चन्द्रसूर्य समाचारदाता/
वीरगंज, ६ असोज/ सीमा क्षेत्रमा हुने अवैध गतिविधि एवं राजश्व चुहावट तथा तस्करी नियन्त्रणको मूख्य जिम्मेवारी पाएका निकाय सशस्त्र प्रहरी बल गैर व्यवसायिक धर्मप्रति अग्रसर भएपछि इतिहासमै कहिल्यै हुन नसकेको तस्करीको लाइन यतिखेर पर्साबाट संचालन भएको पाइएको छ ।
वीगंजका नामूद एवं कुख्यात कालाबजारी एवं तस्करहरुले पर्सा जिल्लाको प्रयाः सबै नाकाबाट लाइन संचालनमा ल्याएर इतिहासमै कहिल्यै नभएको तस्करी गरेर पर्सा जिल्लालाई अवैध तस्करीको ट्रान्जिट प्वाइन्टको रुपमा स्थापित गरिदिएका छन् ।
सशस्त्र प्रहरी बल नेपालको सीमा क्षेत्रमा प्रायः प्रत्येक तीन किलोमिटर क्षेत्र भित्र रहेको बोर्डर आउट पोष्ट, बेश क्याम्प, १३ नं. गण एवं छिन्नमस्ता वाहिनी मूख्यालय प्रतिनिधिहरु व्यापक परिचालन भएर पनि पर्साको सबै नाकाबाट तस्करीको लाइन संचालन हुनुले सशस्त्र प्रहरी बलको व्यवसायिकतामाथि प्रश्न चिन्ह खडा भएको छ ।
सशस्त्र प्रहरी बलको व्यापक उपस्थिति र निगरानीका बावजुद विभिन्न सीमा नाका भएर वीरगंज भित्र्याइएका करिब दुई करोड माथिका सामान नेपाल प्रहरीले २४ घण्टाभित्र नियन्त्रणमा लिएपछि पर्सामा तस्करी संचालनक अवस्था उदाङ्गिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साले बुधवार राती र बिहीवार दिउँसो वीरगंजको छुट्टाछुट्टै स्थानबाट तस्करीको माध्यमबाट भित्र्याइएका बिलबिजकभन्दा बढी हार्डवेयर, कपडा तथा खुद्रा सामानहरु लोड रहेको तीनवटा ट्रक नियन्त्रणमा लिएको जनाएको छ ।
बिल विजक भन्दा बढीबिभिन्न किसिमका हार्डवेयर तथा खुद्रा सामानहरू बोकेको सूचना प्राप्त भई वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले वीरगंज-१० ग्रिनसिटी चोकस्थित सडकखण्डमा ना ५ ख ४८३१ नम्बरको मालवाहक ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा श्री भैरव ट्रान्सपोर्टबाट पठाईएको ट्रकमा विल बिजक शंकास्पद देखिएको तथा विल बिजक बिनाका विभिन्न किसिमका हार्डवेयर तथा खुद्रा सामानहरूसमेत फेला परेको हुँदा उक्त ट्रक नियन्त्रणमा लिई एक करोड १८ लाख ७६ हजार छ सय ९१ रुपैयाँ मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको जनाएको छ ।
त्यसैगरी बिल विजक भन्दा बढी खुद्रा तथा औषधीसामाग्रीहरू बोकेको छ भन्ने समेतको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बुधवार राती ११:२० बजेको समयमा घण्टाघरचोक स्थित सडकखण्डमा ना.६ ख ३३७३ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा श्री नेपाल ट्रासपोर्टबाट पठाईएको ट्रकमा विल बिजक शंकास्पद देखिएको तथा Online VCTS विल साथमा नरहेको हुँदा उक्त ट्रक नियन्त्रणमा लिई रू. ९१ लाख ५१ हजार आठ सय २२ मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि विहीबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै बिल विजक भन्दा बढी खुद्रा तथा लत्ताकपडाहरू बोकेको छ भन्ने समेतको सूचना प्राप्त भई खटेको जिल्ला प्रहरी कार्यालयको टोलीले बुधवार राती ११:२० बजे माईस्थानचोक स्थित सडकखण्डमा ना.७ ख ६८७५ नम्बरको मालवाहक मिनी ट्रकलाई रोकी जाँच गर्ने क्रममा श्री पशुपति ट्रासपोर्टबाट पठाईएको मिनी ट्रकमा विल बिजक शंकास्पद देखिएको तथा Online VCTS विल साथमा नरहेको हुँदा उक्त ट्रक नियन्त्रणमा लिई रू. ५० लाख ३९ हजार एक सय २४ मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि विहीबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनु भयो ।
तस्करहरु यतिखेर वीरगंज भन्सारको मूख्य गेट, इनर्वा गाउँ, छपकैया, अलौँ, ड्राइपोर्ट, सिर्सिया, अमरपट्टी, भिष्वा, पकाहा, सबैठवा लगायतको नाकाबाट अवैध तस्करीका सामानहरु ओसार पसार संचालनमा ल्याएका हुन् ।
चाडवाड नजिकिएसँगै तस्करहरुले लिएको लाइनकै आधारमा तस्करीको सामानसँगै हुण्डी र सट्टावाजीको अवैध रुपैयाँ, लागुऔषध लगायत नूनदेखि सुनसम्मको ओसार पसार गरिरहेको स्रोतको दाबी छ ।