२०८३ जेष्ठ १ गते, शुक्रबार ०७:१६

प्रहरीको संरक्षणमा घरेलु मदिरा उत्पादन र बेचबिखन

वीरगंज/सरकारले अव्यवस्थित रुपमा उत्पादन हुने घरेलु मदिरा मानव स्वास्थ्यको लागि हानिकारक हुने भन्दै सोको उत्पादन एवं बेचबिखनमा प्रतिबन्ध लगाएपनि पर्साको ग्रामीण भेगबाट प्रहरीकै संरक्षणमा घरेलु मदिरा उत्पादन र बेचबिखन भइरहेको सुन्दा विश्वास नलाग्न सक्छ । तर पर्साको पोखरिया, लंगडी, धोबिनी, भिखमपुर, आसवारी लगायतका विभिन्न ठाउँमा रहेका विभिन्न होटेलमा घरेलु मदिरा बेचबिखन भइरहेको छ ।

यी क्षेत्रमा इलाका प्रहरी कार्यालयदेखि अनेकौं प्रहरी चौकी रहेका छन् । त्यहाँ कार्यरत प्रहरी अधिकृतहरूलाई प्रभावमा पारेर खुल्ला रुपमा घरेलु मदिराको उत्पादन एवं बेचबिखन भइरहेको स्थानीयले आरोप लगाएका छन् ।

धोबिनी गाउँपालिका वडा नं. १ घोडदौड पिप्ररामा जितेन्द्र साह तुरहा र हरि साह तुरहाले दैनिक ठूलो परिमाणमा घरेलु मदिराको उत्पादन र बेचबिखन गर्न छुट पाएवापत स्थानीय प्रहरी चौकी असवारीका प्रहरी सहायक निरीक्षक राजेश्वर मण्डललाई प्रभावमा पार्न सफल भएका छन् । यद्यपि प्रहरी सहायक निरीक्षक मण्डलले भने आफू चौकी प्रमुखको जिम्मेवारी पाएको दुई तीन महिना भइसकेको भए पनि आफ्नो कार्यक्षेत्रमा घरेलु मदिरा उत्पादन भइरहेको बारे भोली पत्ता लगाउने बताए । पत्रकारको प्रश्नपछि घरेलु मदिरा उत्पादन र बेचबिखन सम्बन्धमा पत्ता लगाउने प्रहरी सहायक निरक्षकको मण्डलको भनाईले नै सो क्षेत्रमा मदिरा उत्पादन र बेचबिखनबारे प्रसनि मण्डल जानकार रहेपनि पञ्छिन् खोजेको प्रष्ट हुन्छ ।
त्यस्तै पर्सागढी नगरपालिका-३ झबराहा, जीराभवानी गापा-५ शङ्करसरैया, हरैया, सखुवाप्रसौनी गापाको महुवन, पटेर्वासुगौली गापाको रङ्गपुर, पटेर्वाटोलालगायतका स्थानमा अत्यधिक मात्रामा घरेलु मदिरा उत्पादन भइरहेको बताइन्छ ।

वीरगंज महानगर-३१ बसडिलवा, ३२ बेलवा, पटेर्वासुगौली गापा-२ बैधनाथपुर, थरघट्टी, चापी, बङ्कुल, बेलवा, वडा नं. ५ को पटेर्वा, भतौडा, निचुटा, मोरटोल, जीराभवानी गापा-५ हरैया, वडा नं १ को महादेवपट्टी, वडा नं ३ को पाँडेपुर, धोबिनी गापाको आसवारी, बहुदरमाई नगरपालिकाको डोकैला बहुअरी, गम्हरिया, पोखरिया नगरपालिका र ठोरी गापामा पनि ठूलो परिमाणमा अवैध घरेलु मदिरा उत्पादन हुने गरेको छ।

सरकार र राज्य जनताको स्वास्थ्यप्रति गम्भीर रहेको समयमा राज्यकै निकायको नाकै मुनि घरेलु मदिरा उत्पादन भई निर्वाध रुपमा बेचबिखन भइरहनुले अनेक प्रश्नचिन्ह खडा भएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM