क्राइमचेक प्रतिनिधि/
वीरगंज/ पर्सा प्रहरीले नेपालमा प्रतिबन्धित ३१ लाख ८० हजार भारतीय नोट बरामद गरेको छ भने दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं– १६ स्थित शंकराचार्य गेटमा चेकजाँचका क्रममा रक्सौलबाट वीरगंजतर्फ आईरहेको ना २७ प ३८११ नम्बरको मोटरसाइकलमा चेक जाँच गर्दा सो परिमाणको नोट सहित दुई जनालाई पक्राउ गरेको हो ।
भारत बिहार जिल्ला पूर्वी चम्पारण ग्राम पंचायत बेल्वा निवासी राजेन्द्र प्रसादको छोरा ३० वर्षको चितरंजन प्रसाद र भारत विहार जिल्ला पूर्वी चम्पारणका मोतिहारी थाना पालानवा ग्राम पंचायत बेल्वा वार्ड नं.–१४ निवासी रोहित केशरीलाई उक्त परिमाणको नोटसहित मंगलवार पक्राउ गरी बुधवार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।
पक्राउ परेका केशरीले आफ्नो शरीरका विभिन्न भागहरूमा फिटिंङ गरी लुकाई छिपाई राखेको २७ लाख ८० हजार र सोही मोटरसाइकल पछाडी सवार रहेको चितरंजन प्रसादको शरीरबाट ४ लाख बरामद गरेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी गराउनुभयो ।
बरामद गरिएको भारतीय रुपैयाँ र पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक कार्यवाहीको लागी राजश्व अनुसन्धान विभाग हरिहर भवन पुलचोक ललितपुर पठाउने तयारी भईरहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।