वीरगंज/ट्राफिक प्रहरी व्यवसायिक धर्म भन्दा पर गएर अनैतिक लाभ गर्नेतर्फ केन्द्रित भएपछि पर्साको ट्राफिक व्यवस्थापन दिनानुदिन फितलो हुँदै गएको छ भने दिनहुँजसो दुर्घटना भई अकालमा मृत्यु हुनेको संख्या बढ्न थालेको छ ।
पर्साको ट्राफिक प्रहरी प्रमुखमा प्रहरी निरीक्षक मणिराम थापा आएदेखि जिल्लाको ट्राफिक व्यवस्थापन अत्यन्त फितलो भएको तथ्यांकहरूले प्रमाणित गरेको छ । सोही क्रममा मंगलवार भएको छुट्टाछुट्टै दुई सवारी दुर्घटनामा दुई जनाले ज्यान गुमाएका छन् ।
मंगलबार साँझ अन्दाजी पौने आठ बजेको समयमा वीरगंज–१७ अलौ स्थित सडक खण्डमा पोखरियाबाट वीरगंजतर्फ जाँदै गरेको ना.५ च ४७५ नम्बरको पिकअप गाडीले विपरित दिशा तर्फबाट जाँदै गरेको प्र.२–०३–०२२ प ९८०० नम्बरको मो.सा.लाई ठक्कर दिंदा उक्त मो.सा. चालक जिल्ला पर्सा जिराभवानी गा.पा. वडा नं. ३ बस्ने बर्ष ३७ को मनोज हजरा गम्भीर घाईते भएको हुँदा उपचारार्थ नारायणी अस्पताल वीरगंजमा ल्याएकोमा बुधवार विहान पौने आठ बजेको समयमा निज मनोज हजराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पर्साका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीका अनुसार मृतकको लासको लासजाँच प्रकृति मुचुल्का लगायतको कार्य सम्पन्न गरी उल्लेखित पिकअप र पिकअप चालक जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. ८ बस्ने वर्ष ३६ का गणेश कुमार अधिकारीलाई नियन्त्रणमा लिई पर्सा जिल्ला अदालतबाट दिन–७ ( सात ) म्याद थप अनुमति प्रदान गरी थप अनुसन्धान कार्य भैरहेको छ ।
त्यसैगरी मंगलबार राती ११:३० बजेको समयमा पर्साको जिराभवानी गा.पा.–१ स्थित सडक खण्डमा सुवर्णपुरबाट वीरगंज तर्फ जाँदै गरेको BR 01 PA 2876 नम्बरको भारतीय नम्बर प्लेटको सेतो बोलेरो जीप आफैं अनियन्त्रित भई दुर्घटना हुँदा उक्त गाडीको चालक जिल्ला पर्सा ठोरी गा.पा. वडा नं. ५ बस्ने वर्ष २९ को नकुल पौडेलको टाउकोमा गम्भिर चोट लागेको हुँदा उपचारार्थ एल.एस.न्यूरो अस्पताल वीरगंजमा ल्याएकोमा बुधवार मध्यान्ह १२:३० बजेको समयमा निज नकुल पौडेलको मृत्यु भएकोमा छ । मृतक पौडेलको लासको लासजाँच प्रकृति मुचुल्का लगायतको कार्य सम्पन्न गरी पो.मा.को लागि नारायणी अस्पताल वीरगंजमा राखि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
दुई महिनाको अवधिमा पर्साको मुख्य तथा सहायक सडकमा भएको लगभग तीनसमय वटा सवारी दुर्घटनामा परी ३५ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरुमा २९ जना पुरुष, तीन जना महिला र तीन जना बालक रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साबाट खटिएका ट्राफिक प्रहरीहरू अत्यधिक सवारी चाप हुने क्षेत्रमा ट्राफिक व्यवस्थापन भन्दा पनि अनेक बहानामा सवारी साधनहरूबाट असुली गर्न केन्द्रित भएपछि ट्राफिक व्यवस्थापन फितलो हुन गई सवारी दुर्घटना भयावह रुपमा बढ्दै गएको बताईन्छ ।
















