चुनावताका रोकिएको तस्करी पर्सामा फेरि शुरु, कसले पाए लाईन ?

क्राइमचेक प्रतिनिधि/
वीरगंज, १४ जेष्ठ । आसन्न स्थानीय तहको चुनावको केहि दिन अघदेखि रोकिएको तस्करीको लाईन पर्साबाट फेरि शुरु भएको छ ।
 
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा नयाँ महानिरीक्षकले कार्यभार सम्हालेपछि अवैध र आपराधिक कृयाकलाप नियन्त्रण गरी सीमा रक्षा एव‌ शान्ति सुरक्षामा उच्चस्तरीय व्यवसायिक धर्म निर्वाह गर्न निर्देशन दिए पनि पर्सामा नेपाल र सशस्त्र प्रहरीका महानिरीक्षकहरुको आदेश रद्दीको टोकरीमा फालेर तस्करीको लाईन दिइएको जानकारीमा आएको छ ।
 
जेष्ठ २ गतेबाट शुरु भएको तस्करीको लाईन पर्साको वीरगंज इनर्वा गाउँ, बाँसघारी, छपकैया, सिर्सिया, ड्राईपोर्ट नाका यतिखेर तस्करहरूको लागि सुरक्षित नाकाको रुपमा प्रयोग गरि प्रतिबन्धित पेय पदार्थ “रेड बुल” काजु, देखि कपड़ा, हार्डवेयर, मोटर/कम्प्युटर पार्टस् समेतको लागि “लाइन” नै लिएर तस्करी धन्दा निर्वाध रुपमा संचालनमा आएका छन् ।
 
पर्साको वीरगंज छपकैया नाकाबाट विवेक, हरिन्द्र र मास्टरलगायत नाम गरेका तस्करले कपड़ा तस्करीको लाइन पाएका छन् । विवेकले छपकैया, सिर्सिया, ड्राईपोर्टको रूटबाट तस्करीको इजाजत पाएका छन् भनें विवेककै सहकर्मी रंजीतलाई कपड़ा र जुत्ता तस्करी गरि नेपाल भित्र्याउने लाइन दिइएको छ ।
 
त्यस्तै सोही क्षेत्रबाट मञ्जुलाई भेटनरीका सामान देखि मोबाइल, कम्प्यूटर पार्ट्स (हार्डडिस्क, मदरबोर्ड, एसएसडी)लगायत र हार्डवेयर सामग्री तस्करी गरि नेपाल ल्याउन लाइन दिइएको बताइन्छ ।
 
विवेक, रंजित, हरिन्द्र, मास्टर र मञ्जुले मात्र ती नाकाबाट दैनिक लाखौं मूल्य बराबरको भन्सार छलि गरि कपड़ा, जुत्ता चप्पल, कम्प्यूटर पार्ट्स, हार्डवेयरका सामान भित्र्याउदै आएका छन् ।
 
त्यस्तै नेपालमा प्रतिबन्ध गरिएको पेय पदार्थ “रेडबुल” भारतबाट तस्करी गरि नेपाल भित्र्याउने लाइन पशुपति यादवले पाएका छन् । पशुपति यादवको लाइनबाट दैनिक लाखौं रुपियाँ बराबरको प्रतिबन्धित रेड बुल नेपालमा भित्र्याई बेचबिखन हुने गरेको पाइएको छ ।
 
सरकारले २ असार २०७६ मा राजपत्रमा सूचना प्रकाशित गर्दै नेपालमा क्याफिनयुक्त पेय पदार्थ बिक्री वितर तथा आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो। तर सीमावर्ती क्षेत्रमा खटिएका सशस्त्र र नेपाल प्रहरीको सहयोगमैं क्याफिनयुक्त रेडबुल नेपाल भित्र्याएर जनताको स्वास्थ्यसँग प्रत्यक्ष खेलवाड़ गर्ने काम भैरहेको पाइएको छ ।
प्रतिबन्धित रेडबुल । फाइल फोटो
 
नेपाली सीमावर्ती क्षेत्रमा रहेका नेपाल र सशस्त्र प्रहरीका ड्यूटी, युनिट प्रमुख हुँदै जिल्ला प्रमुख देखि प्रदेशको डिआईजीसम्मलाई प्रभावमा पारेपछि मात्र आफूले रेड बुल भित्र्याउने “लाइन” पाएको रेडबुल तस्करीका मुख्य नाइके पशुपति यादवले बताए ।
 
त्यसैगरी पर्साको इनर्वा गाउँ नाकाबाट बाँसघारी हुँदै भन्सार छली गरी अवैध रुपमा कपडा हार्डवेयरलगायतका सामान भित्र्याउने लाइन अनिल भन्ने गजानन, शत्रुघ्न, जयलाल, शेखावत र संजयले लाईन पाएको समाचार श्रोतले जनाएको छ ।
 
माथि नाम उल्लेख गरिएको तस्करहरुले दर्जनौँ साइकलमा लोड गरी रात्री १० बजेपछि विहान ४ः३० बजेसम्म ढुवानी गरी नेपाल भित्र्याउने गरेका छन् । यद्यपि जयलाल, सेखावत र संजयको सामान दिउँसो पनि भरियाहरुको माध्यमबाट भित्र्याइने गरेको जोकोहीले देख्न सक्छन् । यसरी नेपाल भित्र्याइएका सामानहरु ठाउँ ठाउँमा भण्डारण गरी नेपालको मूख्य शहरहरुमा पठाउने गरिएको बताइन्छ ।
 
यिनाीहरुले सीमावर्ती क्षेत्रमा खटिएका प्रहरी देखि मधेश प्रदेशका सशस्त्र र नेपाल प्रहरीका डिआईजी सम्मको भाग भेटि चढ़ाएर लाइन पाएपछि वैशाख २४ गतेदेखि बन्द रहेको तस्करीको लाइन पुनः सुचारु भएको बताईन्छ ।
 
नेपालमा दिनानुदिन महंगी बढ्दै गएको र आर्थिक व्ययभार बढ्दै गएको मौकाछोपि राज्यका जिम्मेवार निकायका प्रतिनिधिहरुको नाकै मुनिबाट दैनिक लाखौँ मूल्य बराबरको राजश्व छलि हुनु गैरजिम्मेवारीको पराकाष्ठाको प्रदर्शन भइरहेको वुद्धिजीवीहरु बताउँछन् ।
 
यस सन्दर्भमा जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालसँग बुझ्दा यस सन्दर्भमा आफूलाई जानकारी नभएको र त्यस्तो रहेछ भने अवैध रुपमा भित्रिने समान समात्ने बताउनु भयो । भने सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हेक्वा पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक निर्मल थापालाई फोन गर्दा उनले फोन उठाएनन् ।
क्राइम चेक र चन्द्रसूर्य वणाीले पर्सा एवं बाराका विभिन्न नाकाबाट लाईन पाउने तस्करी र अवैध काराेबार हुण्डी लगायतबारे पनि समाचार अनुसन्धान जारी राखेको छ, पाठकहरु सामु निरन्तर प्रकाशन गर्दै जानेछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here