Thursday, July 18, 2024

“माछा बजार”

– बिम्मी कालिन्दी शर्मा
पत्रकार महासंघ नामको माछा बजार सार्है गन्हायो रे त्यसैले यसको शुद्धिकरणका लागि राजनीतिक पार्टी नामका पोखरीका माछाहरुलाई प्रवेश निषेध गरेर पत्रुकार हैन पत्रकारको संघ बनाइने छ । तर सबैभन्दा रमाइलो कुरा के भने जुन पत्रकार महासंघले यो प्रेस विज्ञप्ति जारी गरेको छ त्यो स्वयम कुनै राजनीतिक दल विशेष समर्थित पोखरीको गन्हाउने माछा हो । यो पत्रकार महासंघलाई शुद्ध बनाउन खोजिए पनि गन्हाउने माछा बजार खसीको आन्द्राभुँडी बेचिने बजारमा मात्र परिणत हुने हो ।

पत्रकारमा नैतिकता छँदै छैन । जसमा अली अली नैतिकता र इमानदारी बचेको छ ती पत्रकारको छाता संगठन या राजनीतिबाट टाढा आफ्नो काममा तल्लीन छन् । न तिनलाई महासंघको सदस्यता चाहिएको छ न कुनै पत्रकारलाई भोट दिएर जिताउनु नै छ । तिनकालागि यो पत्रकार महासंघ भनेको ‘कौवालाई बेल पाक्यो हर्ष न विष्मात’ जस्तै हो । टोक्नु न बोक्नु पत्रकार नामक यो महासंघ चाहिएकै विभिन्न राजनीतिक दलहरुलाई नै हो र यो तिनकै भातृ संगठन पनि हो । त्यसैले त विभिन्न राजनीतिक दलहरुले आफ्नो आशिर्वाद पाएका मोटाताजा पत्रकार नामका चापलुसहरुलाई उठाउँछ र पैसाको खोला बगाएर जिताउँछ पनि । त्यही भएर पत्रकार महासंघ शुद्ध हुनु भनेको नदी किनारमा माछा ताकेर एउटा खुट्टामा उभिएको बकुल्ला जस्तै हो जसले तपस्याको स्वागँ गरेर देख्ने सबैलाई मुर्ख बनाउँछ र आफ्नो सवार्थ सिद्ध गर्छ ।

दश वर्ष अघि जब म आर्थिक अभियान दैनिकमा काम गर्थे । एउटा समाचारकालागि वीरगञ्जका एक प्रसिद्ध उद्योगपति ब्यापारीसँग भेट्नु पर्ने भो । उनले मलाई आफ्नो अफिसमा बोलाए । उनी र म उनको कार्यकक्षमा बसेर दिउसों समाचारको बारेमा कुरा गर्दैथ्यौं । त्यतिकैमा वीरगञ्जका एक कुख्यात पत्रकारको फोन आयो जो पछि पत्रकार महासंघ पर्साका अध्यझ पनि बनें । ती पत्रकारले ब्यापारीसँग समाचारका लागि पैसाको मोल-तोल गर्न फोन गरेका थिए । ती ब्यापारीले मोबाईलमा झुटो बोल्दै भने ‘म अहिले खाना खाएर घरमा पल्टिएको छु ।’ उनले मोबाईलमा ती पत्रकारको नम्बर देखाएर भने ‘हेर्नु भो त बिम्मीजी म तँपाइसँग अफिसमा बस्या छु तर मैले झुटो बोल्नु पर्यो, यिनले मलाई हैरान पारेका छन् ।’ मैले पत्रकारको नम्बरबाट चिने उनी को हुन् भनेर । भर्खरै उनले महासंघको चुनाव पनि जितेका छन् र आफै गाडी चलाएर हिंडछन् तर बिडम्बनाको कुरा उनलाई एक प्याराग्राफ समाचार शुद्ध र सफा लेख्न आउँदैन । हिजोको उनको विगत र हैसियत त्यो थिएन तर योग्यता नभए पनि पार्टीको झण्डा बोकेर चापलुसी गर्न जानेकोले आज उनी नामुद पत्रकार भए ।

यो त एउटा उदाहरण मात्र हो यस्ता अगतिला उदाहरण त वीरगञ्ज र नेपालको पत्रकारितामा कति छन् कति । दुखको कुरा पत्रकार महासंघ यिनै गन्हाउने माछाहरुले भरिएको छ । कहाँ कहाँ सफा गर्नु र कति सफा गर्नु ? एउटा माछा पोखरी भए पो हुन्थ्यो । यहाँ त मुहान नै फोहर छ र मुहानको सुरक्षामा खटिएकाहरु झन महा फोहोरी । त्यसैले पत्रकार महासंघको विज्ञप्ति आँखामा छारो हाल्ने बाहेक केही हैन ।

पत्रकारिता त सिँढी हो मुख्य गन्तव्य त आईएनजिओ खोल्ने वा कुनै राजनीतिक दल विशेषको झण्डा मूनि डसेर आफ्नो वर्तमान र भविष्य बलियो बनाउने मात्र हो । नपत्याए गोकूल बाँसकोटालाई हेर्नुस् । तिनले पत्रकार भएर के नापे तर एमालेको नेता र मन्त्री बनेर आफ्नो जीवन र समृद्ध बनाए । भलै बदनाम पनि भए तर नाम पनि कमाए सबैले चिने । पत्रकार महासंघ भनेको जुन दल या पोखरीका पत्रकार नामका माछा जितेर गएका छन् तिनको कठपुतली भएर नुनको सोझो गर्ने र मुण्टो हल्लाउने मात्र हो । भाग नपाएर रिसाएर कल्याङ-मल्याङ गरि रहेका भुरा माछाहरुलाई भुलाउन महासंघ नामको ठूलो गन्हाउने माछा पोखरीले कनिका छरेर अल्झाउन र समस्याबाट ध्यान मोड्न खोजेको मात्र हो । यदि हैन स्वतन्त्र कुनै दलमा आवद्ध नभाको शिक्षित र योग्ग पत्रकारले किन जित्दैनन् ? पत्रकारिताको नाममा पार्टीकारिता गर्ने र आफ्नो दल र नेतालाई खुशी पार्न अनलाइन खोलेर र पत्रिका प्रकाशित भजन-किर्तन गर्ने बाहेक यिनले बढी गर्या के छन् र त्यो भन्दा बढी यिनीहरुले जान्या पनि छैनन् । यी कुँवाका भ्यागुता हैनन् कि पत्रकारिता नामक पोखरीका सडेका माछा हुन् जसले गर्दा सम्पूर्ण पोखरी दुर्गन्धित भैसकेको छ । पत्रकार महासंघसँग यति हिम्मत छ कि पूरै पोखरीको पानी बद्लिलोस् र त्यसमा राजनीतिक दलको चारो खाएर पौडिरहेका माछाहरु बद्लिएर देखाओस् ? हैन भने यस्तो नाटक गरेर आफ्नै आङ्गको छारो नउडाओस् ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -