२०८३ बैशाख २६ गते, शनिबार ०४:३४

पर्यटनमन्त्री श्रेष्ठको राजीनामा माग्ने तयारी

काठमाडौं, २० भदौ । नेकपा (एकीकृत समाजवादी) पार्टीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठको राजीनामा माग्ने तयारी गरेको छ । ठमेलको छाँया सेन्टरमा रहेको ‘भिएफएस ग्लोबल’ मा भिसा आवेदनको लागि बायोमेट्रिक्स दिन जाने क्रममा मन्त्री श्रेष्ठले ‘लाईनमा बस्नुहोस भन्ने’ सुरक्षाकर्मी शेरजंग गुरुङलाई अभद्र व्यवहारको नाममा पक्राउ गर्न लगाएको भन्दै उनको आलोचना भएको छ ।

 

सामाजिक सञ्जालदेखि मूलधारका मिडियामासम्म उनको कार्यशैलीको आलोचना भैरहेको छ । चुनावको मुखमा पार्टीबाट सरकारमा प्रतिनिधित्व गरेका जिम्मेवार नेताले यस्तो हर्कत देखाउँदा पार्टीलाई क्षति हुने भन्दै पार्टीका शीर्ष नेताहरुले उनको राजीनामा माग्नुपर्ने सुझाव दिएका छन् ।

 

अध्यक्ष माधवकुमार नेपालमाथि अहिले मन्त्री श्रेष्ठको राजीनामा माग्नुपर्ने दबाब छ । सुरक्षा गार्डले आफ्नो ड्युटी निभाएकोमा मन्त्रीले आफ्नो पावरको दुरुपयोग गरेको भन्दै आलोचना भैरहेको छ ।

 

गुरुङलाई मन्त्री श्रेष्ठकै ठाडो निर्देशनमा थुनामा राखिएको चर्चा पनि छ । यद्धपी उनले आफूले भन्दापनि आफ्नो सुरक्षामा खटिएका अधिकारीले नै उजुरी गरेर गुरुङलाई पक्राउ गराएको दाबी गरेका छन् । लोकतान्त्रिक गणतन्त्रमा मन्त्रीले यस्तो हर्कत देखाउनु लोकतन्त्रकै उपहास भएको कतिपयको टिप्पणी छ ।

 

कतिपय संघ तथा संस्थाहरुले पनि मन्त्री श्रेष्ठको राजीनामा माग्ने घोषणा गरेका छन् । नेपालका चार वटै पुर्व सुरक्षा संगठनका उच्च पदस्थ व्यक्तिहरुले पनि आज उनको राजीनामा माग्ने बताईएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM