गोरखा राज्यको विस्तार गरी नेपाल राष्ट्र निर्माण गर्ने पृथ्वी नारायण शाह नेपालीको गर्व र गौरव

0

– सन्तोष कुमार मिश्र

यो नेपाल तखत (राज्य)किल्ला हो । यो किल्ला पायो भने चारै बादशाहलाई ओरालो ल्याउन्यै छ । हराउने छ । इश्वरले रचना गरेको किल्ला रहेछ । किल्ला पिच्छे तोप लम्छट गरी राखि दिनु । हामीले च्यांगापांगा (घरबुना खाँडी, कोरा कपडा)लाई लगाएर तीन शहर नेपाल र नौलाख किराँत र हिन्दू पतिको राज आर्जेथ्यौं । देश विदेशका कपडा लगाउनलाई मनाइ गरिदिनु ।
– श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाह

गोरखनाथ बाबाको नामबाट नामकरण गरिएको सानो राज्य गोरखाका राजा पृथ्वी नारयाण शाहले २० वर्षको उमेरका नेपाल एकीकरण गर्ने अभियानको थालनी गरेका थिए । बहादुर शाहको पालासम्म आइपुग्दा बाइसे, चौबिसे राज्य एकीकरण भई नेपालको भूभाग पूर्वमा तिष्टा, पश्चिममा किल्ला काँगडा, दक्षिणमा भागिरथि नदिसम्म फैलिएर विशाल र शक्तिशाली नेपालका रुपमा स्थापित भएको हो । भारत वर्ष त्यतिखेर ब्रिटिस साम्राज्यको उपनिवेश थियो ।

भारत वर्षमा रहेका करिब ४६५ राज्यहरू ब्रिटिस शासनकालमा दिलय भई भारत (इण्डिया), हिन्दुस्तान भएको हो । नेपाल आजसम्म कसैको उपनिवेश भएको छैन तर भारत र अमेरिकाको नकारात्मक प्रभावबाट मुक्त र स्वतन्त्र भने छैन । विदेशी हस्तक्षेपलाई वर्तमान शासक, प्रशासकहरूले स्वागत गरिहेको पाइन्छ । ऋषिमुनिहरूको तपोभूमि, देवी देवताको जन्मस्थल दक्षिण एसियाको हिम्वत खण्डमा रहेको नेपाल प्राचीन देश हो । नेपाल भारत वर्षमा भएका अन्गिन्ति हिन्दू सनातन राज्यहरू मध्येको अन्तिम राज्य, हिन्दू राष्ट्र नेपालको संविधान २०७२ को घोषणापछि धर्म निरपेक्ष राज्य भएको छ । विश्वको एकमात्र हिन्दू राष्ट्रको अस्तित्व समाप्त भएको छ तर हिन्दू राष्ट्र र शाहवंशीय राजा र राजसंस्था पुनस्र्थापनाकोलागि संघर्ष जारी छ । गणतन्त्रको ठाउँमा हिन्दू राजतन्त्र राष्ट्र कायम गर्नु, नेपालको गौरवशाली महान इतिहासलाई कायम गर्न र पश्चिम राष्ट्रहरूको इसाइकरण अभियान समाप्त पार्न तथा दलाल पूंजीवादी र विदेशी दलहरूको अन्त्य गर्न नेपाली जनताहरूले देशभक्तिपूर्ण एकीकृत जनक्रान्ति गरिरहेका छन् ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइरहेका छन् । प्रत्येक वर्षको पुस २७ गते देशभक्त नेपालीहरूले राष्ट्रिय शक्तिका श्रोत, महान धरोहर राष्ट्रनिर्माता आधुनिक नेपालका योजनाकार श्री ५ बडा महाराजाधिराज पृथ्वी नारायण शाहको योगदानको स्मरण र पृथ्वी नारयण शाहको राष्ट्रिय सम्मान गरिरहेका छन् । नेपाल र नेपाली रहेसम्म पृथ्वी नारायण शाहको ऐतिहासिक योगदान अमर रहने छ । पृथ्वी नारायण शाहको दिव्योपदेश अमरवाणी सत्य शक्ति हो । सत्यमेव जयते ।

शाही नेपाली सेना, नेपाल सेना, गोर्खाली सेनाकै रुप हो । गोर्खा सरकारबाट नेपाल सरकार रुपान्तरण भएको हो । पृथ्वी नारायण शाहले ४ वर्ण ३६ जातको साझा फुलवारी हो नेपाल भनेका थिए । वर्तमान नेपालमा ९२ भाषा र १२६ जातजाती सूचिकृत भएका छन् । सनातन कालदेखि आजसम्म जीवित एकमात्र राष्ट्रका रुपमा रहेको नेपाल पृथ्वी नारायण शाहकै योगदान स्वरुप नै बाँचेको हो ।

राजा र प्रजा मिलेर बनेको देश नेपालमा यतिखेर राजासँग केही जनताले सम्बन्ध तोडेपनि नेपालको सकारात्मक इतिहास कायम राख्ने इच्छा भएका सम्पूर्ण नेपालीले शाहवंशीय राजा र जनताको सम्बन्ध सुदृढ राख्न अफापसिद्ध गणतन्त्र र दूर्भाग्यपूर्ण दलीय राजनीतिलाई समाप्त पार्न चाहन्छन् । वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्थाबाट नेपालीहरूबीचको एकता र स्वतन्त्रताको रक्षा नहुने, नेपाल सवल र सफल, सुखी नेपाली समृद्ध नेपाल हुन नसक्ने हुनाले पृथ्वी नारायण शाहको संझना बढी हुन थालेको छ ।

सन् १८१६ मा ब्रिटिस–इण्डिया र नेपालबीच भएको असमान सन्धीबाट हामी नेपालीहरूका पूर्खाले आर्जेको ठूलो भूभाग गुमाउनु पर्‍यो । बचेखुचेको नेपाली भूभाग पनि भारतको निरन्तर अतिक्रमणबाट खुम्चँदै छ । गणतन्त्रको अभ्यासले गर्दा नेपालको स्वाधीनता र नेपालीको स्वाभिमान गुम्न जाने डरलाग्दो परिस्थिति देखा परेको छ । तसर्थ पृथ्वी नारायण शाहको दिव्योपदेशमा आधारित भएर आधुनिक नेपालीहरूले सुरक्षित, सवल र सफल नेपाल बनाउन आवश्यक भूमिका, यथास्थितिमा परिवर्तनकालािग आन्दोलन गर्न जरुरी छ ।

पृथ्वी नारायण शाहको राष्ट्रिय एकीकरण अभियान र राज्य विस्तार अभियान अन्तर्गतको नेपाल अधिनस्त सम्पूर्ण भूभाग नेपालकै कायम कायम गराउन हामीले राष्ट्रिय एकता र राष्ट्र निर्माणका प्रतीक पृथ्वी नारायण शाहलाई उच्च सम्मानका साथ स्मरण गर्नु पर्दछ । पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवस राष्ट्रिय पर्वका रुपमा मनाउने स्वच्छ राजनीति वातावरण कायम गराउन सक्नु पर्दछ । तबमात्र हामी सम्पूर्ण नेपाली नेपालप्रति इमान्दार रहेको, देशभक्ति प्रति सचेत रहेको ठहरिने छ ।
अहिलेको काठमाण्डौको बोधिसत्व मञ्जुश्री आउनु भन्दा अघि प्राकृतिक तलाउ थियो । नेपालमा स्वयम्भुको ज्योति जस्तै श्री पशुपतिनाथ पनि आफैं उत्पत्ति भएका हुन् । पशुपतिनाथ, गोरखनाथले नै नेपालको आजसम्म रक्षा गरिरहेका छन् । गोरखनाथले पृथ्वी नारायण शाहलाई वरदान दिएका थिए । युगल सम्राट समसुद्दिनले जयस्थिति मल्लाको पालामा काठमाण्डौमा हमला गरेका थिए । हिन्दूहरूका आराध्यदेव पशुपतिनाथको ज्योर्तिलिंग टुक्रयाइदिएका थिए ।

नेपालको व्रिटिस–इण्डिया र अहिले चीनको अभिन्न अंग बनेको दलाई लामाको शासन रहेको तिब्बत (भोट) सँग पनि लडाई लडेका थिए । पृथ्वी नारायण शाहले सर्व प्रथम कम्पनी गोर्खाली सेना खडा गरेका थिए । नयाँ पुस्तालाई इतिहास चिनाउन, नेपालको भूभागको रक्षा गर्न, राष्ट्रिय एकीकरण अभियानका महान नायक पृथ्वी नारायण शाहलाई अजर अमर राख्न अहिले पृथ्वी नारायण शाह र उनका सेनाहरू हिंडेको गोर्खादेखि काठमाण्डौसम्मको पैदल मार्गमा पृथ्वी जयन्तकिो अवसर पारेर जुन पद यात्रा गरेको छ यो प्रशंसनीय छ । यसलाई निरन्तरता दिनु पर्दछ । यो पदयात्राले देशभक्तिमा सम्पूर्ण नेपालीलाई एकत्रित पार्न सक्ने छ । गोरखा राज्यको विस्तार गरी नेपाल राष्ट्र निर्माण गर्ने पृथ्वी नारयाण शाह नेपाल र नेपालीको गर्व र गौरव हुन् ।

पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउनु सम्पूर्ण नेपालीको कर्तव्य हो । पृथ्वी जयन्तीले सम्पूर्ण नेपालीलाई देशभक्तिमा जुट्ने प्रेरणा र शक्ति दिन्छ । देशभक्ति नै हामी नेपालीको शक्ति हो । शक्तिबाट मात्र हामी नेपालका नेपालीको उन्नति, प्रगति, समृद्धि हुन्छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्