Friday, April 19, 2024
घरविचारइतिहासइसाइकरणः नेताहरूको “काशी जाने कुतीको बाटो”

इसाइकरणः नेताहरूको “काशी जाने कुतीको बाटो”

– सन्तोषकुमार मिश्र

हिमालयको काखमा बसेको हिमवत खण्ड नेपाल प्राचीन देश हो । यो सम्पूर्ण विश्व शि प्रसाद (शिव निर्माल्य) हो । हामी मनुष्य जीवात्माहरूले जानेर वा नजानेर भोग वासनाले भोगेर शिव अवज्ञा गरिरहेका छौं ।

वैदिक सनातन धर्म भनेकै नेपाली हावा, पानी, माटो हो । नेपालका आदिवासी रैथानेहरूको जीवन पद्धति नै वैदिक सनातन धर्म हो । अहलिे यो धर्म हिन्दू धर्म भनेर चर्चित भएको छ । वैदिक सनातन धर्म दर्शन भन्दा उपयोगी र वैज्ञानिक धर्म दर्शन छैन । अरु सबै धर्म दर्शन शाखा हुन् । मूल धर्म त वैदिक सनातन धर्म नै हो ।

भूतभावन, लोकपावन आशुतोष भगवान सदाशिवजीका दिव्य महिमाहरूको वर्णन वैदिक र पौराणिक दुई प्रकारले भएका छन् । विश्वप्रसिद्ध देवादी देव आराध्यदेव श्री पशुपतिनाथको मन्दिर रहेको, शिवालयहरूले भरिपूर्ण नेपाल पशुपत्य क्षेत्र हो । विश्व सम्पदा सूचीमा नेपालका थुप्रै प्राचीन धार्मिक स्थलहरू सूचिकृत भएका छन् । नेपाल देवस्थल हो । विश्वका हिन्दू धर्मावलम्बीहरूको राजधानी हो । आस्थाको एकमात्र केन्द्र हो । ब्रह्मज्ञानकालागि मानवले जीवनमा निष्काम कर्म, भक्ति (उपासना) र ज्ञान अवलम्बन गर्नु पर्दछ । सिंगो नेपाल नै एक मात्र धार्मिक क्षेत्र हो । दुष्ट, पापीबाहेक नेपालमा रहने सबै वैदिक सनातन धर्मप्रति आस्थावान छन् ।

धार्मिक आस्था, विश्वास बोक्नेहरूको बाहुल्यता रहेको नेपालमा राजनीतिक परिवर्तन सँगसँगै ईशाइकरणको महाअभियान पनि भित्रिएको छ । धार्मिक सहिष्णुता रहेको नेपालमा इसाइकरणको अभियानले धार्मिक संकट, धार्मिक द्वन्द्वको विषम परिस्थितिमा नेपाललाई जबरजस्ती धकेलिदिएको छ । धर्म निरपेक्षता, सनातन हिन्दू धर्म, संस्कार, संस्कृति, पद्धति मास्ने बलियो साधन र अस्त्र बनेर उभिएको छ । हिन्दू धर्मावलम्बी र इसाइ धर्मावलम्बीबीच कुनै पनि बेला महाभारत युद्ध भएझैं ठूलो “वार कि पारको युद्ध” अब रोकेर पनि रोक्न सकिंदैन ।

समय कसैको काबुमा छैन । विनाशकाले विपरिति वुद्धि हुनेहरूको सर्वनाश र सत्यानाश नभएसम्म कसैले नेपालमा शान्ति कायम गर्न चाहेर पनि शान्ति हुँदैन । किनभने हिन्दू धर्मको विश्वको केन्द्रस्थल नेपालमा धर्मको आडमा आक्रमण गर्ने, हिन्दू धर्म समाप्त पार्ने षडयन्त्रकारीको षडयन्त्रले जरा गाडेको छ । धर्म यस्तो संवेदनशील विषय हो, आफ्नो धर्म संकटमा पर्न खोज्यो भने धर्मको रक्षाकालागि उस्ले अत्म बलिदान गर्न, मर्न र मार्न कति पनि बेर लगाउँदैन ।

धर्म रक्षति रक्षित (धर्मको रक्षा हामीले गर्‍यौं भने धर्मले हाम्रो रक्षा गर्दछ ।) धर्ममा शक्ति र एकता हुन्छ । धर्ममा सत्यता हुन्छ र धार्मिक युद्ध त्यतिखेर हुन्छ जब जब पृथ्वीमा भय, भ्रम, अज्ञान, पाप, अपराधको मात्र बढ्दै जान्छ । सत्यमाथि असत्यको हावी हुन थाल्दछ त्यहाँ धार्मिक कलह हुन्छ । त्यतिखेर सत्य धर्मको प्रतापले सम्पूर्ण पापी, विश्वव्रहमाण्डमा ज्यादति गर्न खोज्ने, अतिवादी, आतंकवादीको समूल नष्ट हुन्छ ।

नेपालको जन आन्दोलन, जनयुद्ध आफैंमा अन्यायपूर्ण, दूष्साहसवाद र दुष्शासन देखापरेको छ । राजनीतिमा धर्म सकिएकै कारण नेपालमा निकास नआएको हो । दूष्ट, पापी, अपराधी, असत्यवादी र अराष्ट्रिय तत्व र शक्ति समाप्त गर्ने बलियो अस्त्र नै धार्मिक युद्ध हो, जुन नेपालमा जारी छ ।
पापीहरू समाप्त हुन्छन्, धर्मात्माहरू स्थापित हुन्छन् भनिएकै छ “परोपकाराय पूण्याय, पापाय परपीडनम्” यो देव वाक्य हो । नेपालको राष्ट्रियता भनेकै हिन्दूत्व हो । नेपालमा हिन्दूहरूको बाहुल्यता छ । धार्मिक स्वतन्त्रता, धर्म निरपेक्षता भनेको धर्म परिवर्तनको अभियान र धर्म परिवर्तनकालागि दिइएको स्वीकृति र मान्यता होइन । धर्म परिवर्तन गर्ने र गराउनेहरू होशियार ! सावधान !

नेपाललाई धार्मिक संकटबाट बचाउन सम्पूर्ण हिन्दूहरू जाग, ऊठठ, आइलाग्नेमाथि जाइलाग, अहिले संकटमा पर्न लागेको धर्मलाई बचाउने, संरक्षण र संवद्र्धन गर्ने उपयुक्त बेला हो । जुनसुकै विचार र राजनीतिक दलमा लागेका हिन्दूहरू परिआएको बेला एक हुन सक्दछन् । किनभने हिन्दूत्व धर्म मात्र होइन राष्ट्रियता पनि हो ।

नेपाल हिन्दू धर्म राष्ट्र हो । धर्म एउटा सुत्ता र शक्ति हो । धर्मबाट अलग रहेर राष्ट्र टिक्न सक्दैन । धर्म मानिसले धारण गर्दछ । जुनसुकै राष्ट्रको राष्ट्रियता भनेको नागरिक हो । नेपालको राष्ट्रियता सँगै हिन्दू धर्म गाँसिएको छ । धर्म निरपेक्षता घोषणा गरेकै दिनबाट नेपालमा संकट उत्पन्न भएको छ । नेपाल र नेपालीको श्री वृद्धिमा आँच पुगेको छ ।

हिन्दू धर्म मासेर इसाइकरण गर्नु भनेकै नयाँ नेपालको निर्माण हो । बेलायत, युरोपेली महासँघ लगायत विश्वभरीका इसाइ धर्मावलम्बीहरू एक भएर नेपालमा इसाइ धर्म परिवर्तन अभियान संचालन गरेका छन् । नेपालमा जारी इसाइकरण अन्तर्राष्ट्रिय अभियानले नेपालका दुई विशाल छिमेकी मुलुक भारत र चीनलाई पनि टाउको दुखाई रहेको छ । विश्वयुद्धको शुरुवात नेपालबाटै हुन्छ भनेर कुनै बेला कुनै भविष्य वेत्ताले गरेको भविष्यवाणीको चर्चा अब सार्थक देखिन खोजेको छ । नेपालमा इसाइकरणकालागि कृश्चियन राष्ट्रहरूले पैसाको खोलो नै बगाइरहेका छन् ।

दरिद्र मानसिकताका मानिसहरू रातारात क्रिश्चियन बनिरहेका छन् । यतिखेर नेपालमा दिन गुनी रात चौगुनीको गतिमा क्रिश्चियन धर्मावलम्बी बढिरहेका छन् । धर्म परिवर्तन गरेका नक्कली क्रिश्चयनहरूले “बढी जोगी मठ उजाड” र “नक्कली बाबाले बढी खरानी घस्छन्” जस्ता उखानलाई चरितार्थ पार्दैछन् ।

नेपालको धार्मिक वातावरण प्रदूषित भइरहेको छ । धर्म रोज्ने अधिकारका नाममा धर्म परिवर्तन गर्नु, धार्मिक वितण्डता, अराष्ट्रिय चिन्तन र व्यवहार हो । धर्म परिवर्तन गर्नेहरूमाथि कुनै भर, विश्वास गर्न सकिंदैन । क्रिश्चियन धर्ममा लागेका नेपालका छोराछोरीहरूले सनातन धर्मका अनुयायी आफ्ना आमाबाबुलाई रुवाइरहेका छन् । आमाबावुको आशीर्वाद लिनुपर्ने ठाउँमा श्राप स्वीकारी रहेका छन् । आमाबाबुको मृत्युपश्चात सनातन हिन्दू धर्म, वौद्ध धर्म बमोजिम गर्नुपर्ने संस्कार गर्न छोडेर आफ्ना आमाबाबुलाई नरकमा पार्दैछन् ।
के क्रिश्चियन र मुस्लिमले मृत्यु पश्चात आफ्नो धर्म संस्कार गर्न छाडेका छन् ? धर्म र अधर्मको प्रश्न बडो पेचिलो छ । विश्वमा धेरै धर्महरू छन् । जुन कुरा एउटा समुदायको धर्म हुन्छ, अर्को समुदायकोलागि अधर्म हुन्छ । उदाहरणकालागि कुनै एक धर्म सम्प्रदायले गौरक्षा गरी गाईलाई आमा सरह मान्दछ, अर्को धर्म समुदायले गाइको मासु खान्छ ।

विश्व ब्रम्हाण्डमा इश्वर एक छन्, स्वरुप अनेक छन् । इश्वर र मनुष्यको प्रकृत्ति एक छ । रक्षा गर्नु ईश्वरको ध्येय हो । सबै धर्मावलम्बीको एक साहारा ईश्वर नै हो । मनुष्यमा श्रृष्टीकालदेखि नै दैविक गुण र आसुरी प्रवृत्ति देखा पर्दै आएको छ । हरेक वस्तुले आफ्नो जन्मसिद्ध धर्म आफ्नो साथमा राखेको हुन्छ । हरेक व्यक्ति, समाज, राष्ट्रको बेग्लाबेग्लै धर्म हुन सक्दछ । राजनीतिक धर्म बेग्ला बेग्लै हुन सक्दछ ।

आफ्नो स्वतन्त्र अस्तित्व हुन सक्दछ तर धर्म बेगर यो विश्वमा कुनै कुरा टिक्न सक्दैन । धर्म नै नमान्नु पनि धर्म हो तर आफ्नो धर्म मासेर अर्को धर्म परिवर्तन गर्नु अपराध र महापाप हो । विश्वको एकमात्र हिन्दू सापेक्ष राष्ट्र मासेर धर्म निरपेक्ष राष्ट्र नेपाललाई बनाउने षड्यन्त्रमा जो जो लागेका थिए उनीहरू धर्म विरोधी विधर्मीहरू हुन् । उनीहरूको मनमा सन्तुष्टि छैन, घरपरिवारमा सुख, शान्ति छैन । उनीहरूमा शक्ति र भक्ति केही छैन । उनीहरू घाँसखानाको गाह्रोले नरपशु बनेका छन् । उनीहरूको कर्म र प्रतापले देशमा सकारात्मक परिवर्तन, सुख शान्ति र समृद्धि कदापि हुन सक्दैन  बरु एउटा पाप र अपराध ढाक्न १० वटा अपराध उनीहरूबाट हुन सक्दछ, भइरहेको पनि छ ।

नेपालका राजनीतिक शीर्ष नेता भनाउँदाहरूले काशी जाने कुतीको बाटो रोजीसकेका छन् । यी राजनीतिक पात्रहरूबाट राजनीतिक धर्म निर्वाह हुन सक्दैन । विवेकविहिन राजनीति देशकालागि खतरा हो । धर्म भनेको स्वभाव र कर्म हो । हरेक मनुष्यको, हरेक वस्तुको एकमात्र जन्मजात धर्म र गुण हुन्छ जो उसको उत्पत्तिदेखि मृत्युपर्यन्त कायम रहन्छ । धर्म परिवर्तन गर्नेमा त्यो पाइँदैन । ऊ अवसरवादी र उपभोक्तावादी एकमात्र पात्र बन्न सक्दछ ।

धर्म भनेको रीतिरिवाज, प्रथा र व्यवस्था हो । धर्मको अर्थ स्वभाव हो । स्वभाव मनुष्यकृत होइन, इश्वरप्रदत्त हुन्छ । यस पृथ्वीमा जन्म लिएकै दिन मनुष्यले आफ्नो धर्म  लिएको हुन्छ ।

अर्को के पढ्ने...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -