Tuesday, November 26, 2024
घरपत्रपत्रिकागुप्तालाई नक्कली बाबु बनाएर अग्रवालले लिए नेपाली नागरिकता

गुप्तालाई नक्कली बाबु बनाएर अग्रवालले लिए नेपाली नागरिकता

काठमाडौं । भारतीय नागरिक कृष्णप्रसाद गुप्ता उर्फ कृष्ण अग्रवालले नक्कली बाबु बनाएर रौतहट जिल्ला प्रशासन कार्यालयबाट लिएको नागरिकताका बारेमा वर्षौदेखि परेका उजुरीमा प्रमुख जिल्ला अधिकारीले छानबिन गर्न आवश्यकै ठानेनन् ।

रौतहट र मकवानपुरमा उनको नागरिकता खारेजीको माग गर्दै परेका उजुरीमा कारबाही गर्नका लागि हरेक प्रमुख जिल्ला अधिकारी आएपछि अनुरोध गर्दा उल्टै घुस असुली उन्मुक्ति दिने गरिएको गुनासो छ ।

गुप्तासँग प्रत्येक प्रमुख जिल्ला अधिकारीले घुस लिने र नागरिकता खारेजी गर्ने प्रक्रिया अगाडि नबढाएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)मा उजुरी परेको छ । सीआइबीले उनको नागरिकताको छानबिन सुरु गरिसकेपछि गुप्ताले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवामार्फत् एआइजी उत्तमराज सुवेदीमार्फत् कारबाही रोकाउन दबाब दिइरहेका छन् ।

नक्कली बाबु बनाएर नागरिकता लिएका भारतीय नागरिक कृष्णप्रसाद गुप्ताका छोरा अमित अग्रवालको नागरिकतामा अमित अग्रवालको नाममा मकवानपुर जिल्ला प्रशासन कार्यालयले जारी गरेको छ । नक्कली बाबु बनाएर झुटा बिवरण पेश गरी रौतहट महमदपुर वडा नम्बर ३ स्थायी ठेगाना राखी जिल्ला प्रशासन कार्यालय रौतहटबाट मिति २०४६–१२–३१ गते नागरिकता लिएका गुप्ताले तत्कालै हेटौंडा बसाई सराई ल्याएका थिए । तिनै झुटा विवरण पेश गरेर नागरिकता लिएका गुप्ता २०७८ कात्तिक ९ गते सम्पन्न मकवानपुर उद्योग बाणिज्य महासंघको अध्यक्ष निर्वाचित भएका छन् । भारतीय नागरिक गुप्ताको नागरिकता छानबिनको माग गर्दै पछिल्लो पटक २०७८ कात्तिक २८ मा मकवानपुर जिल्ला प्रशासन कायालयमा उजुरी परेको थियो । तर त्यो उजुरी पनि आर्थिक चलखेल गरी ढिसमिस पारियो । मकवानपुर जिल्ला प्रशासनले झारा टार्नका लागि रौतहट जिल्ला प्रशासनमा पत्र पठाउने काम भने गरेको थियो ।

भारतीय नागरिक अग्रवालले कसरी लिए गुप्ताको नाममा नागरिकता ?

भारतबाट आएका गुप्ता सुरुमा हेटौंडास्थित बद्री अग्रवालको पसलमा काम गर्थे । त्यहीँ काम गर्दागर्दै बद्री अग्रवालको निधन भएपछि उनका परिवारका सदस्यलाई लटरपटर पारी उनले उक्त पसल आफ्नो कब्जामा लिए । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ कृष्ण अग्रवालका रुपमा उनले जमदार स्टोर संचालन गरे ।

पैसा कमाउँदै गएपछि उनलाई नेपाली नागरिकता लिने प्रक्रिया बुझे, मकवानपुरबाट नागरिकता लिन नसकिने भएपछि उनले रौतहट महम्मदपुरका रामकिशन गुप्तालाई बाबु बनाई नागरिकता लिएको खुलेको छ । उनले जिल्ला प्रशासन कार्यालय रौतहटबाट महमदपुर वडा नम्बर ३ स्थायी ठेगाना राखी २०४६ चैत ३१ गते झुटा विवरण पेश गरी बंशजको आधारमा नेपाली नागरिकता प्रमाणपत्र लिएको खुलेको छ ।

हाल हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ बसोबास गरी जमदार स्टोर सञ्चालन गर्दै आएका गुप्ताको नागरिकता प्रमाणपत्र नम्बर १८३३ हो । उनले त्यही नागरिकताका आधारमा राहदानी समेत बनाई प्रयोग गरिरहेका छन् । उनी नेपाली नागरिक नरहेको हुँदा निजले झुटा विवरण पेश गरी प्राप्त गरेको नागरिकता प्रमाण पत्र र राहदानी रद्द गर्नका लागि रौतहट र मकवानपुर जिल्लामा उजुरी दर्ता हुँदा पनि खारेजीको प्रक्रिया सुरु भएको छैन । गुप्ताले रौतहटबाट नक्कली बाबु बनाई झुटा विवरण पेश गरी बनाएको नागरिकता प्रमाणपत्रको आधारमा बसाई सराईको कागज बनाई पत्नी कृष्णकुमारी गुप्ता, छोरा अमित अग्रवाल र छोरी अनु अग्रवालको नागरिकता समेत जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट बनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट वंशजका आधारमा नागरिकता बनाउँदा कृष्णकुमार गुप्ताले जिल्ला प्रशासन कार्यालय मकवानपुरको ढड्डामा पत्नी र छोराको सनाखत गर्दा कृष्णकुमार अग्रवाल भनी सनाखत गरेका छन् । छोरीको नागरिकतामा कृष्णकुमार गुप्ता भनी सनाखत गरेका छन् । सनाखत गर्ने कृष्ण कुमार अग्रवाल र कृष्ण कुमार गुप्ता थर फरक परे पनि नागरिकता नम्बर भने १८३३ नै उल्लेख भएको छ ।

ढाँटेको कुरा काटे मिल्दैन भनेझैं उनले गुप्ता थरी राखी बनाएको नागरिकता झुटा विवरण पेश गरेको हो भन्ने श्रीमती र छोराको नागरिकतामा अग्रवाल र छोरीकोमा गुप्ता लेखेर सनाखत गरेबाटै पुष्टि हुन्छ ।

यी सबै प्रमाणसहितका विवरण उल्लेख गरी नागरिकता रद्द गराउन पटक पटक रौतहट र मकवानपुर जिल्ला प्रशासन कार्यालयमा उजुरी दिंदा पनि प्रमुख जिल्ला अधिकारीलाई नै पैसाको बलमा किनेर कृष्णकुमार गुप्ताले उन्मुक्ति पाउँदैआएका छन् । उनले पैसाकै बलमा साविक हेटौंडा नगरपालिकाबाट अग्रवालले गुप्ता पनि लेख्ने गरेको सिफारिस समेत बनाएका छन् । उनलाई झुटा विवरणका आधारमा नागरिकता दिने अधिकारीदेखि अग्रवाल र गुप्ता एउटै थर हो भनी सिफारिस गर्ने अधिकारीमाथि पनि कारबाहीको माग उजुरीमा गरिएको छ । भारतीय नागरिक गुप्तालाई नागरिकता दिएको रौतहट जिल्ला प्रशासनको अभिलेख नै गायब बनाइएको छ । सिफारिस गर्ने रौतहटको साविक महम्मदपुर गाविसमा समेत अभिलेख नै हटाउन कृष्णकुमार गुप्ता सफल भएका छन् । गुप्ताको नाममा जारी नागरिकतामा बद्रीनारायण झा, टोली प्रमुख उल्लेख छ ।

गुप्तालाई मकवानपुरमा अग्रवालकै रुपमा चिन्थे । विस्तारै उनले उद्योग बाणिज्य संघ मकवानपुरको सदस्यता लिए । सदस्यता लिएपछि जिल्ला कार्यसमितिमा उपाध्यक्ष हुँदै अध्यक्ष भएका छन् । अध्यक्ष भएपछि मात्र उनले कसरी गुप्ता थर राखी नागरिकता लिए भन्ने खोजीनीति सुरु भई निर्वाचन मण्डलसामु कीर्ते नागरिकता छानबिन गर्न उजुरी पनि परेको थियो । तर गुप्ताले निर्वाचन मण्डलका संयोजक इश्वर ढकाललाई नै प्रभावमा पारी उम्मेदवारी सदर गराएका थिए । नागरिकता नै छानबिन हुनुपर्ने गुप्तालाई अध्यक्ष बनाउने निर्णय बदरका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा परेको उजुरीसमेत घुसकै बलमा ढिसमिस पारियो । र, भारतीय नागरिक मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष छन् । नेपाल प्रहरीको सीआईबीले कृष्णकुमार गुप्तालाई कीर्ते नागरिकतामा अग्रवाललाई पक्राउ गरी रौतहटको महम्मदपुरमा गएर रामकिशन गुप्ताको खोजी गर्ने अपेक्षा गरिएको छ । स्रोत: नेपालफेस

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -