मोरङ, १३ भदौ/ मोरङमा लागुऔषध ब्राउन सुगरसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार महानगर १४ बाट विराटनगर, सिन्धुपाल्चोक, धरान र रामधुनी नगरपालिकाबाट गरि ६ जना युवालाई ब्राउन सुगरसहित पक्राउ गरिएको हो।
रामधुनी नगरपालिकाकी २७ वर्षीया सरस्वती गुरुङ बसोबास गरेको विराटनगर–१४ स्थित घरमा खानतलासी गर्दा १४ दशमलव ६१ मिलीग्राम लागुऔषध प्रहरीले फेला पारेको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए।
प्रवक्ता राईका अनुसार पक्राउ पर्नेमा गुरुङसँगै सिन्धुपाल्चोक चौताराका २६ वर्षीय विकास थापा, विराटनगर–१५ का २४ वर्षीय बरुण साह, विराटनगर–३ का ३० वर्षीय आशिस हमाल, विराटगर–१३ का ३० वर्षीय सुलभ रिजाल र धरान–२० का २३ वर्षीय रोशन लिम्बू छन्।
उनीहरूको साथबाट प्रहरीले डिजिटल तराजुसमेत बरामद गरेको छ। इलाका प्रहरी कार्यालय रानीको टोलीले लागुऔषध बिक्री–वितरण भइरहेको खबरसँगै गुरुङ बसेको घरमा खानतलासी गरेको थियो ।
मोरङ जिल्ला अदालतबाट लागुऔषध कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।