वीरगंज/झण्डै तीन महिनादेखि रोकिएको तस्करी लाइन पर्सामा पुन: संचालनमा आएको छ ।
पर्सामा तीन महिना अघि प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक एवं सशस्त्र प्रहरी बल नेपाल नं. १३ गणमा गणपतिको रुपमा आएका सशस्त्र प्रहरी उपरीक्षक आएदेखि रोकिएको तस्करी तीन महिनापछि पुन: संचालनमा आएको छ ।
पर्साको मूख्य नाकाको रुपमा रहेको वीरगंज भन्सार स्थित बोर्डर आउट पोष्टमा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक आएको केही समय बित्न नपाउँदै इनर्वा गाउँ एवं वीरगंज भन्सार पछाडी रहेको बाँसघारी क्षेत्रबाट दैनिक करोडौं मूल्य बराबरको कपडा भित्र्याउन बैला शत्रुधन यादवले लाइन पाएका छन् । सोही क्षेत्रबाट शत्रुधनसँगै जयलाल, शेखावत, मुन्ना शेख, अम्बेया, मीरा र मीना समेतलाई लाइन दिइएको समाचार स्रोतले जनाएको छ ।
प्राप्त खबर अनुसार शत्रुध्न यादव, मीरा र मीनाले इनरवा गाउँ र बाँसघारीबाट दैनिक करोडौं मूल्य बराबरको शुटिङ, सर्टिङ, महंगा साडीगायतका कपडा ल्याउन सशस्त्र प्रहरीसँग लाइन लिएका छन् ।
भन्सार राजश्व चुहावट नियन्त्रण, तस्करी एवं अवैध ओसार पसार तथा चोरी निकासी नियन्त्रणका साथै सीमा सुरक्षाको मूख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलकै संरक्षणमा तस्करी शुरु भएपछि भन्सार राजश्व असुलीको लक्ष्य पूरा हुन नसक्ने संकेत देखा परेको छ ।
इनर्वा गाउँबाट शत्रुध्न यादव लगायतका व्यक्तिहरूले लाइन लिएपछि वीरगंजकै अर्को क्षेत्रबाट कुख्यात तस्कर मदन गुप्ता ‘रुन्चे’लगायतको समूहले एकल लाइन लिन सशस्त्र, नेपाल प्रहरी लगायतका निकायसँग लाइन मिलाउन जुटेका छन् । यस सम्बन्धमा साथै पर्साको भिखमपुर, जानकी टोला, भिस्वा, बन्जारीलगायतबाट पनि तस्करी सुचारु भएको सम्बन्धमा चन्द्रसूर्य वाणी ले समाचार संकलन कार्य जारी छ ।