमुखले तस्करी नियन्त्रण गर्ने प्रतिवद्धता व्यक्त गर्छन् । आउनासाथ सञ्चारकर्मी, व्यापारी, उद्योगी, दलका नेता–कार्यकर्तासित भलाकुसारी गर्छन् । त्यस्तो भेटमा तस्करी नियन्त्रण गर्ने मूल दाबी गरिन्छ।
उनीहरुले सुरुवाती समयमा देखावटी रुपमा कडाइ गर्छन् तर बसाइ लम्बिने क्रममा प्रशासन र सुरक्षा प्रमुख प्रतिवद्धताबाट चिप्लिने गरेको पाइन्छ । उनीहरुको प्रतिवद्धताविपरीत भारतसँगको सिमावर्ती क्षेत्र लगायत सबै नाकाहरूबाट तस्करी भइरहन्छ ।
यहाँका व्यावसायीहरू भन्छन्, ‘तस्करीको लाइन’ नमिल्दासम्म कडा प्रतिवद्धता सुनिन्छन् । जब लाइन मिल्छ, त्यसपछि प्रशासन लगायत सरोकारवाला ‘तैँ चुप, मैँ चुप’ हुन्छन् । पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत र सशस्त्र प्रहरी बल नेपाल, नं. १३ गण हेक्वा पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेलले जिल्लाको सीमा क्षेत्रबाट हुने तस्करी नियन्त्रण गर्ने भनेका थिए।
‘तस्करी कार्यलाई नियन्त्रण गर्ने प्रतिवद्धता जनाए । त्यस अनुरुप मातहतका युनिट परिचालन गरे ।
तर परिचालित यूनिटहरू तस्करी लगायत हुने अवैध गतिविधि नियन्त्रण गर्नलाई नभई अवैध कारोबारी र तस्करहरूसँग “सेटिंग” मिलाउन र “लाईन” सहज पार्न परिचालन गरिएको रहेछ भन्ने कुराको पुष्टि केहि समय भित्रै हुन थाल्यो।
पछिल्लो समय पर्सा जिल्ला र यसको नाकाबाट सबै प्रकारको तस्करी र अवैध धन्दा निर्वाध रुपमा संचालनको केन्द्र बनेको छ।
र्सामा भारतसँग जोडिएको सिमानाकामा २४ वटा सशस्त्र प्रहरीका बोर्डर आउटपोष्ट (बीओपी) छन् । ती बीओपीको काम भन्सार छली हुने सामान आयात निर्यात रोक्ने पनि हो । तर, सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट हुने भन्सार छली गर्नेहरूलाई नियन्त्रणमा लिनेभन्दा पनि सेटिङ गरी तस्करीको लाइन चलाउने गरेको स्थानीयको आरोप छ ।
समाचार स्रोतले दिएको जानकारी अनुसार यतिखेर पर्साका सबै नाका तस्करहरुको जिम्मा लगाइएको छ । सर्वसाधारणले घरेलु र व्यक्तिगत प्रयोजनको लागि भारतीय सीमा क्षेत्रबाट सामान किनेर ल्याउँदा चेकजाँचको नाममा अनेक बखेडा गर्ने र खोसेर भन्सार समेत बुझाउन पछि नपर्ने सशस्त्र प्रहरी बलको सेटिङ्गमा तस्करहरुले दैनिक करोडौँ मूल्य बराबरको सामान भित्र्याएर लाखौँको राजश्व छलि गरिरहेका छन् । कपडा, मोटर पार्टस्, हार्डवेयर लगायतका तस्करी बारेमा हामी आगामी अंकमा प्रकाशन गर्ने नै छौँ तर आज भने पर्सामा काजु, किसमिस, छोकडा लगायतका ड्राइफुड्स र गरम मसाला लगायतका किराना सामग्रीहरुबारे लेख्दै छौँ ।
पर्साका नामुद र कुख्यात तस्करहरुलाई चिनी, काजु, छोकडा, नरिवल, रजनीगन्धा, किराना सामानका साथै जिरा, धनियाँ लगायतका किराना सामग्रीहरुको लाइन दिएर प्रहरीले राज्यको करोडौँको राजश्व चुहावट गर्ने काममा सघाइरहेका छन् ।
भन्सार राजश्व असुली दिनाननुदिन घट्दै जानु तर बजारमा वस्तु आपूर्तिमा कुनै कमि नदेखिनुले पनि राज्व चुहावट हुने गरेको प्रष्ट हुन आउँछ ।
सीमावर्ती क्षेत्रमा खटिएका सशस्त्र र नेपाल प्रहरीको सहयोग, सरंक्षण र हरियो सिग्नल पाएर भित्रिएका किराना, ड्राइफुड्स लगायतका खाद्यसामग्री वीरगंजस्थित रेलवे लाइन र आदर्शनगर लगायतको क्षेत्रमा रहेका विभिन्न गोदाममा थुपारेर नक्कली बिल भर्पाइ बनाएर देशका विभिन्न ठाउँमा तस्करहरुले पठाइरहेका छन् ।
पर्सामा भैरहेको तस्करी नियन्त्रण हुन नसकेको र इतिहासमै सबभन्दा बढी तस्करी भइरहेको सन्दर्भमा सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरसँग केही दिन अघि बुझ्दा उनले तस्करसँग साँठगाँठ गरेको प्रमाणसहितको उजुरी आएपछि बोर्डर आउट पोष्ट वीरगंज भन्सारका सशस्त्र प्रहरी निरीक्षक रवीन्द्र भट्टलाई वाहिनी र मुख्यालय झिकाइको बताउनु हुँदै यदि अझै तस्करी नरोकिएको भए प्रमाणसहित जानकारी आएमा एसपी समेतलाई कारवाही हुन सक्ने बताउनु भयो ।